शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लाहुरे

शनिबार, ०४ माघ २०७६, १२ : १२
शनिबार, ०४ माघ २०७६

–बलबहादुर थापा मगर

चट्ट मिलेको कपडा । छोटो कपाल । सफाचट अनुहार । देख्दै लोभलाग्दो । मलाई पनि यसैले लोभ्यायो । लाहुरे हुन कम्मर कसेर लागियो । बिहान तीन बजे उठेर दौडिन थालियो । डाइट पेल्न थालियो । भाग्यले साथ दियो । लाहुरे पनि भइयो । भर्ती हुँदा गाउँभरी खुसी बाँडियो ।

घर छोडेर टाढा गएको काठमाडौँ हो । देश छोडेर जाँदै थिएँ । सुनौली बोर्डर पुग्दा, जति भर्ती हुँदा खुसी भएको थिएँ त्योभन्दा बढ्दा दुःखी भएको थिएँ ।

ट्रेनिङ सकिएको महिना दिन नपुग्दै हाम्रो पल्टन काश्मीर रवाना भयो । घरको न्यास्रो साह्रै लाग्थ्यो । कतिपटक त जागिर छोडेर घर फर्कौ भन्ने नलागेको होइन तर नामर्द भन्छन् भन्ने डरले छोड्न सकिएन ।

२९ तारिखको दिन हाम्रो पोस्टमाथि हमला भयो । हामीले धेरै समय बम र गोलाबारीको सामाना ग¥यौँ । कतिका हात छिया छिया भए । कतिका ज्यान दुई टुक्रा भए । धेरै रक्ताम्मे भए । बिहान लडाइँ रोकिँदासम्म तीन जनाले ज्यान गुमाइसकेका थिए । तीमध्ये एक नेपाली थिए । ऊ मेरो नम्बरी पनि थियो ।

मृत्यु हुनेका परिवारलाई खबर गरियो । पल्टन आउनका लागि आग्रह पत्र पठाइयो । सबै तोकिएको मितिमा पल्टन आए । नम्बरीकी श्रीमती बेहोसीमै थिइन् । घरी–घरी झस्किरहन्थिन् । आमाको अझै होस आएको छैन भन्थे । बुबाका आँखा ओभाएका थिएनन् । परिवारले नेपालमै लगेर अन्त्येष्टि गर्न चाहेका थिए । तर भारतीय राष्ट्रियता र फौजी नियमको कुरा गर्दै लान दिइएन ।

श्रद्धाञ्जलीको दिन । उसको लास भएको कफिन माथि भारतीय झण्डा ओढाइएको थियो । सबैले फूलमाला र अबिरसहित श्रद्धाञ्जली व्यक्त गरे ।  सधैँ आदेश दिने र हेप्ने अफिसरहरुद्वारा पनि सलाम थोक्दै फूलमाला र अबिर चढाइयो । उसको गुणगानका साथ श्रद्धाञ्जली भयो ।  अन्त्यमा भारतीय सम्मानका साथ अन्त्येष्टि भयो ।

अर्काको देश । अर्काको भूमि । अर्काको शासन । आफ्नै देशमा लगेर अन्त्येष्टि गर्छुभन्दा पनि नपाउनु, कस्तो कठोरता ? ऊ चितामा जल्दै थियो । यता मेरो मन जल्दै थियो । उसको परिवारलाई हेर्थें । पोख्न नसकेका पीडाहरु प्रष्टै देख्थे । त्यस दिन म आफैलाई लाहुरे होइन, गुलामका लागि बेचिएको पाएँ ।

(बागलुङ नगरपालिका–१०, भकुण्डे, अर्भक)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप