बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बौद्धको ल्होसारमा पर्यटन प्रवर्द्धनमा जोड दिइने

शनिबार, ०४ माघ २०७६, १५ : ५५
शनिबार, ०४ माघ २०७६

    बौद्ध क्षेत्रमा तामाङ जातिले मनाउने २८५६औँ सोनाम ल्होसारका लागि मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गठित ६० सदस्यीय समितिमा बौद्ध क्षेत्रमा क्रियाशील सबै संस्थाका प्रतिनिधि सदस्य छन् । 

    यही माघ ११ गते सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षमा प्रवेश गर्ने समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा सोनाम ल्होसारलाई यसपटक नेपाल भ्रमण वर्षसँग जोडेरसमेत प्रचारप्रसार गर्न शुरु भइसकेको पनि उनले बताए । नेपाल आउने धेरै पर्यटकको रोजाइमा बौद्ध क्षेत्र पनि पर्छ । तामाङ जातिको मौलिक वेशभूषा, सांस्कृतिक गतिविधि, खाना लगायतका प्रदर्शनसमेत गरिने ल्होसारमा धेरै पर्यटक आकर्षित गराउने काम शुरु भएको छ ।

    माघ ११ गते बौद्ध क्षेत्रमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिनेछ । दिउँसो महेन्द्र बौद्ध मावि परिसरमा मूल समारोह समितिका तर्फबाट पर्यटन वर्षसमेत सफल बनाउन आह्वान गर्दै कार्यक्रम गरिने जनाइएको छ । ल्होसार र नेपाल भ्रमण वर्षका लागि बौद्ध क्षेत्रमा सरसफाइ, सडक मानवमुक्त घोषणालगायत काम भएको छ । चावहिलबाट बौद्ध निस्कने मूल सडक कालोपत्र भए पनि भित्रका सडक भने अझै जीर्ण हुँदा पर्यटकमार्फत नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता बढेको पर्यटन व्यवसायी लक्ष्मी तामाङले बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप