शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शक्तिशाली माओवादी पार्टीको निर्माण

बिहीबार, ०८ भदौ २०७४, १५ : ३९
बिहीबार, ०८ भदौ २०७४

केदारनाथ नेपाल (निश्चल)

जनयुद्ध थालनी गर्नु केही समयअघिबाट पार्टीको नाम नेकपा माओवादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको सुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण व्यवाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्ती वर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरबारको धारमाथिको यात्रा माओवादी नेताहरूले गरेका थिए ।

सीमित व्यक्तिहरूबाट सुरु गरिएको जनयुद्धले आठ वर्षको अवधिमा अन्ततः जनताको मन जित्दै विशाल रूप लियो । माओवादी जनयुद्वले नेपालमा ठूलो परिवर्तन ल्याइदियो । हुन त जनयुद्धमा सबै सकारात्मक काम मात्र भएनन् । कतिको सिउँदो पुछियो, कतिको काख रित्तियो त कति बेसहारा बने, कति विस्थापितसमेत बने । त्यो युद्धको एक पाटो थियो । तर जति नकारात्मक कार्यहरू भए, त्यसभन्दा बढी सकारात्मक काम पनि भए । एक किसिमले भन्ने हो भने जनयुद्वले राजनीतिक रूपमा जनताको चेतनास्तरलाई धेरै माथि उठाइदियो । त्यसैको फलस्वरूप राज्यको भेदभावपूर्ण व्यवाहार विरुद्व जनताले आवाज उठाउन सक्ने भए । त्यसै कारण तिनै जनताहरू जाग्दा नेपालबाट विधिवत् २४० वर्षअघिदेखिको सामन्ती राजतन्त्रको शासनको अन्त्य हुन पुगेको हो ।
ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस इतिहासलाई हामिले भुल्नु हुँदैन । त्यसपश्चात् राजतन्त्र हटाउन माओवादीले कठोर सङ्घर्ष गरेको इतिहास पनि हाम्रासामु ताजै छ ।

प्रत्येक दशकमा नेपालमा सानाठूला राजनीतिक घटना र परिवर्तन भएका छन् । तर दुई ठूला मानिने २००७ र ६२÷६३ सालको परिवर्तनमा दुई ठूला दल काङ्ग्रेस र माओवादीकै भूमिका मुख्य रहेको देखिन्छ । 

कुनै पनि राजनीतिक दल विभाजित हुनु पक्कै पनि देशको लागि शुभ सङ्केत होइन । पुराना राजनीतिक दल फुटको शिकार हुनबाट जोगिन सकेका छैनन् । काङ्ग्रेस विभाजित भयो । एमाले पनि विभाजित भएकै हो । अन्य साना दल पनि टुक्रा टुक्रामा विभाजित छन् । काङ्ग्रेस (एमालेहरू विभाजित भएको केही समयपश्चात् पुनः एक भए । तर, माओवादी जतिको टुक्रा टुक्रा भएर उनीहरू विभाजित भएनन् । साँच्चै भन्ने हो भने अहिले माओवादी र किटको कराई पर्यायवाची बन्न पुगेको छ ।

वैशाख ३१ र आसार १४ गते दुई चरणको निर्वाचन सम्पन्न हँुदा माओवादी एकदमै कमजोर स्थितिमा देखा पर्यो । कतिपय स्थानमा झिनो मतले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । नेताहरू व्यक्तिगत स्वार्थमा चुर्लुम्म भएका कारण पनि कतिपय स्थानमा माओवादी पराजित भएको देखियो । कतिपय स्थानमा अन्तरघात पनि भएको भन्ने सुनियो । अवसरवादी र अन्तरघातिलाई बेलैमा पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नेतृत्वले ढिला गर्नु पर्छ ।
भर्खरै माओवादी केन्द्रको भातृसङ्गठन वाईसीयल नेपालको अधिवेशन सम्पन्न भयो । पहिलोपटक वाईसीयलले एक होनाहार, बौद्धिक, शालीन, कुशल र सक्षम व्यक्तिको नेतृत्व पाएको छ । त्यस्तै, विद्यार्थी भातृसङ्गठन क्रान्तिकारीको सम्मेलन सुरु हुँदैछ । आशा गराँै वाईसीयलले जस्तै क्रान्तिकारीले पनि सक्षम नेतृत्व पाओस् । 

शान्ति प्रकृयामा आएपश्चात् माओवादीले वाईसीयल गठन गर्दा अन्य दलहरू अताल्लिएका थिए । वाईसीयलले मजदुरहरूको पक्षमा काम गरेको थियो । वाईसीयलकै कारण कैयौँ मजदुरले आफूलाई राहत महसुस गरेका थिए । त्यसैकारण पनि अन्य दलले अनावश्यक रूपमा वाईसीयल विगठनको माग गर्दै त्यसलाई राष्ट्रिय बहसको विषयसमेत बनाए । अन्य दलको दबाब नेतृत्वमाथि पर्यो । त्यसपश्चात् माओवादीले वाईसीयललाई निष्कृय बनायो । यिनै कारण पनि माओवादी केही कमजोर बन्न पुगेको हो । 

माओवादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस्, आफूले गरेका सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठूलो कमजोरी हो । अब आफ्ना भातृसङ्गठनलाई सक्रिय बनाएर सकारात्मक कामको प्रचार र नकारात्मक कार्यको खबरदारी गराउनबाट नेतृत्व चुक्नु हुँदैन ।
माओवादीभित्र एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने एउटा ठूलो समस्या छ । हुन त माओवादीभित्र एउटा धारले मिडियामा बोल्दा स्वतन्त्र व्यक्तिले बोलेजस्तो बोलिदिन्छन् । पार्टी हितलाई भन्दा पनि कसरी विपक्षीलाई खुशी राख्ने भन्नेमै उनीहरू तल्लीन देखिन्छन् । तिनीहरूसँग नेतृत्व सधैँ चनाखो रहनुपर्छ । जसको कारण कुनै पनि बेला पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ ।

शान्ति प्रकृयामा आएपश्चात् विभिन्न टुक्रामा विभाजित भइसकेका माओवादी नेता बिस्तारै एक हुँदैछन् भन्ने उदाहरण हो– नयाँशक्तिबाट भर्खरै फर्किएका देवेन्द्र पौडेललगायायतका नेताहरू । हिजो एक हँुदा माओवादीले जितेकै थियो । अब पनि एक भए वा आफ्ना भातृसङ्गठनलाई सही परिचालन गरे अवश्य जित्नेछ । एजेन्डामा त माओवादीले जितिसकेको छ । हिजो सङ्घीयतालाई बाख्राको टाउकोमा भैँसीको सिङ र गणतन्त्रलाई बयल गाडा भन्नेहरूले दुवैलाई स्वीकार गर्नुले नै माओवादी एजेन्डाको जित भएको प्रष्ट हुन्छ ।

बेला बेलामा माओवादी पार्टीहरूबीच पार्टी एकताको विषयले पनि चर्चा पाउँदै आएको छ । तर पर्याप्त गृहकार्य बिना चलाइएको हल्लाको कारण पार्टी एकीकरण सफल हुन सकेको देखिँदैन । पहिले साङ्गठनिक संरचनामा कुरा मिल्नुपर्यो, त्योभन्दा महत्वपूर्ण विषय भनेको सैद्धान्तिक रूपमा सबै माओवादी स्पस्ट हुनुपर्यो अनि मात्र एकीकरण सम्भव देखिन्छ । सैद्धान्तिक स्पस्टता र साङ्गठनिक संरचनाको सुदृढीकरण गरेर मात्र एकताको बहस चलाए त्यो पक्कै सफल हुनेछ । 
इतिहास सच्याउन त सकिँदैन तर समीक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ । त्यसैले अब माओवादी नेतृत्वले हिजोका आफ्ना कमीकमजोरी सच्याई सबै माओवादी पार्टीबीच एकता गरेर वा आफ्ना भातृसङ्गठनलाई सशक्त रूपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप