शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लिवियामा वैदेशिक हस्तक्षेप रोकिनुपर्छ: राष्ट्रसंघ प्रतिनिधि

शनिबार, ०४ माघ २०७६, २२ : ३३
शनिबार, ०४ माघ २०७६

एजेन्सी । लिवियाली द्वन्द्वमा अन्तर्राष्ट्रिय शक्तिहरूले आफ्नो हस्तक्षेपलाई रोक्नुपर्ने लिवियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले बताएका छन् ।

लिवियामा विदेशी हस्तक्षेपका कारण क्षणभर केही शान्ति भएजस्तो देखिने भएपनि यहाँको दीर्घकालिन राजनीतिक समाधानका लागि कुनै अर्थ नरहने गरेको शनिबार राष्ट्रसंघीय विशेष दूत घसाम सलामीले बताए । 

विश्वका शक्तिराष्ट्रहरू लिवियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा भेला भएका समय त्यहाँ कार्यरत राष्ट्रसंघीय विशेष दूत सलामीले लिवियाको समाधान लिवियाभित्रका प्रतिद्वन्द्वीबीच वार्ता गराएर मात्र सम्भव देखिएको बताएका हुन् । उत्तर अफ्रिकी मुलुक लिवियामा वैदेशिक हस्तक्षेपका कारण लिवियाली नागरिकबीच ठूलो विभाजन ल्याएको उनको ठहर थियो । 

सलामीले  भने, ‘लिवियाली जनताले सहयोगका लागि विदेशी गुहार्ने दुश्चक्रलाई अन्त्य गरी लिवियाली जनताबीचको एकता त्यहाँको स्थायी शान्तिको सहज बाटो हो । तर विदेशीहरूको स्वार्थसिद्धका लागि फरक फरक देशले छुट्टाछुट्टै समूहलाई च्याप्दा समस्या झनै बल्झिने गरेको देखिएको छ । त्यसैले उनीहरूको समस्यामा मध्यस्थता गर्दै लिवियाली समूहबीच वार्ता र सहमति निर्माणको वातावरण हुनुपर्छ ।’

लिवियाली प्रधानमन्त्री फायज अल–साराज र सैनिक नेता खालिफा हफ्तर बर्लिनमा आइतबार हुने सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ भने मध्यस्थताका लागि सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससंग परामर्श गरेर सम्मेलनको आयोजना गर्नुभएको हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा मध्यस्थताका लागि पुग्नेछन् । 

सम्मेलनमा भएको छलफलका आधारमा दस्तावेज बनाएर राखिने र त्यसै आधारमा दुई खेमामा विभाजित लिवियाली राजनीतिलाई एकताको सुत्रमा बाध्ने पहल गरिनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप