शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : पूर्वमाओवादीबाटै सभामुख, नेपाल एयरलाइन्सबाट बाहिरिए खरेल

आइतबार, ०५ माघ २०७६, १९ : ०५
आइतबार, ०५ माघ २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवार नेता अग्नि प्रसाद सापकोटालाई बनाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । 

यसअघि आइतबार बिहान नै नेता  सापकोटाको नाममा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच सहमति भएकोमा सचिवालय बैठकले औपचारिक निर्णय गरेको हो । 

तत्कालीन सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ भने सो पद कसले लिने भन्नेमा नेकपाभित्र विवाद बन्दै गएकोमा आइतबार ओली र प्रचण्डबीच पूर्वमाओवादी समूहका सापकोटाको नाममा सहमति जुटेको हो । तत्कालीन एमाले समूहले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । यसमा प्रम ओलीसमेतको नेम्वाङको नाममा अडान लिएका थिए । तर लामो छलफलपछि ओली पूर्वमाओवादीबाटै सभामुख बनाउन राजी भएका थिए । 

पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११,१६ र २७ गते सुचना टाँस गरेर स्थगित हुँदै आएको छ । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ ।  माघ ६ गते बस्ने बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ ।गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ ।

त्यसैगरी, दुई अध्यक्ष बीच सहमति भएपछि उपसभामुख शिवामाय तुम्वाहाङ्फेले राजीनामाको तयारी गरेकी छिन् । 

यसअघि नेकपाले सभामुखमा उम्मेदवारी दिने घोषणा गरेपनि उम्मेदवारबारे टुङ्गो लाग्न ढिलाइ हुँदा र उपसभामुख तुम्वाहाङफेले राजीनामा दिन ढिलाइ गर्दै आएकी थिइन् । 
मदन खरेलद्वारा पदबाट राजीनामा

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

खरेलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । 

मन्त्रालय निकट स्रोतले खरेलले राजीनामा आइतबार मन्त्री योगेश भट्टराई समक्ष राजीनामा दिएको रातोपाटीलाई बतायो । 

यसअघि उनको कार्यशैलीप्रति प्रश्न उठाउँदै निगम सञ्चालक समितिले नै स्पष्टीकरण माग गरेको थियो । यस्तै उनले एक महिने बिदा माग्दा अस्वीकृत भएको थियो भने त्यसपछि राजीनामा दिने निर्णयमा पुगेका थिए । 

झापाका खरेललाई सरकारले  २०७५ भदौमा नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।


राष्ट्रियसभा बैठक

कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले गोकर्ण रिसोर्टको जग्गा लिज वापत यति होल्डिङ्सले दिए भन्दा ५० करोड बढी आफूले तिर्ने भन्दै भाडामा आफूलाई दिन सरकारसमक्ष प्रस्ताव गरेका छन् । 

राष्ट्रियसभा विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले अहिले भाडामा लिएको कम्पनीले भन्दा आफूले ५० करोड रुपैया बढी दिने भन्दै आफूलाई भाडामा दिन सरकारलाई चुनौति दिएका हुन् ।  

उनले  समय नसकिदै नेपाल ट्रष्टको जग्गा गोकर्ण रिपोर्टलाई भाडामा दिने काममा ५० करोड बढी आर्थिक अनियमितता भएको दाबी पनि गरे । 

त्यसैगरी, संसद सचिवालयको व्यवस्थापनप्रति राष्ट्रियसभा सदस्य विमला राई पौडेलले असन्तुष्टि जनाइन् । 

उनले सामान्य व्यवस्थापनमा पनि सचिवालयले ध्यान दिन नसकेको गुनासो गरिन् ।  पटक पटकको ध्यानाकर्षण गराउँदा पनि सिंहदरबारस्थित दिगो विकास समिति र विधायन समितिको सचिवालयमा महिला र पुरुषका लागि ट्वाईलेटको व्यवस्थापन सम्म पनि हुन नसकेको गुनासो गरिन् ।

राष्ट्रियसभा सदस्य मुक्ता कुमारी यादवले  प्रशासन र राज्यसत्ताको आडमा मुलुकका विभिन्न स्थानमा हत्याका घटना भइरहेको आरोप लगाइन् । 

 धनुषाका दिलिप भनिने ओम प्रकाश महतो, यसअघि आफ्नै छोरा रुपेश भनिने लोकेश कुमार यादव, निर्मला पन्त लगायत मुलुकभरका हत्याका घटनामा प्रशासनको संलग्नता रहेको दाबी उनले गरिन् ।  
बैठकमा सरकारले राष्ट्रिय मानवअधिकार आयोगको बार्षिक प्रतिवेदन २०७५÷२०७६ पेस गरेको छ । 

आइतबारकै बैठकले गृहमन्त्री राम बहादुर थापाले राख्नुभएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्र्तगतको पालेर्मो अभिसन्धिलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गोकुल बास्कोटा

विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि आज छलफल भएको छ । छलफलमा संचारमन्त्री गोकुल बास्कोटाले प्रकाशित गलत समाचारका सम्बन्धमा अदालतले तोकेको क्षतिपूर्ति संचारगृहबाट भराउनुपर्ने बताए । 

बास्कोटाले विधेयकमा गलत मनसाय राखेर समाचार सम्प्रेषण गरेको ठहर भएमा पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना गराउने प्रावधानको सट्टा जरिवाना कति गराउने भन्ने अंक उल्लेख नगर्ने तर अदालतले तोकेको जरिवाना सञ्चारगृहबाट भराउनुपर्ने प्रस्ताव गरे । 

२५/५० हजार मासिक तलब पाउने पत्रकारले लाखौं क्षतिपूर्ति दिन नसक्ने भन्दै बास्कोटाले समाचार संस्था वा सञ्चारगृहले नै तिर्नुपर्ने प्रावधान राख्नुपर्ने बताए । 


कांग्रेसको विरोध 

नेपाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । 

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधिसमितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको हो । काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ । कांग्रेसका काठमाडौं जिल्ला सभापति सवुज बानियाँले लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा ज्ञापन बुझाइएको बताए । 

सभापति देउवा

काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । 

 प्रेस यूनियनले आज दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएकोले त्यसलाई नेपाल सरकारले फिर्ता जान दिन नहुने बताए । 

नेपालमा लगानी वृद्धि एवम् आर्थिक विकासमा तीव्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौँता विकासका लागि महत्वपूर्ण रहेको देउवाको दाबी छ । 

विकास समिति
सांसदहरुले कुनैपनि नागरिकले एक दिनमा न्यूनतम ४५ लिटर गुणस्तरिय खानेपानी निःशुल्क पाउनुपर्नेमा जोड दिएका छन् ।  

विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा सांसद खगराज अधिकारीले पानी खान पाउने मौलिक हक भएकाले पैसा तिर्न नसक्नेलाई निःशुल्क गुणस्तरिय पानीको व्यवस्था गर्नुपर्ने बताए । 

सांसद रंगमति शाहीले गाउँगाउँमा पनि शुल्क तिरेर पानी खाने अवस्था रहेको र गरिबले ऋण धन गरेरै भएपनि धारा बनाउनु परेको उल्लेख गर्दै निःशुल्क पानीको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । 

सांसद गणेशकुमार पहाडीले भने पैसा तिर्न नसक्ने नागरिकको घरघरमा धारा पु¥याउन राज्यको अवस्थाले नसक्ने भएकाले सार्ववनिक धाराको उपयोग गर्नुपर्ने बताए । 

बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निःशुल्क खानेपानीको व्यवस्था गर्ने हो भने देशभर ४२÷४३ हजार खानेपनी आयोजनाको लागि सञ्चालन खर्च समेत सरकारले ब्यहोर्ने स्थिति आउने र नयाँ परियोजनाहरु ल्याउन नसकिने अवस्था आउने बताए । 

कृषि विकास बैंक

कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ । 

बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको पुष मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो ।

 कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५÷०७६को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताए । 

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप