बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमपहिरोमा पर्यटक बेपत्ता : पर्यटन वर्षमा झुमेको सरकार बेखबर !

आइतबार, ०५ माघ २०७६, १९ : २७
आइतबार, ०५ माघ २०७६

पोखरा । अन्नपूर्ण आधार शिविर जाने बाटोमा शुक्रबार हिम पहिरो खस्यो । पहिरोले पदयात्रामा निस्केका ३ नेपाली सहित ४ जना कोरियाली नागरिक बेपत्ता बने । अहिलेसम्म उनीहरुको कुनै सम्पर्कमा आउन सकेका छैनन् । बेसक्याम्प जाने क्रममा हिंकु केभ र देउरालीको बीच भागमा हिम पहिरो खसेपछि उनीहरु बेपत्ता बनेका हुन् । 

पहिरोले थुनिएका सय बढी पदयात्री र पथप्रदर्शकलाई हेलिकप्टरले उद्धार गर्ने क्रम चलिरहेको छ । तर, हिउँमा हराएका सातै जना बेखबर छन् । आफ्ना नागरिक हिउँमा हराएपछि कोरियाली दूतावासले शुक्रबारदेखि नै उद्धार टोली बोकेर हेलिकप्टर परिचालन गरि रहेको छ । तर, नेपाल आएका विदेशी पाहुन हिउँमा हराइरहँदा पनि नेपाल सरकारले भने कुनै पहल थालेको छैन । 

२०२० मा २० लाख पर्यटक ल्याउने महत्वकांक्षी लक्ष्यसहित ‘भ्रमण वर्ष’ मनाउन मस्त सरकारले हिमपहिरोमा पाहुना हराउँदा पनि बेवास्ता गरेको भन्दै पर्यटन व्यवसायीहरुले गुनासो पोखेका छन् । 
हिम पहिरोमा परि हराइ रहेकाहरुलाई खोज्न कुनै प्रयास नगरेको उनीहरुको आरोप छ । 

आइतबार ट्रकिङ एजेन्सिज एसोसियसन (टान)पोखराले पत्रकारहरुलाई डाँकेर सरकारको ध्यानाकर्षण गराएको छ । ‘टुरिजम बोर्डलाई केही समयको लागि बेसक्याम्प जान रोक लगाउँ भनेर पनि ध्यानाकर्षण गराउँन पुगेका थियौं,’ टान पोखराका अध्यक्ष हरि भुजेलले भने, ‘यस्तो बिपतको बेलामा पनि बन्द गर्न नमिल्ने भन्दै, गैह्रजिम्मेवार कुरा आयो ।’ 

हिमपहिरोमा परी पर्यटकहरु हिउँमा हराइरहेको खबर पाएपछि टानले शुक्रबार नै हेलिकप्टर लिएर उद्धारमा हिडेको थियो । पर्यटन बोर्ड आफैं हेलिकप्टर लिएर जानुपर्नेमा पर्यटक उद्धार गर्न टानकै हेलिकप्टरमा लिफ्ट मागेको पर्यटन व्यवसायीहरु गुनासो गर्छन् । सरकार आफैंले खोज्नुपर्नेमा चासो नै नलिएकोमा उनीहरुको आपत्ति छ ।

टानले उद्धारको लागि हेलिकप्टरमा ७ जनाको टोली खटाएको छ । टानका पूर्वअध्यक्ष तथा रेस्क्यु टोलीका संयोजक दीपकराज अधिकारी पदयात्रा क्षेत्रमा केही बज्रपात परेपछि मात्रै सोच्ने परिपाटीले गर्दा उद्धार गर्न गाह्रो परेको हो ।

देउराली र हिंकु केभको बिचबाट खसेको ३ ठुला पहिरोले ७ जना बेपत्ता बनेको उनले जानकारी दिए । ७ मध्ये पोखराबाट गएका नेपाली सानो पहिरोमा परेका छन् । पहिरोका कारण थुनिएका सबै जसोलाई उद्धार गरि सकिएको उनले जानकारी दिए । यद्यपि, बेसक्याम्प जाने पदयात्री र पथप्रदर्शकको यकिन तथ्यांक भने नभएको उनले सुनाए । 

आउँदा दिनमा यस्ता किसिमका दुर्घटना कम गर्न साइरन सिस्टम, सूचना बोर्ड थप्ने, होटलमा पनि तथ्यांक राख्नुपर्ने उनले बताए । पदयात्रामा निस्किदा इन्डिभिजुअल गाइडसंग जाँदा समस्या पर्ने उनले बताए ।

‘अथेन्टिक पथप्रदर्शकसंग जानुस् भनेर भनि रहेका छौं,’ उनले भने, ‘इन्डिभिजुअल बनेर पर्यटक घुमाई रहेका पनि उदाहरण छन् । यसले गर्दा पनि गाह्रो भई रहेको छ ।’ 

अन्नपूर्ण अरु हिमालको तुलनामा च्यालेन्जिङ नै छ । दुई डाँडाको खोँचमा पर्ने भएको हुनाले पनि कति बेला के हुन्छ पत्तो पाउँन नसकिने उनले सुनाए । 

हिमपहिरोमा परेकालाई हावाको डस्टको कारण पनि उद्धार गर्न गाह्रो परेको उनले बताए । टानले मौसम पूर्वानुमान डिभाइसको लागि सरकारलाई झकझकाई रहेको बताएको छ ।

उच्चो भागमा पुगिसकेपछि सम्पर्क हुन नसक्ने हुनाले पनि रेस्क्युको खबर पु-याउँन गाह्रो पर्ने उनीहरु बताउँछन् । 
यति ठूलो बिपत्ती आउँदा पनि प्रदेशबाट सोधखोज नभएको अध्यक्ष भुजेलले बताए । हालसम्म बेसक्याम्पबाट १ सय ३० जनालाई उद्धार गरिएको छ ।  ‘उद्धारको लागि मन्त्रालय कुरेको भए १ सय ३० जना उतै रोकिने थिए,’ उनले भने ।  

उनका अनुसार पहिरो गएको ठाउँमा बाक्लो हिमपात परेको हुनाले हिउँ पग्लिन अझैं ३०÷३५ दिन लाग्न सक्छ । यस्तोमा हिउँमा हराइ रहेकालाई खोज्न मुस्किल छ । 

‘प्रत्यक्षदर्शीका अनुसार हराउको संख्या बढ्न पनि सक्छ,’ उनले भने, ‘बाक्लो हिमपातले गर्दा पहिरो खसेको ठाउँमा पुग्न पनि सकिएको छैन ।’ 

हिमपहिरोमा परि हराउँने नेपालीमा २ जना काठमाडौंका छन् । अर्का पोखराका । हिमपहिरोले थुनिएका करिब १ सय ३० को हाराहारीमा उद्धार गरिएको र ति मध्ये ६४ लाई पोखरामा ल्याइ सकिएको टानले जनाएको छ । 

हिमपहिरोमा परेकी पासपोर्ट नम्बर एफ (२१९९६७००) भएकी चिनियाँ नागरिक जाङ यिङ र उनका सहयोगी जगदिश खत्रीलाई उद्धार गरी उपचार समेत गरेको छ । 

टानले टिम्स बनाएर पदयात्रामा जाने पदयात्री र पथप्रदर्शकको लागि १० लाख रुपैयाँ इन्योरेन्सको पनि व्यवस्था मिलाएको छ । ६० पोर्टर र ४० पथप्रदर्शकको इन्स्योरेन्स गरिएको टिम्स इन्जार्ज सुशिल पौडेलले जानकारी दिए । उद्धार गर्न पुगेको टोली र प्रहरी पनि उक्त स्थानमा पुग्न गाह्रो परि रहेको टानले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप