शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबलको पहिलो कारोबार २५२ रुपैंयामा, बजारको उछालले शेयरमूल्य ‘सस्तो’

आइतबार, ०५ माघ २०७६, १९ : ५२
आइतबार, ०५ माघ २०७६

काठमाडौं । जनता बैंकसँगको मर्जरपछि शेयर बजारमा पहिलोपटक प्रवेश गर्न लागेको ग्लोबल आईएमई बैंकको कारोबार भोलि (सोमबार) देखि हुने भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले कारोबारको सुरुवाती मूल्य (ओपनिङ रेञ्ज) २५२.४७ रुपैंया कायम गरेसँगै सोमबारदेखि सो बैंकको शेयर कारोबार खुल्ने भएको हो । अर्थात् सो बैंकको पहिलो कारोबार २५२ रुपैंया वा सोभन्दा कम मूल्यमा हुनुपर्छ । त्यसपछि भने सर्किट ब्रेकर प्रणालीअनुसार प्रत्येक दिन १० प्रतिशत घटबढ हुन सक्छ ।

कसरी तोकियो ओपनिङ रेञ्ज ?

नेप्सेले नयाँ ओपनिङ रेञ्ज तोक्नुको कारण मर्ज वा एक्विजिसन भएपछिको नयाँ मूल्यले बजार पुँजीकरणलाई प्रभाव नपारोस् भन्ने हो । बजार पुँजीकरणकै आधारमा नेप्से परिसूचक गणना हुने भएकोले यसको लागि पनि स्थिर पुँजीकरण हुनैपर्छ । 

मर्जर सम्झौता हुनुअघिको अन्तिम कारोबारको मूल्यका आधारमा तात्कालिन ग्लोबल बैंकको बजार पुँजीकरण ३० अर्ब ४१ करोड ६० लाख थियो । त्यस्तै ग्लोबल आईएमई बैंकको पुँजीकरण १७ अर्ब १२ करोड १६ लाख थियो । यो पुँजीकरण जोड्दा ४७ अर्ब ५३ करोड ७७ लाख रुपैंया हुन्छ । 

एकीकृत कारोबार भइसकेपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ८२ करोड ९० लाख रुपैंया छ । यो आधारमा बैंकको प्रतिशेयर कारोबार मूल्य २५२.४७ रुपैंया हुन पुगेको हो ।

बजारको उछालले शेयर ‘सस्तो’

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरका लागि असार १९ गते सहमति भएपछि दुवै बैंकको शेयर कारोबार बन्द भएको थियो । त्योबेला नेप्से परिसूचक १२६०.४७ विन्दुमा थियो । 

अहिले १३४३.६४ विन्दुमा छ । नेप्सेको यो वृद्धिका कारण बैंकिङ समूहका सबै स्क्रिपहरुको पनि बढेको छ । त्यसैले वास्तविक मूल्य एउटै भए पनि यसको मनोवैज्ञानिक मूल्य सस्तो भएको छ । 

त्यसैले सोमबार हुने कारोबारमा लगानीकर्ताहरुको उच्च खरिद चाप देखिने सम्भावना छ । यो अवस्था केही दिनसम्म रहनसक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप