शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको नाफा ६९ करोड, निष्क्रिय कर्जा घट्यो

सोमबार, ०६ माघ २०७६, १० : ३३
सोमबार, ०६ माघ २०७६

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । 

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये नै पहिलोपटक वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले यो अवधिमा ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो । 

यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष सो बैंकको नाफा ७७ करोड ३ लाख रुपैंया थियो । 

बैंकले पुस मसान्तसम्ममा ७५ अर्ब ५९ करोड निक्षेप संकलन गरी ६९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा क्रमशः ५ अर्ब र ८.५ अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप ७० अर्ब ५० करोड र कर्जा ६२ अर्ब ९१ करोड रुपैयाँ थियो ।

पुस मसान्तसम्म बैंकको जगेडा कोष २ अर्ब ८८ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा ६ करोड रुपैंयाले मात्रै बढी हो । यो वर्ष ३ प्रतिशत बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा २५ करोडले बढाएर ८ अर्ब ६२ करोड रुपैंया पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा ६६ करोड रहेको देखिएको छ । 

सिटिजन्सले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा सामान्य वृद्धि गरेको छ । ब्याज आम्दानी २ अर्ब १३ करोडबाट बढेर २ अर्ब ३२ करोड पुग्दा ब्याज खर्च १ अर्ब ३९ करोडबाट १ अर्ब ५९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कर्मचारी खर्च ३ करोड बढेर ५१ करोड र अन्य सञ्चालन खर्च करिब डेढ करोड बढेर २३ करोड नजिक रहेको देखिएको छ । 

पुस मसान्तसम्म सो बैंकको पुँजी पर्याप्तता अनुपात १३.७२ प्रतिशत छ यो नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र हो । निष्क्रिय कर्जा अनुपातलाई १.६२ प्रतिशतबाट ०.९९ प्रतिशतमा झार्न सफल हुनु बैंकको सकारात्मक पक्ष हो । बैंकको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ । पुस मसान्तसम्म सिटिजन्सको कस्ट अफ फण्ड ७.९४ प्रतिशत र बेसरेट १०.३५ प्रतिशत छ । 

बेसरेटमा कस्ट अफ फण्डका अतिरिक्त सीआरआरको लागत, एसएलआरको लागत र सञ्चालन खर्च जोड्न पाउने राष्ट्र बैंकको प्रावधान छ । बैंकको निक्षेपमा दिने औसत ब्याज र कर्जामा लिने औसत ब्याजदरको अन्तर भने ३.६९ प्रतिशत छ । 

बैंकले बचत खातामा ६ प्रतिशतदेखि ६.५ प्रतिशत र मुद्दति खातामा ८.५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको छ । कर्जाको ब्याजदर भने बेसरेटमा ०.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म थप गरेर लिँदै आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप