बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : उपसभामुखको राजीनामादेखि सभामुख निर्वाचनको कार्यतालिका घोषणासम्म

सोमबार, ०६ माघ २०७६, १८ : ४८
सोमबार, ०६ माघ २०७६

१२ गते सभामुख निर्वाचन

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । 

उपसभामुखले राजीनामा गरेलगत्तै माघ १२ गते प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । 

कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुनेछ । 

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि सभामुख पद रिक्त रहेका कारण एक महिनासम्म संसद बैठक प्रभावित हुँदै आएको थियो । असोज १४ गते कृष्ण बहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको थियो । 

सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावलि २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए ।  लगत्तै उनले प्रतिनिधिसभा नियमावलिको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिएका थिए । 

शिवमाया पत्रकार सम्मेलन

उपसभामुखबाट राजीनामा दिएकी डा शिवमाया तुम्बाहाङ्फेले संविधानले नै प्रतिनिधिसभालाई नेतृत्वविहिनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् । 

उनले संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारिन् ।  संस्थालाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफूले बाजी मारेको दाबी पनि उनले गरिन् । 

राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन् ।  

नेता शर्माको निधन 
५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले  बताए ।

रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

त्यसपछि विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए । एक सातादेखि उनलाई घरमै राखिएको थियो ।

रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।

स्मार्ट सिटीको डीपीआर तयार
काठमाडौँ उपत्यकालाई आधुनिक र सुविधा सम्पन्न सहर बनाउने लक्ष्यका साथ अघि बढाइएको स्मार्टसिटीका ४ वटै परियोजनाहरुको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) सकिएको छ । 

 काठमाडौँ उपत्यका विकास प्राधिकरणले डीपीआरका लागि छनोट गरेका सबै कम्पनीले त्यस्तो रिपोर्ट बुझाइसकेको जनाएको छ । 

काठमाडौँ उपत्यकामा चार दिशामा ४ वटै स्मार्टसिटी बनाउने जिम्मेवारी प्राधिकरणले पाएको छ । जसमध्ये सबैभन्दा ठूलो स्मार्टसिटी ईशान (उत्तर–पूर्व) दिशातर्फ काठमाडौँको मूलपानी क्षेत्रमा १ लाख रोपनी क्षेत्रमा फैलनेगरी प्रस्ताव गरिएको छ । त्यस्तै, नैऋत्य (दक्षिण—पश्चिम) दिशातर्फ ललितपुरको सैँबु क्षेत्र, आग्नेय (दक्षिण–पूर्व) दिशातर्फ भक्तपुरको सूर्यविनायक क्षेत्र र उत्तर दिशातर्फ काठमाडौँको टोखा क्षेत्रमा १०–१० हजार रोपनी क्षेत्रफलमा स्मार्टसिटी बनाउने प्रस्ताव गरिएको छ । 
 
त्यसमध्ये टोखा क्षेत्रबाहेक अन्य ३ ओटा स्मार्टसिटीको डीपीआर ३ महिना अघि नै प्राप्त भइसकेको थियो भने टोखा क्षेत्रको डीपीआर पनि एक साताअघि मात्रै प्राप्त भएको प्राधिकरणले जनाएको छ । 

डीपीआर तयार भए पनि त्यसलाई बोर्डबाट पास नगरी सार्वजनिक गर्न नमिल्ने भएकाले रिपोर्ट सार्वजनिक गरिएको छैन । यद्यपि चारवटै स्मार्टसिटी बनाउन करिब ५ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।


नेकपा संसदीय दल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा जानकारी लिएको छ । 

संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीका विषयमा देखिएका विवाद सम्बन्धमा मन्त्री ज्ञवालीसँग छलफल गरेका हुन् । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दल भित्र एमसीसीका विषयमा एउटै मत बनोस भन्ने उद्देश्यले छलफल गरिएको जानकारी दिए । 

सरकारले गरेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता सम्बन्धी सम्झौता पछिल्लो समय विवादित बनेको छ । 

खासगरी अमेरिकाको इण्डोप्यासिफिक रणनीति भित्र एमसीसी रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै विवाद बढेको छ । पार्टीभित्र एमसीसीका विषयमा बढिरहेको विवाद समाधान गर्न र एमसीसीका विषयमा स्पष्ट हुन भन्दै नेकपाको राष्ट्रिय सभा संसदिय दलले परराष्ट्र मन्त्री ज्ञवालीसँग छलफल गरेको हो । 

राष्ट्रियसभा विशेष समय

राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभा बैठकमा सिवाकोटीले भौतिक पूर्वाधार निर्माणका सम्पूर्ण काम पूरा भएपनि सम्बन्ध नपाएको भन्दै गुनासो गरे ।  मनमोहन मेडिकल कलेजले लामो समयसम्म पनि सम्बन्ध नपाएको बताउँदै सिवाकोटीले ३६ सय जनताको सेयर रहेको उक्त कलेजलाई सम्बन्धन दिने कुरामा सरकार मौन रहेको बताए । 

 झापाको बि एण्ड सी अस्पतालमा सुविधा सम्पन्न भवनहरुको निर्माण सम्पन्न भइसक्दा पनि किन सम्बन्ध नपाएको भन्दै प्रश्न समेत गरे ।  

सांसद नन्दा चपाईंले देशको मेरुदण्डका रुपमा रहेका उद्योगहरुको सञ्चालन गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताइन् । 

सांसद तारादेवी भट्टले सरकारले संघीयता कार्यान्वयनमा दतारुकता नदेखाएको आरोप लगाइन् । 

उद्योगमन्त्री भट्ट

उद्योगमन्त्री लेखराज भट्टले राज्यको सेवा सुविधा उपभोग गर्नेले राज्य के हो भन्ने कुरा बुझ्न जरुरी रहेको बताएका छन् । 

नेपाल इन्टरमोडल विकास समितिको २३ औं वार्षिकोत्सवमा मन्त्री भट्टले राज्यले दिने सेवा जनता, राष्ट्र र स्वयम सेवा उपभोग गर्नेहरुलाई हुने र सबैको समस्या समाधान गर्ने दायित्व राज्यको भएको बताए ।  कर्मचारीहरुलाई संकेत गर्दै मन्त्री भट्टले १०—५ को ड्युटी गरेर तलबमात्रै खान आएको भन्ने कुरा कसैले नसोच्न आग्रह समेत गरे ।

उद्योगराज्य मन्त्री मोतिलाल दुगडले सरकारले देशलाई आधुनिक र समृद्धबनाउन योजनाहरु ल्याएपनि केही स्थानीयवासी, केही समुदाय र केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थका लागि अवरोध गर्ने परम्परा रहेको बताए । 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भारतबाट सामान आयात गर्दा सिपिङ कम्पनीहरुले अनावश्यक रुपमा शुल्क उठाउने गरेको गुनासो गरे । 

सोमबार नेपाल इन्टरनेशनल यातायात विकास समितिले आफ्नो २३ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवशरमा समितिले रसद २०७६ पनि विमोचन गरेको छ । 

भन्सार छली 

सुर्तिजन्य तथा पान मसला लगायतका वस्तुहरु अवैधरुपमा भन्सार छली गरी चोरी पैठारीमा संलग्न तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याई लुकाई छिपाई काठमाडौं लगायत देशका विभिन्न ठाउँमा अवैध कारोबार गर्ने तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । नेपाल प्रहरी महानगरीय अपराध महाशाखा टेकुले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । 

उनीहरुलाई प्रहरीले काठमाडौंको सुन्धारा, ललितपुरको धापाखेल तथा काठमाडौंको गौरिघाट स्थित गोदामबाट सामान सहित पक्राउ गरेको हो । 

मन्त्री भट्टराई

नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्र्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो पत्रकार समूहले फोटो पुस्तक ‘नेपाल दर्शन २०२०’ सार्वजनिक गरेको छ । 

फोटो पत्रकार समूहले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पुस्तक सार्वजनिक गरेको हो । नेपाल भ्रमण वर्षको प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रकाशित गरिएको यो पुस्तकमा नेपालको संस्कृति तथा पर्यटकीय क्षेत्रहरुसँग सम्बन्धित फोटोहरु समावेश गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री योगश भट्टराईले नेपाल किन घुम्न जाने भन्ने प्रश्नको जवाफ यो पुस्तकले दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप