शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधितर्फ लम्कँदै आर्मी

सोमबार, ०६ माघ २०७६, १९ : ४७
सोमबार, ०६ माघ २०७६

काठमाडौं । त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधितर्फ लम्किएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा आर्मीले च्यासल युथ क्लबलाई ३–० गोलले हरायो । 

आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । आर्मीले सबै गोल दोस्रो हाफमा गरेको थियो । भरतले ५८ औं मिनेटमा सेसेहाङ आङदेम्बेको पासमा डीबक्स भित्रबाट गोल गरेका थिए । भरतको प्रहार क्रसबारमा ठोकिएर गोल भएको थियो । भरतको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यो करियरको ४७ औं गोल हो । 

त्यसपछि आर्मीले ७३औं मिनेटमा अग्रता दोब्बर बनायो । नवयुग श्रेष्ठले रिवाउन्ड बलमा गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । सेसेहाङ आङदेम्बेको पहिलो प्रहार च्यासलका गोलरक्षकले फर्काएको बलमा नवयुगले गोल गरेका थिए ।

सन्तोष तामाङले ८४औं मिनेटमा पेनाल्टीमा मार्फत तेस्रो गोल गरे । डीबक्स भित्र च्यासलका छिरिङ गुरुङले आर्मीका नवयुग श्रेष्ठलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । दोस्रो हाफको इन्जुरी समयमा पनि आर्मीले अर्को पेनाल्टी पाएको थियो । 

तर, नवयुग श्रेष्ठ दोस्रो पेनाल्टीमा चुके । नवयुगको प्रहार पोलमा लागेर बाहिरिएको थियो । आर्मीको लगातार गोलले अत्तालिएको च्यासलले एउटा पनि गोल फर्काउन सकेन ।

आर्मीका भरत खवास म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै आर्मीले शीर्ष स्थान बलियो बनाएको छ । 

सात खेलबाट आर्मीको १६ अंक छ । सातौं चरणको समाप्तिपछि आर्मीले दोस्रो र तेस्रो स्थानमा रहेको मच्छिन्द्र र मनाङलाई तीन अंकले पछि पारेको छ ।

मच्छिन्द्र र मनाङको समान १३ अंक छ । ६ अंक बनाएको च्यासल १२औं स्थानमा छ । च्यासललाई विस्तारै रेलिगेसनको चिन्ताले सताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप