प्रम ओलीको निमन्त्रणमा मोदीले नेपालीमा भने, ‘फेरि भेट होला’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी मङ्गलबार भिडियो कन्फ्रेन्सका माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् । ओली र मोदीले उद्घाटनका अवसरमा संक्षिप्त सम्बोधनसमेत गरे ।
प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गर्दा मोदीले भने नेपाली र हिन्दी भाषा प्रयोग गरे । सम्बोधनको सुरुमै मोदीले नेपाली जनतालाई सोधे– कस्तो छ ?
त्यसपछि उनले हिन्दी भाषामा सम्बोधन अघि बढाए । उनले नयाँ वर्ष २०२० को शुभकामना समेत दिए ।
उनले २०२० नयाँ वर्षमात्र नभएर नयाँ दशकको पनि सुरुवात भएको भन्दै नयाँ वर्ष र नयाँ दशक सबैका लागि सुस्वास्थ्य, दीर्घायु, प्रगति, प्रशन्नता र शान्ति लिएर आओस् भन्ने कामनासमेत गरे ।
उनले हालै दुवै देशमा माघे संक्रान्ति मनाइएको चर्चासमेत गरे । ‘गत साता संक्रान्ति मनाइयो,’ मोदीले भने, ‘यसका अवसरमा पनि म शुभकामना दिन चाहन्छु ।’
उनले नयाँ वर्ष र नयाँ दशकको सुरुवातमै नेपाल र भारत शुभकार्यमा सामेल भएको भन्दै एकीकृत जाँच चौकी निर्माण हुनु दुई देशबीचको साझेदारीको एउटा उदाहरण रहेको प्रष्ट पारे । पाँच महिनामा दोस्रो पटक यस प्रकारको भिडियो कन्फ्रेन्सबाट दुई अलग परियोजना उद्घाटन भएको भन्दै उनले यसलाई प्रविधिको विकासको उदाहरणका रुपमा समेत प्रस्तुत गरे ।
‘छिमेकी पहिला’ नीतिलाई आफ्नो नेतृत्वको सरकारले प्राथमिकता दिएको जिकिर गर्दै उनले कनेक्टिभिटी बढाउनु आजको आवश्यकता रहेको बताए । भारत–नेपाल सम्बन्ध छिमेकीमात्र नभएर इतिहास र भूगोलले हामीलाई प्रकृति, परिवार, भाषा, संस्कृति लगायत कयौँ धागोमा जोडेको उनले बताए ।
दुई देशबीच कनेक्टिभिटी पुरा क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने उनको भनाइ थियो । आवागमनलाई सरल र सूचारु बनाउन, व्यापार, संस्कृति, शिक्षा लगायतका क्षेत्रमा सम्पर्कलाई अझ सुगम बनाउन भारत प्रतिवद्ध रहेको उनले बताए ।
क्रस बोर्डर कनेक्टिभिटी प्रोजेक्ट अन्तर्गत सडक, प्रसारण लाइनमा काम भइरहेको उनले प्रष्ट पारे । आगामी वर्षमा यस्ता कयौं प्रोजेक्टमा काम हुने र नतिजा आउने उनले बताए ।
प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्दै मोदीले ओली नेतृत्वको सरकारको सहयोग र समर्थनले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा नयाँ उचाईमा लैजान सक्ने विश्वाससमेत व्यक्त गरे । ‘यो दशक हाम्रो मित्रताको स्वर्णिम दशक बनोस्,’ उनले भने ।
उनले आफूलाई प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निमन्त्रणा गरेकोमा गर्व महसुस भइरहेको बताए । ‘म यो वर्ष पक्का कार्यक्रम बनाइरहेको छु र तपाईसँग समय बिताउने छु,’ उनले भने ।
अन्त्यमा नेपाली भाषामा मोदीले भने, ‘तपाईहरु सबैलाई धेरै शुभकामना दिन्छु, फेरि भेट होला । नमस्कार ।’
त्यसअघि प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै मुलुकमा स्थिर र बहुमतको सरकार रहेका कारण आपसमा अल्झिएका मुद्दाहरुलाई मिलेर सुल्झाउन सकिने चर्चा गरेका थिए ।
उनले भूकम्पपछि मोदी नेतृत्वको सरकारले नेपालमा उद्धार तथा राहतमा निर्वाह गरेको अग्रणी भूमिका र पुनर्निर्माणमा गरेको सहयोगप्रति आभार प्रकट गरे ।
उनले नेपाल र भारत भूगोल, इतिहास, संस्कृतिले सदियौंदेखि निकट रहँदै आएको चर्चा गर्दै आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
उनले मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै स्वागतका लागि आफू प्रतीक्षारत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल