बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस युनियनको नवौँ महाधिवेशन मिति तय

मङ्गलबार, ०७ माघ २०७६, २२ : २०
मङ्गलबार, ०७ माघ २०७६

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको आज  चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । 

युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।  

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिए । अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ । 

महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ ।

बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ । बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

यसअघि बैठकको शुभारम्भ गर्दै  अध्यक्ष सिग्देलले सरकारले ल्याएको मिडिया काउन्सिल  विधेयक परिमार्जन गर्नुपर्ने माग गर्नुभयो । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सुरेश आचार्य, महासङ्घका महासचिव रमेश विष्ट, युनियन चितवनका अध्यक्ष अनिल ढकालले सरकारले ल्याएका विधेयक जनपक्षीय हुनुपर्ने धारणा राखे । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप