शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालयको विडम्बना : शौच गर्न उखुबारी, पानी पिउन छिमेकतिर

बुधबार, ०८ माघ २०७६, १५ : १९
बुधबार, ०८ माघ २०७६

रौतहट । रौतहटको एक विद्यालयका विद्यार्थी र शिक्षकहरु शौच गर्न नजिकैको उखुबारीमा र प्यास लाग्दा पानी पिउन छिमेकीको घरमा जानुपर्ने बाध्यतामा छन् ।

स्थानीय तहको निर्वाचनपछि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई प्राथमिकता दिइए पनि विद्यालयमा शौचालय र पानी पिउनका लागि ट्युवबेल समेत नहुनु विडम्बनापूर्ण नै हो ।

फतुवा बिजयपुर नगरपालिका वडा नं. १ गमहरियाटोल छेउमा रहेको दलित प्राथमिक विद्यालयमा आवश्यक पूर्वाधार नहुँदा शिक्षक र विद्यार्थीले असुविधा झेल्दै आएका छन् ।

विद्यालयमा ट्युवबेल नहुँदा वर्षौँदेखि विद्यार्थी तथा शिक्षक पानी पिउनका लागि छिमेकतिर जाने गरेका छन् । शौचालयको व्यवस्था नहुँदा उखुबारीतिर गएर विद्यार्थी र शिक्षकले शौच गर्नुपर्ने बाध्यता छ ।

विद्यालयका प्रधानाध्यापक रामेश्वर महरा चमारले विद्यालयमा पिउने पानीको व्यवस्था, शौचालय लगायतका भौतिक पूर्वाधार नभएको बताए ।

विद्यालयको नाम पनि ‘दलित प्रावि’ र आफु पनि दलित जाती कै रहेकाले कसैले पनि विद्यालयको आवश्यकतामा वास्ता नगरेको हुन सक्ने उनको भनाइ छ ।

२०६४ सालमा स्थानीय गणेश महरा चमारले निःशुल्क डेढ कठ्ठा जग्गा दिएपछि उक्त विद्यालय निर्माण भएको थियो ।

स्थानीय बासिन्दाको चन्दा सहयोगमा बनेको फुसको घरमा विद्यालय स्थापना भएपछि दलित प्राविमा गमहरिया, हर्षाहा र बाँकेपुरका गरी कक्षा १ देखि ५ सम्म कुल एक सय २३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
विद्यालयको आफ्नो भवन तथा फर्निचर केही नभएका कारण विद्यार्थीहरु घरबाट बोरा लिएर आउने गर्छन् र त्यही बोरा ओछ्याएर पढ्ने गर्दछन् ।

विद्यालयमा रहेको ४÷५ वटा कुर्सीमा शिक्षकहरु बस्ने गर्दछन् भने विद्यालयको हाजिरी रजिस्टर लगायतका आवश्यक कागजात गाँउकै एकजनाको घरमा राख्ने गरेको प्रधानाध्यापक रामेश्वर महरा चमार बताउँछन् ।

विद्यालय भवन निर्माणका लागि यसअघि पटक पटक जिल्ला शिक्षा कार्यालय गौर धाउँदा तत्कालीन शिक्षा अधिकारीहरुले कुनै वास्ता नगरेको उनको गुनासो छ ।

नगरपालिकाका मेयर र उपमेयरको जुधाइका कारण विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका, कार्यालय सहयोगीले गत साउनदेखि हालसम्म तलब खान सकेका छैनन् ।

रकम अभावमा अध्ययनरत बालबालिकालाई दिवाखाजा खुवाउन समेत नसकेको महराले दुखेसो पोखे ।

विद्यालयमा दुईजना शिक्षक, एकजना बालशिक्षा कोटामा र एकजना कार्यालय सहयोगी गरेर चारजना कार्यरत छन् ।

फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक बुनीलाल यादवले नियमित प्रकृया अनुसार विद्यालयको मसलन्द खर्च, छात्रबृत्ति रकम जाने गरेको भए पनि भवन तथा फर्निचरका लागि हालसम्म सहयोग हुन नसकेको जानकारी दिए ।

बार्षिक करोडौंको विकास बजेट हुने नगरपालिकामा बर्षौँदेखि विद्यालय तथा विद्यार्थीको समस्या समाधान नहुनु शिक्षाप्रति जनप्रतिनिधिको उदासिनताकै उदाहरण रहेको जानकारहरु बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप