शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेस रिभ्यू : निगममा २५ पाइलटको सामुहिक राजीनामा, प्रहरीको खेलाँचीले सिद्धबाबा फरार

निम्तो बाँडिन्, बिहे हुन पाएन
शुक्रबार, १० माघ २०७६, ०७ : २५
शुक्रबार, १० माघ २०७६

आज माघ १० गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा राष्ट्रियसभा निर्वाचनका समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रदेश सांसद पक्राउ, सिद्धबाबा फरार लगायतका समाचारहरु पनि प्रकाशित छन् ।

नयाँ पत्रिका दैनिकमा नेपाल वायुसेवा निगमको ६० वर्षे इतिहासमै पहिलोपटक दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएको समाचार छ । व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये बिहीबार २५ जनाले सामूहिक राजीनामा दिएका हुन् । वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जनाले निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दलाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिने सबै स्थायी पाइलट हुन् । राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को–पाइलट हुन् । राजीनामा दिएका २५ पाइलट सबै बाहिरिए भने निगमको अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा बन्द हुनेछ । निगममा १३ विदेशी क्याप्टेन छन् । तर, क्याप्टेन र को–पाइलट दुवै नभई उडान गर्नै पाइँदैन । निगमले हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाजमार्फत नौवटा गन्तव्यमा उडान भर्दै आएको छ । ‘पाइलटहरूको सामूहिक राजीनामा आएको छ, सचिवज्यूले बोर्ड बैठक राखेपछि एजेन्डाका रूपमा पेस गर्नेछु,’ निगमका निमित्त कार्यकारी अध्यक्ष चन्दले भने । व्यवस्थापनको कमजोरी र सुविधा तथा करका विषयमा विभेद गरेको भनेर राजीनामा आएको उनले बताए । सञ्चालक समितिले राजीनामाको विषयमा समाधान निकाल्ने चन्दले बताए । सामूहिक राजीनामा आउनु दुस्खद भएको बताउँदै चन्दले पर्यटन सचिवलाई यस विषयमा जानकारी गराइसकेको बताए ।

सोही पत्रिकामा पुनर्निर्माणले समाप्त भयो ‘ब्ल्याक भिलेज’को पहिचान शीर्षकमा समाचार छ । १२ वैशाख ०७२ अघिसम्म आमाछोदिङमो गाउँपालिका–३ स्थित गत्लाङ गाउँ ‘ब्ल्याक भिलेज’का रूपमा परिचित थियो । कमिलाको ताँतीझैँ लहरै मिलेका थिए पाँच सय घर । जसले पर्यटकलाई आकर्षित गथ्र्यो । विनाशकारी भूकम्पले पुरानो बस्ती ढल्यो । भूकम्पपछि गत्लाङमा सुरु भएको पुनर्निर्माणले यहाँको ‘ब्ल्याक भिलेज’ को पहिचान नै समाप्त पारिदिएको छ । भूकम्प अघिसम्म यहाँका घरमा बुट्टेदार झ्याल थिए । ढुंगाको पर्खाललाई काठले चारैतिरबाट घेरिएको थियो । फलेककै छानो भएका चिटिक्क मिलेको बस्ती थियो । भूकम्पपछि रड, इँटा, सिमेन्ट र बालुवाको प्रयोगले गत्लाङमा कंक्रिटका घर निर्माण भएका छन् । जसका कारण गाउँको पुरानो मौलिकता नै समाप्त भएको स्थानीय नवीन लामाले बताए । ‘पहिला ढुंगाको पर्खाललाई चारैतिरबाट काठले घेरेर फलेकको छाना हालिएका एकै खालका घर थिए,’ लामाले भने, ‘दाउरा बाल्ने चुहो भएका कारण अधिकांश घरका छाना धुँवाले काला भएका थिए । जसका कारण पर्यटक यो गाउँलाई ब्ल्याक भिलेजका रूपमा चिन्थे । तर, अब त्यो अवस्था रहेन ।’

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरुलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरुलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो । बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता महेन्द्रनगरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् ।

उनी डेढ वर्षअघि गुरुखोलाकै प्रकाशबहादुर टेरसँग भागेर आएकी थिइन् । टेरसँगै बसिरहेकी उनलाई अन्तरजातीय सम्बन्ध भएकाले माइतीपक्षले स्वीकार गरेको थिएन । अहिले माइती पक्ष राजी भएपछि रमिता र प्रकाशको औपचारिक विवाह हुन लागेको थियो । ‘माघ १३ गते विवाहको तयारी थियो, हामीहरु सरसमान जुटाउनेदेखि निम्तो बाँड्ने काममा जुटेका थियौँ,’ रमिताका ससुरा हरिसिंह टेरले फोनमा भने, ‘खबर सुनेपछि सबै भताभुङ्ग भयो ।’ उनी छोरा प्रकाश र परिवारका अन्य सदस्यसहित महेन्द्रनगर आइरहेका छन् । रमिता दिउँसो २ बजेतिर साथीहरुलाई कार्ड दिन्छु भन्दै डेराबाट निस्केकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सोही पत्रिकामा सरकारले ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेकाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको समाचार छ । यसका लागि चारवटा निकायलाई सरकारले पत्र लेख्ने भएको छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको विषयमा गठित जाँचबुझ आयोगको पहिलो चरणको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । ‘प्रतिवेदनका अंशहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई जिम्मेवारी दिने निर्णय भएको हो,’ उनले भने । आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । सरकारले जग्गा अतिक्रमणका क्रममा भ्रष्टाचार भएको देखिएका फाइलहरू अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय भएको छ । गुठीका जग्गा अतिक्रमण भएकामा छानबिनका लागि सरकारले गुठी संस्थानलाई निर्देशन दिने निर्णय गरेको छ । सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता भएकामा बदर गर्न सम्बन्धित मालपोत कार्यालयबाट कारबाही अघि बढाइने भएको छ । किर्ते र ठगी गरेर जग्गा अतिक्रमण गरेको भए गृह मन्त्रालयले प्रहरी मुख्यालयमार्फत केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मेवारी दिने भएको छ । अख्तियारबाहेकका अरू निकायले गर्ने कारबाहीको प्रगति विवरण ३-र३ महिनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाउनुपर्ने निर्णयसमेत भएको छ ।

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएको आजको नागरिक दैनिकमा समाचार छ । १३ औँ महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुँदा शशांकले सभापतिलाई साथ दिएका थिए । पुस ११ गते केन्द्रीय समितिबाट संस्थापन इतरको सहभागिताबिनै १४ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि भने महामन्त्री शशांक देउवाविरुद्ध देखिएका हुन् । सभापति देउवाविरुद्ध उत्रिएका संस्थापन इतरका अन्य नेताभन्दा आक्रामक देखिएका शशांकले देउवाबाट पार्टी नचल्ने बताउँदै आएका छन् । आगामी महाधिवेशनले पार्टी नेतृत्व परिवर्तन गर्ने शशांकको दाबी छ । शशांक अहिले एकाएक किन देउवाविरुद्ध आक्रामक देखिएका हुन् ? महामन्त्री शशांकनिकट एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवा सहमतिका आधारमा नभएर एकलौटी ढंगले अघि बढेपछि परिस्थिति फेरिएको सुनाउँछन् ।

सोही पत्रिकामा अन्नपूर्ण क्षेत्रको पदयात्रा जोखिमपूर्ण रहेको समाचार प्रकाशित छ । गत शुक्रबार एबिसी पदमार्गमै आएको हिमपहिरोमा परेर हराएका चार कोरियाली पदयात्री र तीन नेपाली गाइड अझै फेला परेका छैनन् । बारम्बार पदमार्गमा क्षति हुन थालेपछि सुरक्षित पदयात्राबारे प्रश्न उठ्न थालेको छ । साहसिक मानिएको पदयात्रा सुरक्षित बन्दै गएको भन्दै पदयात्रा व्यावसायीले पनि चिन्ता जनाउन थालेका छन् ।

‘साहसिक मानिएको पदयात्रा क्षेत्र नै जोखिमपूर्ण बन्दै गएको यसले व्यवसायीलाई चिन्तित बनाएको छ,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाली (टान) पश्चिमाञ्चल क्षेत्रयि संघको विपद् व्यवस्थापन टिमका संयोजक दीपकराज अधिकारीले भने, ‘बारम्बार पदयात्रा क्षेत्रमा एकैखाले घटना दोहोरिन थालेका छन् । यसले नेपालको पदयात्राबारे अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश फैलिएको छ ।’ अधिकारीका अनुसार गत शुक्रबार हिमपहिरो आउने समय सामान्य अवस्थाभन्दा छिटो थियो । बिहान १० बजेतिरै एबिसी पदमार्गको हिङ कु केभ र देउरालीबीचको खण्डमा हिमपहिरो खसेको थियो । एक व्यवसायीका अनुसार हिम पहिलो आउने समय यतिबेला होइन । ‘चर्को घाम लागेपछि मध्यान्हपछि मात्र हिमपहिरो आउने हो । तर गत शुक्रबार त बिहान १० बजे नै भीषण हिमपहिरो झर्यो,’ उनले भने ।

अन्नपूर्ण पोष्ट दैनिकमा राष्ट्रियसभामा नाम मात्रैको प्रतिपक्ष शीर्षकमा समाचार छ । राष्ट्रियसभा निर्वाचनमा सत्तासीन नेकपा एकलौटी विजयी भएको छ। १८ सदस्यका लागि बिहीबार भएको मतदानमा नेकपाले १६ सिट जितेको हो। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ। प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ।

नयाँ परिणामपछि ५९ सदस्यीय राष्ट्रियसभामा नेकपाका ५० जना ९सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित तीन जनासमेत० सांसद हुनेछन्। आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ। राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन्। संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ। सरकारका कामकारबाहीमा अनुगमन, निर्देशन र नियन्त्रण गर्ने संसद्मा प्रमुख विपक्षीको भूमिका ‘निरीह’ बन्ने देखिन्छ। नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित ९अर्थमन्त्री डा। युवराज खतिवडा०को कार्यकाल फागुन २० मा सकिन लागेको हो। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ। नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ। कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ।

सोही पत्रिकामा ‘थुन्न नभन्दै फुत्किए सिद्धबाबा’ शीर्षकमा समाचार छ । सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीबार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् । उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्नो आश्रमबाट उच्च अदालत जाने भनेर हिँडे । मुद्दाको सुनवाइ जारी रहेकै बेला अदालत नगइ सीधै जोगवनीतर्फ हानिए । अनौठो कुरा त – यौन दुराचारमा मुद्दा विचाराधीन रहेका उनका लागि सरकारले अङ्गरक्षक खटाएको छ । उनका लागि सरकारले नेपाल भारत सीमामा पुगेपछि उनले अङ्गरक्षक प्रहरी हवलदार मुकेश साहलाई फिर्ता पठाएका छन् । आफ्नै खेलाँचीले उम्किन दिएको प्रहरीले भने अदालतको आदेशपछि गिरीलाई व्यापक रुपमा खोजिरहेको छ । सिद्धबाबाले दिउँसो १ बजे सीमापार गरेको जानकारी आएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताए । स्रोतका अनुसार उच्चबाट आफ्नो पक्षमा आदेश नआउने बुझेर गिरीले पहिल्यै नेपाल छाडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप