बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ल्होछार भोलि, बिदा आज : सरोकारवाला भन्छन् –सरकारको ‘ललिपप’

शुक्रबार, १० माघ २०७६, ११ : १५
शुक्रबार, १० माघ २०७६

काठमाडौ । तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व यो वर्ष गतेका हिसावले माघ ११ गते पर्छ । सोही दिन सो समुदायले ल्होछार मनाउने तयारी समेत गरेका छन् ।

तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्ष आरम्भका रुपमा मनाउने गर्छन् । तिथिका हिसावले प्रत्यक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीका दिन सोनाम ल्होछार मनाइने गरिन्छ । यहि दिन चिनियाँ नयाँ वर्ष समेत पर्ने गर्छ ।

तर, यो पर्वका अवसरमा वागमती प्रदेश सरकारले शुक्रबारै विदा दिएको छ । यसअघि भने विदाको दिन ल्होछार पर्दा सरकारले अतिरिक्त दिन बिदा नदिने गरेपनि यो वर्ष नयाँ परम्पराको थालनी गरेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले यसरी बिदा दिएर सरकारले तामाङ समुदायलाई ‘ललिपप’ ख्वाएको भन्दै यसको कुनै अर्थ नभएको बताएका छन् ।   

गत पुस २७ गते बसेको वागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले शुक्रबार ल्होछार पर्वको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलय वागमति प्रदेशका सुचना अधिकारी मदनप्रसाद पोखरेलले जानकारी दिए ।

‘ल्होछार शनिबार पर्छ बिदा चाहीँ शुक्रबार किन ?’ भन्ने प्रश्नमा उनले सरोकारवालाहरुसँग छलफल गरेरै शुक्रबार बिदा दिने निर्णय भएको बताए । यद्यपि उनले मन्त्रिपरिषदको निर्णयमा आफुले अरु थप भन्न नसक्ने प्रतिक्रया दिए ।

पत्रकार समेत रहेका बुद्ध योञ्जन तामाङले शनिबार पर्ने ल्होछारको सरकारले शुक्रबार विदा दिएर तामाङ समुदायलाई ‘ललिपप’ ख्वाएको टिप्पणी गरे ।

‘यसअघि पनि दुई पटक शनिबार सोनाम ल्होछार पर्व परेको थियो । तर यसरी अघिल्लो दिन वा भोलिपल्ट बिदा दिइएको थिएन । तर यसपटक दिइयो’, उनले भने, ‘प्रदेश राजधानी र नामाकरणमा विवाद भएको थियो । त्यसको आक्रोश मेट्न र तामाङ समुदायलाई खुशी पार्न सरकारले बिदा दिएको हुनुपर्छ ।’

उता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले ल्होछार पर्व भोलि शनिबार परेकाले शुक्रबारै विदा दिनुपरेको बताए । उनले तामाङ समुदायको माग अनुसार नै मन्त्रिपरिषदले बिदा दिने निर्णय गरेको भन्दै विभिन्न धर्म संस्कृति र परम्पराको सम्मानमा सरकारले समान भावना देखाएको यो उदाहरण भएको बताए । ‘भोलि शनिबार पर्यो त्यसैले आजै विदा दिएको हो’मन्त्री कट्टेलले रातोपाटीसँग भने ।

मुलुकमा संघीय व्यवस्था लागु भएपछि विभिन्न चाडपर्वहरुमा केन्द्र, प्रदेश र स्थानीय तहहरुले निर्णय गरेर बिदा दिँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप