बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री बन्ने सपना छ : सन्तोषी

शुक्रबार, १० माघ २०७६, १२ : ४४
शुक्रबार, १० माघ २०७६

सन्तोषी शाही सिजन मिडिया आयोजक रहेको ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ की विजेता हुन् । कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतकी सन्तोषीले केही पहिले राजधानीमा आयोजित ‘मिसेस ब्युटी क्विन नेपाल २०२०’ मा अन्य प्रतियोगीलाई पछि पर्दै शीर्ष उपाधि चुम्न सफल भएकी हुन् । प्रतियोगितामा उपाधिका साथमा उनले टीभीएस स्कुटर, इन्डोनेसियाको बाली भ्रमणको टिकट र विभिन्न उपहारसमेत प्राप्त गरेकी छन् ।

धेरैलाई लाग्न सक्छ सौन्दर्य प्रतियोगिताका विजेता धेरै बोल्छिन्, चटपटे स्वाभावकी होलिन् । तर उनी भने शालीन र शान्त स्वभावकी छन् । उमेरले ३६ टेकेकी उनले अहिलेसम्म २ वटा मात्र फिल्म हेरेकी छन् । फिल्मभन्दा पनि राजनीति र समाजसेवातिर आफ्नो रुचि बढी भएको उनी बताउँछिन् । यिनै मिसेस ब्युटी क्विन सन्तोषी शाहीलाई यस्ता छन् रातोपाटीका दस प्रश्न :

‘मिसेस ब्युटी क्विन’को उपाधि जित्नुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?

– निकै खुसी छु, गर्व लागिरहेको छ । मिहिनेतको फल मिलेको छ । केही गर्ने, अगाडि बढ्ने ऊर्जा, आँट मिलेको छ । अझ धेरै गर्न बाँकी छ । यो एउटा सुरुवात हो ।

के सोचेर भाग लिनुभएको थियो ?

–हामी कुना काप्चामा रहेका महिला सधैँ परिवर्तन चाहान्छौँ । त्यसमा पनि म कणार्ली प्रदेशकी हुँ । यहाँको महिला चाहेर पनि घरबाट बाहिर निस्कन सकिरहेका अवस्था छैन । यो अवस्थामा यस्ता प्रतियोगिताले हामीलाई अगाडि बढ्ने अवसर, प्रेरणा मिल्ने गरेको छ । अरूका लागि प्रेरणाको स्रोत बनोस् भनेर प्रतियोगितामा भाग लिएकी थिएँ । मिहिनेत गर्दै जाँदा उपाधि पनि हात लाग्यो ।

विवाहित महिलालाई सौन्दर्य प्रतियोगितामा सहभागी हुन कति सहज ?

–अहिले धेरै सौन्दर्य प्रतियोगिता आयोजना भइरहेका छन् । यस हिसाबले पनि सौन्दर्य प्रतियोगिता के हो, कस्तो हुन्छ र किन जाने भन्ने विषयमा धेरै मानिस जानकार छन् । त्यसैले परिवर्तनशील समाजअनुसार विवाहित मलाई पनि पनि सौन्दर्य प्रतियोगितामा आवश्यक छ भनेर धेरैले बुझेका छन् ।

आगामी दिनका योजना के छन् ?

– विदेशी भूमिका अलपत्र परेका, अङ्गभङ्ग भएका नेपाली दिदीबहिनी, दाजुभाइको उद्धारको काममा लाग्नेछु । निरन्तर समाजसेवा क्रियाशील रहन्छु ।

कस्ती महिला ?

– म शान्त, लजालु स्वभावकी छु । जिज्ञासु पनि छु । नयाँनयाँ सोच राख्न, काम गर्न मनपर्छ । धेरै सार्वजनिक कार्यक्रममा सहभागी हुँदिनँ । कामको जिम्मेवारी सफलतापूर्वक बहन गर्न सक्छु । थोरै बोल्छु । गहन बोल्छु जस्तो लाग्छ ।

मनपर्ने खाना ?

– म बाहिरको खान मन पराउदिनँ । घरकै अर्गानिक खानेकुरा रुचाउँछु ।

रुचिको विषय ?

पुस्तक अध्ययन गर्न मनपर्छ । नयाँ ठाउँ घुम्न मनपर्छ । बौद्धिक व्यक्तिसँग भेटेर कुरा गर्न मनपर्छ । देश विदेश घुमेर त्यहाँको वस्तुस्थिति नियाल्न मनपर्छ ।

मनपर्ने सवारी साधन ?

गाडी मनपर्छ ।

मनपर्ने पुरुष ?

कामको जिम्मेवारी बहन गर्न सक्ने, शालीन, झुट नबोल्ने, सधैँ सत्यको साथ दिने र समाजप्रति केही गरौँ भन्ने भावना भएको, हरेक कुरामा सकारात्मक सोच राख्ने र देशको माया गर्ने पुरुष मनपर्छ ।

सपना ?

यो देशको प्रधानमन्त्री बनेर देश र जनताको सेवा गर्ने सपना छ । त्यसका लागि राजनीतिमा पनि क्रियाशील छु । समय र भाग्यले पनि साथ दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप