शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण

शुक्रबार, १० माघ २०७६, १९ : ०९
शुक्रबार, १० माघ २०७६

भक्तपुर– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौ कलेजो प्रत्यारोपण गत पुष २८मा सफलताका साथ सम्पन्न गरेको छ । सर्लाहीका ६२ बर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो दान दिएका हुन । 

सो प्रत्यारोपणमा ३० जना चिकित्सक तथा नर्सहरुको टोलीको  संलग्नता थियो । भारत नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरको कलेजो विभाग प्रमुख तथा कलेजो प्रत्यारोपण विशेषज्ञ, डा. सुभास गुप्ताले भारतीय टोलीको नेतृत्व गर्नु भएको थियो भने नेपाली टोलीको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपणविद डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए । 

सो प्रत्यारोपणमा भारतबाट ५ जना प्राविधीकहरुको टोली संलग्न रहेका थियो भने नेपाली टोलिमा डा आरती राई, डा. निरज जोशी डा सञ्जय यादव, डा जयन्त कुमार शाह, डा. निभा श्रेष्ठ, डा अनिषा तिवारी, डा सपना वर्मा, डा रोशन घिमिरे,  डा कर्ण राजवंशी, डा. रश्मित श्रेष्ठ, डा अच्युत खनाल, कोपिला दहाल, बबिता लबजु, अनिता कार्की, विनिता उप्रेती लगायतको टोली संलग्न थियो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार अब  उप्रान्त कम्तीमा महिनाको  एउटा  कलेजो प्रत्यारोपण गर्ने योजना रहेको छ । 

नेपाललाई मानव शरीरको अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ मिति २०६९ वैशाख ११ गते स्थापना भएको यस केन्द्रले नेपालमा पहिलो पटक २२ मंसिर २०७३ (७ डिसेम्बर २०१६) मा गरिएको ऐतिहासिक कलेजो प्रत्यारोपण सेवा शुरु गर्नुका साथै केही समय पश्चात मस्तिष्क मृत्यु भएका व्यक्तीवाट प्राप्त मृगौलाm तथा कलेजो प्रत्यारोपण पनि सम्पन्न गरेको थियो । 

पहिलो पटकको कलेजो प्रत्यारोपणमा दक्षिण कोरीयाली विशेषेज्ञको टोलीको सहयोग प्राप्त भएको थियो साथै हप्तामा  अधिकतम ६ देखि ८ वटा सम्म मृगौला प्रत्यारोपण गर्ने गरेको यस केन्द्रले  आर्थिक बर्ष २०७५÷७६ मा १७९ जनाको मृगौला प्रत्यारोपण गरेको थियो । हाल सम्म ६८० जनाको मृगौला प्रत्यारोपण ९९% सफलताका साथ सम्पन्न गरेको यद्यपी केही सयम यता विविध कारणले प्रत्यारोपण सेवामा केही कमी  आएकोमा आगामी हप्ता देखि पुनः पूर्ण क्षमताका साथ प्रत्यारोपण सेवा सूचारु गर्ने तयारी गरेको छ ।  

हरेक बर्ष नेपालमा करीब १,००० जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ । नेपालमा करीब २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गर्दछ भने भारत तथा अन्य बिकसित देशहरुमा कलेजो प्रत्यारोपण गर्दा करीब १ करोड देखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान छ । 

एक अध्ययनका अनुसारका नेपालमा करीब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ भने करीब १० हजार जनामा कलेजो सम्बन्धी गम्भीर रोग लागेको (कलेजो फेल) अनुमान छ । नेपालमा कलेजो फेल हुनुको मुख्य कारण अधिक रुपमा मदिरा सेवन गर्नु हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप