मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

शनिबार, ११ माघ २०७६, १२ : ४७
शनिबार, ११ माघ २०७६

अपाङ्गता र उनीहरुको क्षमता विकासका लागि विश्वमा भइरहेको अभ्यास तथा चुनौतीका विषयमा छलफल गर्न ‘विकासात्मक अपाङ्गता’ सम्बन्धी सातौँ अन्तरराष्ट्रिय सम्मेलन बङ्गलादेशको राजशाहीमा शुरु भएको छ । 

    अपाङ्गताको क्षेत्रमा भएका गतिविधिका बारेमा आफ्ना अनुभव साटासाट गर्न नेपाललगायत विभिन्न देशका मनोचिकित्सक, मनोविद्, विज्ञ तथा मनोविज्ञानको क्षेत्रमा काम गरिरहेका व्यक्ति र अध्ययनकर्ता उक्त सम्मेलनमा सहभागी छन् । 

सम्मेलनमा नेपाललगायत मलेसिया, चीन, स्पेन, बङ्गलादेश, अमेरिका, भारत, जापान, पोर्तुगल, श्रीलङ्का र स्वीडेनका ५०० भन्दा बढी प्रतिनिधि छन् । 

अपाङ्गता भएकाको मानसिक स्वास्थ्यको अवस्था के छ, उनीहरुको अबस्थामा कसरी सुधार गर्न सकिन्छ, त्यस विषयमा एकअर्का देशको अबस्था के छ र कसरी काम भइरहेको छ भन्ने विषयमा अनुभव साटासाट तथा आएका चुनौतीलाई सामनाका लागि उपायको खोजीमा सम्मेलन केन्द्रित छ । 

    आयोजक सामाजिक वैयक्तिक विकासका लागि सहकार्य सिभ्यूस इन्टरनेशनलका अन्तरराष्ट्रिय अध्यक्ष डा काट्सुहिरो यामासिताले अपाङ्गता भएका व्यक्ति, उनीहरुको अभिभावक र संरक्षणकर्ताको सार्थक जीवनका लागि महत्वपूर्ण योगदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताए ।

    अपाङ्गताको क्षेत्रमा काम गर्ने सिभ्युस इन्टरनेशनल सन् १९७४ मा स्थापना भएको संस्था हो । संस्थाले अपाङ्गता भएकाको मानसिक स्वास्थ्य र उनीहरुको व्यवस्थापन र क्षमता विकासमा सहकार्यात्मक क्रियाकलापलाई जोड दिँदै आएको छ । 

    सम्मेलनमा नेपालबाट चार कार्यपत्र प्रस्तुत हुँदैछ । प्राध्यापक डा उषाकिरण सुब्बाले शुक्रबार नै ‘नेपालमा ज्येष्ठ नागरिकमा देखिएको उदासिनताको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरे भने आज द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले ‘दक्षिण एशियामा अपाङ्गता र आत्महत्या रोकथामको अभ्यास’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

    यस्तै त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक खेमराज भट्टले ‘निजी विद्यालयका विद्यार्थीमा परीक्षासम्बन्धी चिन्ता र शैक्षिक उपलब्धि’, र द स्कुल अफ साइकोलोजी नेपालका संस्थापक अध्यक्ष पदमराज जोशीले, ‘दक्षिण एशियामा अपाङ्गता र सांस्कृतिक लचकताको अवस्था’को विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।  

    उक्त सम्मेलनमा नेपालबाट डा ठगुन्नाको संयोजकत्वमा मनोविमर्शकर्ता एवं शिक्षक नेत्रबन्धु पोखरेल, सिर्जना श्रेष्ठ, गोपीलाल श्रेष्ठ, लुना रिजाल, विमला बडु र आशा लामाको सहभागिता छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप