शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजार : पुरानै बाटोमा फर्किएको हो कि उचाइलाई पर्खिएको ?

शनिबार, ११ माघ २०७६, १६ : ०६
शनिबार, ११ माघ २०७६

काठमाडौं । करिब २० महिनाको रेकर्ड तोड्दै आइतबार शेयर बजार परिसूचक नेप्से १३ सय ४३ को बिन्दुमा पुग्यो । तर सोमबारदेखि बजार फेरि घट्न थाल्यो । बिहीबारको अन्तिम १२ सय ९७ मा आएर बजार रोकिएकोे छ । 

नेप्से परिसूचकले सकारात्मक दिशा लिन थालेको पनि धेरै भएको छैन । अंग्रेजी नयाँ वर्षमा ११ सय ६६ अंकबाट कारोबार सुरु भएको बजारले कारोबारको १३ दिनमै १ सय ७७ अंकको उचाइ लिएको हो । पछिल्लो ४ दिन भने बजार निरन्तर रुपमा घट्दै गयो । उत्साहित लगानीकर्ताहरुको मनोविज्ञान फेरियो । बजारमा खरिदकर्ताको भन्दा विक्रेताको चाप देखिन थाल्यो । लगानीकर्ताहरु प्रश्न गर्न थाले अब बजार कता जान्छ ?

पुँजीबजारको ‘सगरमाथा’ कति अग्लो छ भन्ने कसैलाई पनि थाहा छैन । तर बजारले अहिलेसम्म छोएको चुचुरो भनेको १८ सय ८१ बिन्दुको हो । अहिले बजार १३ सय भन्दा पनि तल आएको छ । तर पुँजी बजारलाई सगरमाथा आरोहणसँग दाँज्नेहरु पनि छन्, बजारमा । शेयर लगानीकर्ता संघका उपाध्यक्ष समेत रहेका ताराप्रसाद फुल्लेलले बजारलाई त्यसैसँग तुलना गरे । 

‘जसरी हिमाल चढ्दा अलिक माथि पुगेर फर्किएर बास बसिन्छ, त्यसैगरी बजारले लिएको पछिल्लो करेक्सन थप उचाई लिने लक्षण हो,’ फुल्लेलले भने, ‘यो मूल्यमा शेयर किनेर पछुताउने दिन आउँदैन, ढुक्क भएर लगानी गर्न म लगानीकर्तालाई आह्वान गर्छु ।’ 

पुँजीबजार बढ्छ नै भन्ने तीनवटा आधार रहेको उनी बताउँछन् । पहिलो बजारमा लगानीकर्ताहरुको उपस्थिति र सहभागिता, दोस्रो नियामक र सरकारको उदारता र तेस्रो सकारात्मक वित्तीय परिसूचक । 
पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि अहिलेको शेयर बजार पहिलेकै ‘पेनिक’ अवस्थामा नपुग्ने दाबी गर्छिन् । उनले पनि बजारप्रति नियामक र सरकारको धारणा परिवर्तन भएका कारण पुरानो अवस्थामा बजार नझर्ने बताइन् । 

‘अहिले धितोपत्र बोर्डमा बजार बुझेका अध्यक्ष आउनुभएको छ, अर्थमन्त्रीको बजारप्रतिको नरम अभिव्यक्ति आएका छन्, बैंकमा तरलता पनि सहज हुँदै गएको छ, त्यसैले बजार बढेको हो’ पोखरेलले भनिन् – ‘पुस मसान्तमा सरकारी खातामा पैसा जाँदा तरलता घटेकोले बजारमा केही करेक्सन देखिएको हो ।’ 

बजारमा सहभागिता
शेयरलाई अभौतिक बनाएर कारोबार सहज बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले ४ वर्ष अघि डिम्याट खाताको अवधारणा ल्याएदेखि अहिलेसम्म १६ लाख लगानीकर्ताहरुले डिम्याट खाता खोलिसकेका छन् । एउटा प्राकृतिक व्यक्तिको नाममा २ ओटासम्म खाता खोल्न मिल्ने भएका कारण दोहोरो डिम्याट भएकालाई कटाउँदा अहिले बजारमा करिब १३ लाख लगानीकर्ता रहेको मानिन्छ । 

सूचीकृत कम्पनीका सबै साधारण शेयरधनीहरु दोस्रो बजारमा कारोबारका लागि योग्य भएपनि बजारमा कारोबार गर्न ब्रोकरसँग जोडिएका लगानीकर्ताको संख्या १ लाख ९९ हजार मात्रै छ । त्यसमध्ये पनि कतिपय लगानीकर्ताहरुले बजारका कारोबार नै गरेका छैनन् । यो आधारमा हेर्दा पहिलो बजारमा लगानीकर्ताको उपस्थिति र साक्षरता बढेको मान्न सकिँदैन । बरु पछिल्लो समय कारोबार रकममा भएको वृद्धिले सक्रिय लगानीकर्ताहरुको सक्रियता बढेको छ भन्ने चाहिँ देखाउँछ । 

बजारप्रति नियामकको धारणा 
अर्थमन्त्री युवराज खतिवडाको सम्भावित बहिर्गमनलाई आधार बनाएर पहिलोपटक बजार बढेको थियो । सत्तारुढ नेकपाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने कुनै पनि सदस्यलाई नदोहोर्याएपछि अर्थमन्त्री खतिवडा पनि पक्कै दोहोरिँदैनन् भन्नेमा लगानीकर्ताहरु ढुक्क भए । अघिल्लो वर्ष पुँजीबजारको समस्या समाधान गर्न भन्दै ५८ बुँदे सुधार अघि बढाएका र पुँजीगत लाभकरको दरलाई समेत घटाए पनि उनका अभिव्यक्तिहरुलाई बजारले रुचाउँदैन । 

तर पछिल्लो समय उनी बैंकिङ क्षेत्र र पुँजीबजारप्रति सकारात्मक बन्न थालेका छन् । शेयरमा गरिएको लगानीलाई अनुत्पादक भन्ने अर्थमन्त्रीबाट ‘शेयरबाटै दालभात खान पुग्छ’ भन्ने अभिव्यक्तिको अपेक्षा कसैले गरेका थिएनन् । बैंकका लगानीकर्तालाई ‘धेरै फाइदा खोज्ने भए व्यापार गरे हुन्छ’ भन्ने ‘बैंकले २÷४ अर्ब कमाउँदा अनौठो मान्नु पर्दैन’ भन्ने अभिव्यक्ति पनि नौलो नै हो । यस्ता अभिव्यक्तिको सकारात्मक असर भने बजारमा परेको हुनसक्छ । 

धितोपत्र बोर्डको नेतृत्वमा आएका भीष्मराज ढुंगानाकै कारण शेयर बजार बढ्यो भन्ने तर्कमा चाहिँ कुनै दम भेटिँदैन । राष्ट्र बैंक छाडेपछि बोर्डको विज्ञ सञ्चालकमा नियुक्त भएका उनले राजनीतिक लविङ गर्नुबाहेक बजारको गुणात्मक सुधारका लागि अघि बढ्ने कुनै ठोस योजना पेश गरेका थिएनन् र अहिलेसम्म पनि गरेका छैनन् । तर सबैको कुरा सुनेर अघि बढ्ने उनको स्वभाव र विवादास्पद अभिव्यक्तिबाट बच्ने उनको शैलीकै कारण उनीप्रति बजार कत्तिपनि नकारात्मक छैन । त्यसैले उनको नियुक्तिले लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक असर गर्ने काम भने पक्कै पनि गरेको छैन । 

वित्तीय परिसूचक
पुँजीबजारको प्रत्यक्ष सम्बन्ध मौद्रिक परिसूचकसँग बढी हुन्छ । आर्थिक परिसूचकले भने अप्रत्यक्ष प्रभाव मात्रै राख्छन् । ब्याजदरमा बढ्दा बजार घट्छ, ब्याजदर घटे बजार बढ्छ । किनकी बैंक निक्षेप र शेयर बजार दुबैलाई विवेकशील लगानीकर्ताले प्रतिफल आर्जनको उपयुक्त क्षेत्रका लागि रोज्छन् । उता बैंकिङ क्षेत्रले ऋणमा दिने ब्याजदर घटे बजार बढ्छ किनकी बैंकबाट ऋण लिएर बजारमा लगानी गर्ने विकल्प लगानीकर्तालाई हुन्छ । बजारका लगानीकर्ताले बैंकिङ क्षेत्रमा निक्षेप र कर्जा दुबैको ब्याजदर घटोस् भन्ने चाहन्छ । उता बजारमा तरलताको अवस्था बढोस् भन्ने चाहन्छ । 

पछिल्लो समय बैंकिङ ऋणमा घट्दै गएको ब्याजले बजारलाई पक्कै पनि सकारात्मक असर पारेकै छ । तरलता र लगानीयोग्य पुँजी घट्दै जाँदा केही बैंकहरुले बचत खातामा दिने ब्याजदर घटाउनेगरी ‘ब्याजदर तालिका’ पनि सार्वजनिक गरिरहेका छन् । यसका बाबजुद पुस मसान्तपछि सो क्षेत्रको लगानीयोग्य पुँजी र तरलता दुवै घट्यो । यो कारणले बजारमा पछिल्लो करेक्सन देखिएको चाहिँ हुनसक्छ । 

ब्याजदर, तरलता र शेयर बजारको सम्बन्ध
२०७२ साल बैशाख १२ गते गएको भूकम्पपछि एक महिनासम्म शेयरबजार खुलेन । बजार खुलेपछि यसको गिरावट थामिनसक्नु हुन्छ भन्ने अनुमानका बीचमा बजारले ऐतिहासिक रेकर्डहरु राख्न सफल हुँदै गयो । यसको कारण भनेकै तरलता हो । 

भूकम्पका कारण घर भत्किएपछि सुरक्षाकै लागि भए पनि बैंकमा धाउनुपर्ने बाध्यता भूकम्पपीडितहरुलाई भयो । त्योबेला मात्रै बैंकिङ प्रणालीमा ४० अर्ब रुपैंया थुप्रिएको थियो । राजनीतिक अस्थिरताका कारण लगानीका लागि ऋणको माग कम भएका कारण बजारमा सस्तो ब्याजमै ऋण पाउने अवस्था थियो । उता निक्षेपको ब्याजदर २÷३ प्रतिशतको हाराहारीमा थियो । जबकी मुद्रास्फीति १० प्रतिशत थियो । 
कम ब्याजदर र पर्याप्त तरलताकै कारण त्योबेला शेयर बजारमा उछाल देखिएको हो । यी दुई सूचकहरु नै बजार निर्धारणका सबैभन्दा महत्त्वपूर्ण सूचकका रुपमा पछिल्लो समय देखिएका छन् ।

शेयर बजारको चक्र
शेयर बजारमा ‘व्यापार चक्र’जस्तै प्रभाव हुन्छ । २०५० सालमा कारोबार सुरु भएको शेयर बजारले समेत त्यस्तै तेजी र मन्दीको सामना गरिरहेको छ जसलाई ‘बुलिस ट्रेन्ड’ र ‘बेरिस ट्रेन्ड’ भनिन्छ ।
 इतिहासलाई हेर्ने हो भने बजारको बुलिस ट्रेन्ड ४२ महिनासम्म रहेको तर ‘बेरिस ट्रेन्ड’ ३२ महिनासम्म रहेको देखिन्छ । तर पछिल्लो ४ वर्षमा भने बजारको बढ्ने र घट्ने क्रम छिटोछिटो भइरहेको देखिन्छ । त्यसैले यसलाई ‘बेरिस’ र ‘बुलिस’ मान्ने कि नमान्ने भन्नेमा मतैक्य पनि छैन । 

बजार किन बढ्नुपर्छ ?
कुनै पनि कारोबारमा नाफाघाटा हुनु स्वाभाविकै हो । शेयर कारोबारबाट वास्तविक रुपमा नाफाघाटा व्यहोर्ने व्यक्ति सीमित हुन्छन् । तर त्यही कारोबारबाट मूल्य गुमाउनेको संख्या असीमित हुन्छ । पुँजीबजार यस्तो प्लेटफर्म हो जहाँ एकजना लगानीकर्ताको लगानी निर्णयले हजारौंलाई असर गरिरहेको हुन्छ । 

सम्पत्तिको मूल्य बढ्दा खुसी हुनु र घट्दा दुःखी हुनु आममान्छेको स्वभाव नै हो । तर बजारमा कारोबार हुने मूल्यले व्यक्तिगत निर्णय तथा वित्तीय अवस्थालाई निर्धारण गर्ने काम समेत गर्छ । शेयर बजारको पछिल्लो ६ महिनाको मूल्यलाई बैंकिङ क्षेत्रले समेत ऋणको ‘मार्जिन’ निर्धारणको आधार बनाएको हुन्छ । उता शेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा लिएर अन्तराष्ट्रिय स्तर निर्धारण गर्ने विश्वव्यापी मान्यता समेत छ । तर त्यो भन्दैमा शेयर बजार सँधैं बढ्दैन । अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने विषय कसैको नियन्त्रण हुँदैन ।

बजारको सम्भावित दिशा
शेयर बजारको पछिल्ला केही वर्षको गतिविधि हेर्ने हो भने नेप्से परिसूचक ११ बिन्दुबाट तल झरेको देखिँदैन । यसको अर्थ नेप्सेले ११०० को बिन्दुलाई न्यूनतम आधारविन्दु मान्दै आएको मानिन्छ । वर्तमान आर्थिक अवस्थाहरु र पुँजीबजारमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थाले पनि बजारलाई सो विन्दुभन्दा तल झर्दैन भन्ने निष्कर्ष निकाल्न सकिने शेयर बजारका जानकार दिलिप मुनकर्मी समेत बताउँछन् ।   
शेयर बजार अल्पकालीन रुपमा मौद्रिक अवस्थामा निर्भर हुने भए पनि दीर्घकालमा भने समग्र आर्थिक अवस्थाकै आधारमा यो निर्धारित हुन्छ । 

अहिले बाह्य सूचकहरुमा कमजोर देखिए पनि आर्थिक वृद्धि र अन्य आन्तरिक आर्थिक सूचकहरुमा अवस्था राम्रो छ । निरन्तर ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिले देशको उत्पादकत्व र लगानीको उत्साहपूर्ण अवस्थालाई जनाउँछ । त्यसैले अहिलेको परिसूचकमा गरिएको लगानीले डुबाउने अवस्था चाहिँ देखिँदैन । तर भोलि बजार कति बढ्छ वा कति घट्छ भन्ने विश्लेषण गर्नु चाहिँ मुर्खता मात्रै हो । बजारमा मौसमी प्रभावको ठूलो अर्थ हुन्छ । यो आधारमा पुस माघ महिना अल्पकालिन लगानीको लागि उपयुक्त समय चाहिँ होइन । तर दीर्घकालका लागि गरिने लगानीमा भने पछुताउनु पर्दैन भन्ने फुल्लेलको भनाइ स्वाभाविक नै हो कि !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप