शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखका लागि काँग्रेसले कमण्डलु बोकेर आएको छैन : रिजाल

आइतबार, १२ माघ २०७६, १५ : ४७
आइतबार, १२ माघ २०७६

काठमाडौँ । नेपाली काँग्रेसले उपसभामुख पद पाउनका लागि भनेर सभामुख पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेको छ ।

सभामुख पदको निर्वाचनका लागि बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलले उम्मेदवार नउठाउने निर्णय सुनाउँदै काँग्रेस नेता सांसद मिनेन्द्र रिजालले सो कुरा बताएका हुन् ।

‘उपसभामुख पदका लागि हामीले सभामुख पदमा उम्मेदवारी नदिएका होइनौँ भन्ने प्रष्ट पार्न चाहन्छौँ,’ रिजालले भने, ‘कमण्डलु लिएर काँग्रेस संसदमा प्रस्तुत हुने छैन ।’

उनले सभामुख र उपसभामुख अलग–अलग पार्टीको हुनुपर्छ भनेर संविधानले व्यवस्था गरेको जिकिर गर्दै त्यसको मर्म र भावलाई नेपाल कम्युनिस्ट पार्टीले बुझ्नुपर्ने बताए ।

उनले यसअघि प्राविधिक रुपमा एक हुन लागेका पार्टीले सभामुख र उपसभामुख पद दुई वटै लिएर गलत गरेको उल्लेख गरे । त्यही गल्तीका कारण पुस ४ देखि शुरु भएको सभामुख चयनको प्रक्रिया माघ १२ गतेसम्म पुगेको उनले जिकिर गरे ।

‘त्यसले नेकपालाई केही शिक्षा दियो कि दिएन थाहा भएन,’ रिजालले भने, ‘तर हामीलाई भने शिक्षा दिएको छ । अहिले देशभर महिला सशक्तिकरणको आवाज सशक्त छ  । अब यसलाई कुनामा राखेर बस्न पाइदैन । यसले महिला आन्दोलनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप