शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपा–नेकपाबीचको २ बुँदे सम्झौता : अब कसरी अघि बढ्लान् यी दुई पार्टी ?

आइतबार, १२ माघ २०७६, १६ : ०१
आइतबार, १२ माघ २०७६

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच गत पुस २ गते २ बुँदे सम्झौता भयो ।  सम्झौताका सम्बन्धमा नेकपा र राजपाकै केही नेताले असन्तुष्टि जनाइरहँदा केही नेताले भने २ बुँदेको जगमा टेकेर सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । २ बुँदे सहमतिपछि नेकपा र राजपाबीच प्रदेश नम्बर २ को राष्ट्रियसभा निर्वाचनमा गठबन्धन बनेको थियो भने सोही गठबन्धन विजयी पनि भएको थियो । 

यी दुई दलबीच चुनाव केन्द्रीत गठबन्धन सम्पन्न भएसँगै राजपा नेकपा नेतृत्वको सरकारमा जाने विश्लेषण समेत भइरहेको बेला दुबै पार्टीमा आगामी गठबन्धनको आवश्यकता र औचित्यबारे बहस हुन थालेको छ ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले राष्ट्रिय सभा चुनावमा गठबन्धनले ल्याएको मतका आधार मान्ने हो भने गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले भने, ‘राजपा–नेकपा गठबन्धन मधेशी जनताबाट अनुमोदन भइसकेको छ ।’

नेकपा र राजपा नेपालले मात्र नभइ अन्य दलले पनि गठबन्धनलाई समर्थन गरेको बताउँदै उनले राष्ट्रिय सभा चुनावले गठबन्धनको औचित्यलाई थप पुष्टि गरेको दावी गरे ।

नेकपा प्रदेश २ बाट राष्ट्रियसभा सदस्यमा जितेकाहरुलाई बधाई तथा शुभकामना दिन शनिबार महोत्तरी पुगेका नेकपाका सचिवालय सदस्य एवं रक्षामन्त्री इश्वर पोखरेलले पनि नेकपा–राजपा गठबन्धनको आवश्यकतामा जोड दिएका छन् । 

राष्ट्रिय सभा चुनावमा दुवै दलको आवश्यकताले सहकार्य भएको बताउँदै उनले अब मुलुकको समृद्धिका लागि शुरु भएको अभियानलाई अघि बढाउन यो गठबन्धनलाई अझ विश्वासिलो र सुदृढ बनाउनु पर्ने कुरामा जोड दिए । 
राजपा नेपालका महासचिव मनिष सुमनले पनि नेकपा र राजपाबीच भएका दुई बुँदे सहमति अनुसार सहकार्य जारी रहेको बताए । उनले भने, ‘दुई बुँदे सम्झौताको दोस्रो बुँदामा आगामी दिनमा राजनीतिक सहकार्यहरु भइरहने उल्लेख छ, त्यो अनुसार सहकार्य कायम रहेको बुझ्नुपर्छ ।’

यद्यपी उनले अहिले पनि समाजवादी पार्टी र राजपा नेपालबीच सहकार्यको आवश्यक रहेको उनको भनाइ छ । उनले सहकार्यका लागी समाजवादी पार्टी अहिले पनि पहिलो प्राथमिकतामा रहेको भन्दै यदि समाजवादी पार्टीले नचाहेमा मात्र नेकपासँग सहकार्य अगाडि बढ्ने बताए । 

यता नेकपाका नेता भीम रावललगायत केही नेताले सम्झौताबारे प्रश्न उठाउँदै आएका छन् ।  तर, पार्टीमा त्यसको खासै प्रभाव देखिएको छैन । 

यस्तै प्रश्न राजपा नेपालका केही नेताहरुले पनि उठाएका छन् । नेकपासँग भएको दुई बुँदे सम्झौताको आडमा राजपा नेपाल सरकारमा जान लागेको भन्दै केही नेताहरुले अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवलाई ज्ञापनपत्र नै बुझाएका हुन् । 

माघ ७ गते राजपा नेपालमा उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला, वृषेशचन्द्र लाल, गोविन्द चौधरी, राजेश प्रसाद यादव र महासचिव विजयकुमार सिंहले पार्टीको संस्थागत निर्णयको माग गर्दै अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवलाई पत्र बुझाएका हुन् । उनीहरुले अहिलेकै अवस्थामा सरकारमा जान नहुने माग पनि गरेका छन् । गम्भीर विषयमा राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिनुपर्ने पनि उनीहरुको माग छ ।  

पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले राजपाले नेकपासँग गठबन्धन गरेर गल्ती गरेको बताए । उनले भने, ‘नेकपासँग राजपाले गठबन्धन गरेर गलत गरेको छ । यो गठबन्धनलाई कसैले मन पराएको छैन ।’ 

मधेश आन्दोलनको इतिहासमा राजपा नेपालले नेकपासँग गठबन्धन गरेर भूल गरेको दोहोर्याउँदै उनले मधेशी आन्दोलनका लागि यो कालो दाग भएको टिप्पणी गरे । उनले २ बुँदे सहमतिपछिको अहिलेको गठबन्धनलाई अगाडि नबढाउन पनि आग्रह गरे । 

चुनावसम्मका लागि गठबन्धन बन्नु एक हिसावले ठिकै भएपनि अब चुनाव सम्पन्न भइसकेको अवस्थामा यसलाई अघि बढाइए गल्ती हुने उनको तर्क छ ।  उनले नेकपा मधेशको एजेण्डाको विरोधी पार्टी भएको पनि आरोप लगाए । 
नेकपासँग छलफल भएको छैनः महेन्द्र राय यादव

राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादवले गठबन्धन चुनावसम्मका लागि मात्र रहेको भन्दै अहिले राजपा–नेकपाको कुनै गठबन्धन नरहेको बताए । उनले आफूहरुले उठाउँदै आएको मुद्दालाई सम्बोधन गरे मात्र नेकपासँग सहकार्य हुन सक्ने बताए । 

नेकपा नेतृत्वको सरकारमा जाने कुनै कुराकानी वा छलफल नभएको बताउँदै उनले उपसभामुखको बारेमा पनि आफूसँग कसैको कुराकानी नभएको बताए ।  ‘अरु नेताहरुले गरेका होलान् त्यो छुट्टै कुरा हो तर मैले उपसभामुखको बारेमा कसैसँग कुनै कुरा गरेको छैन’, उनले भने । 

पार्टीका केही शीर्ष नेताहरुले दिएको लिखित पत्रको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै उनले छिट्टै राजनीतिक समिति लगायत केन्द्रीय समितिको बैठक बोलाउने बताए । 

नेकपा र राजपाबीचको गठबन्धनबारे विभिन्न टिकाटिप्पणी भइरहेको अवस्थामा अब गठबन्धन टुट्छ या थप सहकार्य हुन्छ त्यो भने केही दिनको राजनीतिक घटनाक्रमले देखाउने नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप