केन्द्रीय संस्करण
बालकथा

बदला लिन कस्सिएको बछेडो !

person explore access_timeमाघ १२, २०७६ chat_bubble_outline0

 

सडक किनारको चउरमा एउटी घोडी चरिरहेकी थिई । अलि पर अग्ब्लो पाललो खुट्टाको एउटा बछेडो उफ्रदै दगुर्दै खेल्दै चरिरहेको थियो ।

सडकमा सडकै चिर्लान् कि जस्ता बडेमानका बस ट्रक एकपछि अर्को बतासिँदै हुइँकिरहेका थिए । पछि पछि भटभटे मोटरसाइकिलहरु त्यत्तिकै बतास्सिदै उछिन पाछिनमा हुइँकिरहेका थिए । कति त उछिनेर अगाडि पुग्थे । सडक किनारमा साइकिल सवारहरु भने बडो होसियारीका साथ अगाडि बढिरहेका थिए ।

घोडी सडकको यो गर्जनबाट बेखवरजस्तै देखिन्थी । उसका अगाडिका खुट्टा डोरीले बाँधेर आपसमा अल्झाइएका थिए । टाढा नजाओस् भनेर यस्तो गरिएको थियो । घोडी घाँसको एउटा गाँजबाट अर्को गाँजसम्म बुरुक्क उफ्रँदै पुग्थी र नरम नरम छानेर चर्थी । आँगमा, फिलामा बसेर टोकिरहेका झिङ्ंगा भगाउन बेला बेला पुच्छर चलाउँथी । एक महिना अघि मात्र जन्मेको उसको बछेडो गडगडाउँदै कराउँदै बतास्सिइरहेका गाडीहरुतिर रमाइलो अचम्म मानेर हेरिरहेको थियो । सोच्दै थियो बाफ रे कति ठूलो !? आश्चर्य ले मुख आँ पार्दै थियो । सेतो रङ्गको विशाल रेफ्र्रिजेरेटर ट्रकतिर आँखा पुग्यो । आमा हेर्नुस् त क्या गज्जब ! अहिले एकाएक सडकमा रङ्गी विरङ्गी फित्ताले सजाएको सुन्दर कार हेरिरहेको थियो । कारको बोनटमा एउटा चरा बसेको थियो । यसरी सजाइएको कारमा विहाका नयाँ दुलहा दुलही बस्छन् । कार देखेर बछेडो खित्का छोडेर हाँस्यो । “मम्मी हेर्नुस त कारको नाकमा चरा बसेको ! ”

आमा घोडीलाई मोटर गाडीहरु हेर्न मन पर्दैनथ्यो । यसैले आमा घोडी जानी बुझी कनै सडकतिर पिठयू फर्काएर चर्थी । यसरी घोडी यी मोटरहरुसँग उसको मित्रताको अनुभव छैन भन्ने देखाउन चाहान्थी । आमाघोडी र बछेडोका रुचिमा धेरै फरक थियो । बछेडोको नजरमा आकाश नीलो र निर्मल थियो । पानी चीसो र मीठो थियो । घाँस हरियो र स्वादिलो थियो । तर उसकी आमा घोडीलाई पानीको हरेक थोपामा डिटरजेन्टको गन्ध आउँथ्यो । हावामा पेट्रोल मोविल र डिजल ह्वास्स गनाउँथ्यो । चउरको घाँसमा थरीथरीका रासायनिक तत्त्वको स्वाद आउथ्यो । सडकका बारेमा त के कुरा गर्नु ? लगातारको घ्यार्घ्यार् र टाइँटाइँ सुनेर वाक्क दिक्क भएकी थिई । कारलाई त उ दुर्गन्ध भरिएको टिनको डब्बा ठान्थी ।

यसैले बछेडो आफ्नो अनुभव र भावनाका बारेमा एउटी बाच्छीलाई बताउन मन पराउँथ्यो । यो चन्चल चन्चल कैलो रङ्गकी बाच्छी आफ्नो बथानबाट भागेर यति टाढा यहाँ बछेडोसँगै चर्न आइपुग्थी । उसलाई फुर्तिलो र रमाइलो यस बछेडोसँग भेटेर गफसफ गदैृ चर्न रमाइलो लाग्थ्यो ।

यी दुई बालमित्रहरु आपसमा भेटेर विभिन्न कुरा गर्थे । नयाँ नयाँ कल्पना गर्थे ।

 “त्यो चम्किलो ट्रकमा चढेर सररर गुड्न पाए कस्तो मजा हुन्थ्यो होला हकि !? ” बछेडोले कल्पना गर्‍यो ।

“मलाई त डर लाग्छ !” बाच्छीले आँखा झिमझिम पार्दै भनी । “म त चढेँ भने पनि अडिन नसकेर तल खस्छु होला ” ।

“नडराऊ !  म तिमीलाई चपक्क समात्छु खस्न दिन्न नि । ” बछेडोले याल हल्लाउँदै बहादुरीको लबजमा भन्यो ।

“यसमा त म ढुक्कै छु नि ।” बाच्छीले पुनः आँखा झिम् झिम् पार्दै भनी , “तिमी कति बहादुर छौ भन्ने कुरा म अहिल्यै  यसै क्षण दगुर्दै गएर आमालाई भन्छु ।”

कैली बाच्छी बुरक्क बुरुक्क उफ्रँदै नाच्दै आफ्नी आमा भएतिर दगुरी । बछेडो पनि आफ्नी आमातिर फटाफट दगुर्‍यो । आमानिर पुगेर उभियो र उत्सुकताका साथ सडकतिर हेर्न थाल्यो ।

“हेर्नुस् !  हेर्नु्स् !! ” अचानक एक –तमासले चिच्च्यायो , “त्यो रातो ट्रकमा सिँढी ! त्यो सिँढी कसको लागि हो आमा ? ”

“म जान्दिनँ । मलाइ जान्न मन पनि छैन ।” घोडीले त्यो अनौठो हेर्दै नहेरी भुत्भुताई ।

“आमा !” बछेडो फेरी चिच्चायो हेर्नुस् ! मैले त कहिल्यै यस्तो देखेको थिइनँ ।”

अग्लो जालीदार बार लाएको एउटा बडेमानको ट्रक सडकमा बिस्तारै गुड्दै थियो । ट्रकमा घोडाहरु राखिएका थिए । सबै घोडाले टाउको निहुराएका थिए । हेर्दै उदास देखिन्थे । तिनका आँखामा डर भरिएको देखिन्थ्यो । तिनको शिर निराशा र बिचरापनले झुकेजस्तो लाग्थ्यो ।

“शुभयात्रा !” बछेडोले घोडाहरुतिर हेर्दै भन्यो । खूब घुम ! मोज गर ! मैले पनि तिमीहरुले जस्तै घुम्न पाएको भए ? आहा क्या मजा हुन्थ्यो !”

एउटा बुढो घोडाले टाउको उठायो र हिनहिनायो । तर बछेडोले उसको कुरा बुझेन ।

“उसले शायद मेरो शुभकामनाको जवाफ दिएको होला !” बछेडोले मनमनै भन्यो । नाच्दै दगुर्दै आइरहेकी कैली बाच्छी देखेर बछेडो पनि त्यतै दगुर्‍यो  र बाच्छीनिर पुग्यो ।

“ए साथी, तिमीले देख्यौ ? हाम्रा भाइ बन्धुहरु त ट्रकमा बसेर घुम्न गएका छन् नि !” स्याँ स्याँ फ्याँ फ्याँ गर्दै बछेडोले भन्यो “मैले शुभकामना दिएँ । तिनीहरु खुसी भएर हिनाहिनाए । मलाई धन्यवाद भनेका होलान् । ठूलो भएपछि म पनि त्यसैगरी घुम्न जान्छु !”

“मेरी आमा भन्दै हुनुहुन्थ्यो यी घोडाहरु वधशालातिर जाँदैछन् । तिनीहरुलाई त्यहाँ लगेर मार्दैछन् ।” बाच्छीले सुइराजस्तै शब्दमा भयङ्कर कुरा भनी ।

“ए तिनीहरुलाई मार्न लगेका हुन् ” हैरान हुँदै बछेडोले भन्यो । यसपछि केही छिनसम्म उसका आँखामा अन्धकार छाएजस्तो भयो ।

“अँ ! मार्न लगेका हुन् !! आमा भन्नुहुन्थ्यो सबै घोडालाई उमेर पुगेपछि त्यसरी नै बधशाला लगेर मार्छन् मासुका लागि ”

“धत् ! नहुँदो कुरा जथाभावी बोल्छेस् कैली ? बछेडोले आँखा राता बनायो ।

“हो, मेरो मम्मी भन्नुहुन्छ, अव तिमीहरुजस्ता घोडाको कामै छैन । कसैले तिमीहरुलाई मन पराउँदैन । यसै भएर बधशालामा लान्छन्, काट्छन् । मेरी आमा त के भन्नुहुन्छ भने घोडाको काम अब कारले गर्छन् । मोटरले गर्छन् । बसले गर्छन् । ट्रकले गर्छन् । ट्रयाक्टरले पनि गर्छन् । अनि घोडाको के काम ? हामी त गाइ ! हामी मीठो पोसिलो दुध दिन्छौं । मानिसहरु हाम्रो दूध पिउँछन् । दूधबाटै दही, नौनी, पनीर, चीज कति कुरा बनाउँछन् । हाम्रो काम मोटर ट्रकले गर्न सक्दैन । विचार गर त ! तिमीहरुसँग समाजलाई दिने कुरा नै के छ ?”

साथी बाच्छीका कुरा सुनेर बछेडो ट्वाल्ल पर्‍यो ।

“यसै भएर मेरी मम्मी भन्नुहुन्छ तिमी जस्ता घोडातिर फर्केर पनि नहेर्नू । हेर्दै नहेर्नू ।” बाच्छीले फटाफट यति कुरा गरी र भर्खर उम्रँदैका सिंङले आकाशलाई जिस्काउँदै बाच्छी आफ्नो बथानतिर दगुरी ।

बाच्छीका कुराले बछेडोलाई गहिरो चोट पर्‍यो । आफू नराम्ररी अपमानित भएको ठान्यो । अलि सम्हालिएपछि बाच्छीलाई चोटिलो जवाफ दिने विचारले गीतमा चिच्च्यायो

झुट्टी, तेरो टाउकोमा झुठ

झुट्टा व्यवहार झुट्टै ठुस

देख्लिस् तँलाई मक्खीचुस

 

बाच्छीले उसतिर फर्केर पनि हेरिन । “झुट्टी, तेरो टाउकोमा झूठ ।” बछेडोले फेरी दोहोर्‍यायो । पटक पटक दाहोर्‍यायो । उसको शुद्ध, सहज र विश्वसनीय हृदयमा चोट परेको थियो । बछेडो दगुर्दै आफ्नी आमातिर पुग्यो । आफ्नो थुतुनु आमाको तात्तातो छातीमा टाँस्यो । उसलाइ थोरै भएपनि सान्त्वना चाहिएको थियो ।

“आमा आमा, घोडाको अब कामै केही छैन ? ट्रक ट्रयाक्टर मोटर सबैले हाम्रै काम गर्छन् हो ?” बछेडोले बिस्तारै सोध्यो ।

आमाले हाँस्दै “ए हैन हैन त्यस्तो हैन । जसले भन्यो त्यो पुरै झुट्टा हो ।” भन्लिन् भन्ने बछेडोले सोचेको थियो ।

तर घोडीले दिक्क हुँदै टाउको हल्लाएर भनी “हो बावु यो साँचो कुरा हो । ”

“ए त्यसो भए ती घोडाहरुलाई ट्रकले बधशालामै लगेको हो त ?”

“तिमीलाई कसले भन्यो ?” घोडीले सतर्क हुँदै सोधी ।

त्यही कैलीले भनेकी । उ त के पनि भन्थी भने मजस्ता घोडाको अब कुनै कामै छैन । अब उ पनि मसित नखेल्ने रे ” बछेडो घुँक्क घुँक्क गर्दै रुन लाग्यो ।

घोडीले लामा लामा तडीवाला आफ्नो छोरो बछेडोलाई माया ममता र करुणाले हेरी । ‘जीवनको यो कटु सत्य अचानक पोखिएछ । कलिलो कमलो हृदयमा यो खपिनसक्नुकै भार हो !’ घोडीले मनमनै सोची ।

साँझ अस्तबल फर्केपछि घोडीले आफ्नो छोरालाई घोडाका शानदार अतीतका सारा घटना कथाहरु सुनाई । उसले कहिल्यै नदेखेको नसुनेको अचम्म लाग्दा कथा सुनाई जुन कथाका नायक नायिका आफ्नै पराक्रमी पुर्खाहरु थिए ।

आमाका कुाराले बछेडाको मन अलिकति हलुका भयो । राति मजासँग सुत्यो । विहान ब्युँझँदा सधैँ जस्तै मन प्रसन्न थियो  । उ उठेर मैदानतिर दगुर्‍यो । चक्कर लगायो ।आफ्नो किसिमले नाच्यो पनि । यसरी बछेडो त्यो अहङ्कारी बाच्छी नआउँदासम्म नाचिरह्यो । बाच्छीलाई नजिकै देख्नासाथ जर्किएर भन्यो, “ल, अव तिमी पनि सुन !” मेरो ममी भन्नु हुन्छ “घोडाको इतिहास बडो शानदार छ । त्यस्तो शानदार अतीत कुनै गाईको न कहिल्यै थियो न कहिल्यै हुने वालाछ । मेरो मम्मी के पनि भन्नुहुन्छ भने पुरानो जमानामा घोडाहरु ठूला ठूला लडाइँहरुमा भाग लिन्थे । बहादुरी साथ आफ्ना योद्धाहरुको संरक्षण गर्थे । बहादुरी देखाउँदा  देखाउँदै  कति घोडा शहीद पनि भए । घोडाहरुको नाम इतिहासमा अमर छ । हाम्रा पुर्खाहरु, आँधीको वेगमा उड्थे । टाढा टाढाबाट विजयका समाचार ल्याउँथे । मम्मी के पनि भन्नु हुन्छ भने शक्तिशाली   राजघरानाहरुमा उपहारकै क्रममा पनि सबैभन्दा मूल्यवान् मानिन्थ्यो घोडा । घोडाभन्दा मूल्यवान् उपहार केही हुन्थेन । घोडाहरु शूरवीरहरुका लागि युद्धका आधार थिए, सवारीका शोभा थिए, अनि किसानका लागि होनहार मित्र थिए । खेतवारी जोत्न, सम्याउन, बाली ओसार्न मद्दत गर्थे । समाजमा घोडाहरुको ठूलो इज्जत थियो ।”

मम्मी भन्नु हुन्छ, “पहिले पहिले हाम्रो गलामा सुनको घण्टी झुण्ड्याइन्थ्यो । हाम्रो पिठ्यूँमा राख्ने  साजसामान  कडा, नरम र मूल्यवान् छालाको हुन्थ्यो । त्यसमा सूनका फूल पात लहरा कढाइ गरिएको हुन्थ्यो । यात्रामा र युद्धका मैदानहरुमा हामी घोडाहरु आफ्ना मानिसको डटेर साथ दिन्थ्यौँ, अभर पर्दा खटेर रक्षा गर्थ्यौं । यदाकदा जङ्गल हुँदोका सडकमा कतै हिंस्रक हुँडारका बथानले हाम्रो गाडीमा आक्रमण पनि गर्थ्यो। त्यस्तो वेला हाम्रा लामा लामा तडीका खुट्टामा  अभूतपूर्व तागत आउँथ्यो । हामी वायुवेगले कुदेर हुँडारको  पहुँचभन्दा टाढा पुग्थ्यौं । बच्थ्यौंऽ बचाउँथ्यौँ ।” मेरी ममीले अर्को एउटा चाखलाग्दो  कुरा पनि भन्नुभएको छ—

वहाँ भन्नु हुन्छ— “दौडका हटठाकट्ठा फुर्तिला  घोडाहरु आज पनि घोडे जात्रामा दगुरेर दुनियाँलाई छक्क पार्न सक्छन् । कुन कुन  घोडाले दौड जित्छ त्यसमा दर्शक दुनियाँले प्रशंसाको ताली दिन्छ ।”

“अँ, यो पनि सुन ।” मम्मी भन्नु हुन्छ– “वाँ गर्दै कराउनु र घाँस खानु उग्राउनुबाहेक गाईले केही गतिलो काम गर्न सक्दैन । यति मात्र होइन,  आफ्ना बाच्छा बाच्छीले चुस्नु पर्ने दूध तिनै बाच्छा बाच्छीलाई  नदिएर  अरुले दुहेर खाँदा पनि गाईले केही गर्न सक्दैन । तिमीहरुको पुरानो इतिहास बडो गन्जागोल छ । खै तिमीहरुका अतीतको कुनै  उत्साजनक उदाहरण छैन । अहिल्यै पनि समाजमा तिमीहरुको के इज्जत छ र ?”

एक छिन त वाच्छी अकमक्क नै परी । के भन्ने के भन्ने  सोच्नै सकिन । एक छिनमा  सम्हालिई । अनि कराई –“पख, अहिल्यै गएर म मेरी मम्मीलाई भन्छु,।  मसँग तिमी यसरी हुँदोनहुँदो कुरा गर्ने ? गाई सुस्त र भूँडीवाल हुन्छन् । बाँ गर्ने र उग्राउने  बाहेक कुनै गतिलो  काम गर्न सक्दैनन् । भन्या हैन तिमीले ? मेरी मम्मीले गोरुबाबासँग यो सबै भनिदिन्छिन् अनि बाबाका  तीखा सिङले तिमीलाई स्वाद चखाइदिन्छ । यदि तिक्खर स्वाद कि तिमी जीवन भर  कहिल्यै बिर्सने छैनौ ।”

 “कुरौटे कहीँकी !” बछडाले तिरस्कार  भावका साथ भन्यो ।

कैली बाच्छीले एक छिन बुद्धि खेलाई  र भनी, “तिमी के के न भनें भन्छौ । आफ्नो  इतिहासको धाक  नलाऊ बुझ्यौ ? गर्छौ भने हिजोआजको कुरा गर न । हिजोआज तिमीहरुको काम सवै मेसिनले गर्छ । कार, बस, ट्रक, ट्रयाक्टरले गर्छ तिमीहरुको काम । घोडाहरु लडाईंका मैदानमा डटेर बहादुरी देखाउन सक्छन् भने तिमी ट्रक र ट्रयाक्टरका अगाडि पर्न किन सक्दैनौ ? तिमी त ट्रक ट्रयाक्टर देखेर डराउँछौ । मुकाबिला गर्न सक्दैनौ । हो कि होइन ?”

यस पटक बछेडोले केही भन्न सकेन । दिक्क हुँदै जमीनमा खुट्टा बजार्‍यो र पुच्छर फट्फटायो ।

कैली बाच्छी पनि फनक्क घुमी र दबेको चालले आफ्नी आमाभएतिर गई । कैलीको व्यङ्ग्यपूर्ण भनाइहरु बछेडाका मनमा तीखा काँडा बनेर बिझिरहेका थिए । ‘उ तत्काल कस्सिएर कैलीसित झगडा गर्न सक्थ्यो । रिसाउन सक्थ्यो । तर त्यसो गरेन । कैलीका कुरामा पनि आंशिक सत्य त थियो नै । आखिर घोडाहरुले आजसम्म यी ज्यानमारा मसिनहरुको विरोध कि नगरेका ? मसिनका विरुद्ध घोडाहरुले एक पटक पनि आवाज घन्काउन सकेका छैनन् । उसकी मम्मी सडकमा हुइँकिने कार बस ट्रकतिर आँखा उठाएर हेर्न पनि चाहँदिनन् । अर्कोतिर मुख फर्काएर चर्छिन् । यो त ठिकै हो । तर मोटर कार ट्रक बसहरुलाई उनको यो पीठफर्काइबाट के फरक पर्छ र ? यसबाट केही फरक पर्दैन ।’

बछेडोको मन तड्प्यो । उसलाइ लाग्यो घोडाहरुको कुलीनता र प्रतिष्ठाका लागि केही गर्न नसक्नुमा उ पनि जिम्मेवार छ । उसले यसपटक कैलीका व्यङ्ग्यपूर्ण भनाइहरु आमालाई पनि भनेन । उसलाई लाग्यो, ‘कुरा त कैलीका पनि सबै गलत होइनन् । हामी घोडाहरु हुतिहारा भएकै हो । जीवनमा आवश्यकता पर्दा हरेकले आफ्नो फैसला आफै गर्न सक्नुपर्छ । अरुलाई पर्खने हैन ।’ चरनमा उभिएर उ अब सडकमा हुइँकिइरहेका गाडीहरुलाई अर्कै नजरले हेर्न थाल्यो । उ गहिरो सोचमा डुब्यो । उसको कलिलो बुद्धिमा एउटा विचार उम्ल्यो । उ तुरुन्तै उफ्रे्रेर पक्की सडकतिर दगुर्‍यो ।

“कहाँ जाँदै छौ ?” आमाघोडीले चेतावनी दिँदै भनिन् । “त्यता नजाऊ ! खतरा छ फर्क । अस्तबल फर्क । ”

तर बछेडोले सुनेन । उसले बुरुक्क उफ्रे्रेर खाडल पार गर्‍यो । सडकमा पुग्यो । सडक किनारमा उभिएर सडकमा भागदौड गरिरहेका गाडीहरु हेर्न लाग्यो । मानौ उ कसैको प्रतीक्षामा छ । धेरै बेरसम्म प्रतीक्षा गर्दै उभियो । त्यसै बेला उसले अलिपर सडमा मोटरहरुको सरदारजस्तो बडेमानको  मोटर चाँदी रङ्गे रेफ्रिजेरेटर ट्रक देख्यो । धेरै ठूलो थियो त्यो ट्रक । जब ट्रक उसको नजिकै आइपुग्यो बछेडो बुरुक्क उफ्रेर बीच सडकमा पुग्यो र बाटो रोकेर ट्रकका अगाडि ठिङ्ग उभियो । उसका लामा तडीका पातला खुट्टा फट्टिएका थिए । छाती तन्केको थियो । आँखा क्रोधले तम्तमाउँदा देखिन्थे । उ साँच्चै चुनौतिको मुद्रामा थियो ।

ट्रक डाइभरले देख्यो ‘एउटा बछेडो ट्रकको बाटोमा उभिएको छ । उभिएको मात्र छैन हमला गर्ने ताकमा उभिएको छ । हमला गर्नै लागेको छ !’ डाइभर हडबडायो । उसले जोरसित ब्रेक लगायो र छिटोछिटो स्टेयरिङ घुमाउन थाल्यो । तर अनायास चिप्लेर गाडी खाडलतिर गयो । घडडड घडयाम्म आवाज गर्दै पल्टियो ।

ट्रकका बडे बडे पाङ्ग्रा केही बेरसम्म घुमि नै रहे । जब पाङ्ग्रा घुम्न छाडे सडकमा सन्नाटा छायो । अलि पर आमा घोडी ढुङ्गाजस्तै निश्वल उभिएकी थिई । गाइको बथानले घाँस चर्न छोडे । बडेमानको गोरु पनि आँखा तानी तानीकन त्यो उत्तानटाँग ट्रकलाई हेर्न थाल्यो । जो भयानक सुनामीले उखेलेर फ्याँकेको अजीव जीव जस्तो देखिइरहेको थियो ।

बछेडो त्यहीँ उभिइरह्यो । उसका चारै खुट्टा टाढाटाढा फैलिएर दह्रोसित टेकि रहेका थिए । तर यी खुट्टा अहिले घोडाको पुच्छर जस्तै थर्थर काँपिरहेका थिए । उसले हैरानीसाथ आँखा झिम्म गर्‍यो। उसलाई यति ठूलो हङ्गामा उसैले खडा गरेको भन्नेमा विश्वास भइरहेको थिएन । अरु मोटर गाडीहरु उल्टेको ट्रक नजिकै आएर नरोकिएका भए उ अझै कतिबेर त्यहाँ त्यसरी नै उभिइरहन्थ्यो ।

अचानक उसलाई लाग्यो अव म यहाबाट हट्नुमै कल्याण छ । उ फरक्क फर्किएर चरन चउरतिर दगुर्यो । आफ्नी आमासित टाँस्सिएर उभियो ।

आमाघोडी र बछेडोले देखे, मानिसहरुले बडो मुस्किलसँग ड्राइभरको क्याविन खोले । ड्राइभरलाई घिसार्दै बाहिर निकाले । बाफ्रे बाफ् डाइभर त रिसले चूर थियो । पर चरनसम्म पनि उसको क्रोध गर्जन गुन्जिन पुगेको थियो । उ तमाम घोडालाई गाली दिदै थियो । घोडा घोडी बछेडो सबलाई गाली दिँदै थियो  ।

ड्राइभरले उठेर चारैतिर आँखा घुमायो । उसले अपराधी ठानेको बछेडोलाई देख्यो । देख्नासाथ मोटो डण्डा उठायो र चउरतिर दगुर्‍यो ।

“भाग, भाग, छिटो भाग !” आमा घोडीले बछेडोलाई भनी र थुतुनोले घँचेटी । बछेडो ज्यान जोगाउन भाग्यो ।

ड्राइभरले परसम्म त पिछा गर्‍यो। हावासितै बत्तिएर पैयाँ छेड्ने बछेडालाई भेट्टाउनु उसको बुताबर्गतको सक्ने कुरा थिएन । गाली बर्बराउदै फक्र्यो । छिट्टै एउटा कारमा बसेर नजिकैको गाउँतिर लाग्यो । त्यहाँबाट सहायताका लागि कतै फोन गर्नु थियो ।

झण्डै टाउकोमा बर्सन लागेको डण्डाको खतरा टर्‍यो ।  बछेडो दगुर्दै गाइको बथानमा पुग्यो । गाइ र गोरुहरु घाँस चर्दै भर्खरको सडक दुर्घटनामाथि बहस गर्दै थिए । तर कैली बाच्छी तुल्बुलाएकी थिई । उ बछेडोको प्रतीक्षामा थिई । बछेडोलाई देख्नासाथ त्यतै दगुरी ।

“मम्मी भन्नुहुन्छ .............”

बछेडोले उसका कुरा सुन्यानसुन्यै गर्‍यो । उ दण्डित हुनबाट बचेको थियो । उसका थर्थराएका खुट्टा अब स्थिर भएका थिए । आज उसलाई आफूमाथि गर्व थियो ।

“मम्मी भन्नुहुन्छ .............” कैली बाच्छीले भनी तिमीले यो मुर्खता गर्‍यौ । आज कि तिमी मर्थ्यौ  त ड्राइभर मर्थ्यौ । ड्राइभर मरेको भए ”.............  एकछिन् चूप लागेर कैलीले भनी “तर मेरो विचारमा तिमी संसारमा सबैभन्दा पराक्रमी बछेडा हौ ।”

बछेडो चुप रह्यो । केही बोलेन । उ टाढा टाढा कतै आँखा गाडेर  हेरिरहेको थियो । अतीतको एउटा भव्य चित्र ! युद्ध भूमिमा सिधै दगुर्दैको एक चुस्त घोडा आफ्नो पिठयुँमा एक घाइते योद्धालाई बोकेर दगुरेको छ । उसले देख्यो तीन घोडाबाला वग्गी गुडेर आउँदै छ । हुँडारको बथान त्यसको पिछा गरिरहेको छ । उसले के पनि देख्यो भने रातको बेला छ । घोडाहरु चरनमा चरिरहेका छन् । अर्कोदिन  गर्नुपर्ने  कठोर मेहनतका लागि  तैयार हुँदैछन् । उसले घोडादौड अर्थात् घोडेजात्राको मैदान देख्यो । फुर्तिला घेडाहरुको  दौड देख्यो । उसले एक किसानमैत्री घोडाले अजङ्गको हलो  तानेर किसानको खेत जोतिरहको पनि देख्यो । उसलाई  लाग्यो उ आज घोडाहरुको गौरवशाली  अतीतलाई आँखा अगाडि झल्झली  देखिरहेको छ ।

कथाकारःविताउते जिलिन्स्काइते

साभारः छतपर फँसगया बिल्ला और तीन कहानियाँ, अनुराग ट्रष्ट ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.