शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको नमूना परीक्षण नेपालमै शुरु: यकिन नतिजाको लागि रगत हङकङ नै पठाउनुपर्ने

सोमबार, १३ माघ २०७६, १५ : ५८
सोमबार, १३ माघ २०७६

काठमाडौं । चीनको वुहानबाट देखापरेको नयाँ किसिमको कोरोना भाइरसको संक्रमण परीक्षण अब स्वदेशमै हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षण परीक्षण गर्ने गर्ने किट भित्र्याएसँगै त्यसको उपचार प्रक्रिया नेपालमै हुने जानकारी दिएको छ । 

योसँगै कोरोना भाइरसको लक्षण देखिएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै परीक्षण हुने भएको छ । चीनमा महामारीको रुपमा लिँदै हालसम्म ८१ जनाको ज्यान लिइसकेको कारोना भाइरसको लक्षण अन्य भाइरस संक्रमणजस्तै हुने गर्छ । हालसम्म नेपालमा उपलब्ध प्रविधिका आधारमा नयाँ कोरोनाभाइरसको संक्रमणको परीक्षण हुन सम्भव थिएन । तर नेपालमा पनि कोरोनाभाइरसबाट संक्रमितहरु देखापर्न थालेपछि तत्कालका लागि १ सय जना बिरामीको परीक्षण गर्न सकिने कोरोना भाइरस प्राइमर किट ल्याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

नोबेल कोराना भाइरसकै संक्रमण भएको हो भनेर कोरोना भाइरस प्राइमर किटबाट मात्रै चाहिँ पूर्ण रुपमा ठोकुवा गर्न नसकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।  ‘रगत परिक्षण गरिने क्रममा भाइरसमा कोरोनामात्रै देखिएर हुँदैन,’ नाम नबताउने शर्तमा एक चिकित्सकले रातोपाटीलाई बताए, ‘चीनमा महामारीको रुप लिएको कोरोनाभाइरस नै हो कि होइन भन्ने यकीनका साथ भन्नका लागि थप परीक्षण गरिनुपर्ने हुन्छ ।’

विश्व स्वास्थ्य संगठनसँग समवन्य गरेर हङकङको हेल्थ युनिभर्सिटीमा स्याम्पल परिक्षण गरेपछि मात्रै पूर्ण रुपमा कोराना भाइरस  भएको पत्ता लगाउन सकिने उनले बताए । तर सो किटले संक्रमितको प्रारम्भिक ‘स्क्रिनिङ’ गर्न भने सहयोग पुग्ने छ । स्मरणरहोस्, उक्त किट  भाइरस अनुसन्धान गर्ने संस्था ‘सीएमडीएन’सँग उधारो मागेर ल्याइएको हो र १०० जनाको परीक्षण गर्न पुग्ने सो किट आजै मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको हो । यसबीच सरकारले उक्त किट किनेरै ल्याउनको लागि पनि प्रक्रिया थालिसकेको छ ।

टेकुस्थित शुक्रराज अस्पतालमा भर्ना भएका दुई जनालाई कोरोना भएको शंका स्याम्पल परीक्षणका लागि हङकङ  पठाइएको छ ।  कोरोनाभाइरसको संक्रमणलाई रोक्नको लाग सरकारले त्रिभुवन विमानस्थलमा निगरानी बढाएको छ । हवाई मार्गबाट आउने पर्यटन तथा यात्रुबाट नोबेल कोरोना भाइरस नेपालमा प्रवेश गर्न सक्ने जोखिम बढिरहेकोले विमानस्थलमा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विमानस्थलमा भएको थर्मल स्क्यानरले यात्रुहरुको शरीरको तापक्रमको स्वचालित रुपमा मापन गर्ने र भाइरल संक्रमणको शिकार भएका फेला परेमा निजलाई अल्ग्याइ थप परीक्षण गरिने र  समस्या देखिएका यात्रुलाई थप उपचारको लागि अस्पताल लैजाने व्यवस्था गरिएको छ । चीनबाट स्थलमार्ग र हवाई मार्ग हुँदै आउने यात्रु तथा पर्यटकलाई चेकजाँच गर्ने विशेष व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप