बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पैसा पठाउँदा कुन देशबाट कति लाग्छ खर्च ?

सोमबार, १३ माघ २०७६, २१ : १८
सोमबार, १३ माघ २०७६

काठमाडौं । मलेसियाबाट नेपालमा पैसा पठाउन अरु देशभन्दा सस्तो पर्ने गरेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विप्रेषण आप्रवाह सम्बन्धी रिपोर्ट अनुसार नेपालमा पैसा पठाउन मलेसियाबाट सबैभन्दा सस्तो पर्ने गरेको देखिएको हो । 

मलेसियाबाट नेपालमा १०० रुपैंया पैसा पठाउँदा औसत ३ रुपैंया ४० पैसा लाग्ने रिपोर्टमा उल्लेख छ । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) बाट ४ रुपैंया, कतारबाट ४ रुपैंया ३० पैसा, साउदी अरबबाट ४ रुपैंया ६० पैसा लाग्ने गरेको छ भने अमेरिकाबाट पैसा पठाउँदा ५ रुपैंया ४० पैसा लाग्ने गरेको रिपोर्टमा उल्लेख छ । 

नेपालको यो लागत भारत र बंगलादेशको तुलनामा बढी हो । भारतमा कतारबाट पैसा पठाउन लाग्ने शुल्क महँगो देखिए पनि अन्य मलेसिया, युएई, साउदी अरब र अमेरिकाबाट रेमिट्यान्स पठाउन सस्तो पर्ने देखिएको छ ।

भारतमा पैसा पठाउन मलेशियाबाट २ रुपैंया ९० पैसा,  युएईबाट २ रुपैंया ३० पैसा, कतारबाट ४ रुपैंया ५० पैसा, साउदी अरबबाट ४ रुपैंया ४० पैसा र अमेरिकाबाट २ रुपैंया ७० पैसा लाग्छ । 
बंगलादेशमा पैसा पठाउन भने सबै देशबाट नेपालमा भन्दा सस्तो पर्छ । मलेसियाबाट बंगलादेश पैसा पठाउँदा प्रति १०० रुपैंया बराबर ३ रुपैंया १० पैसा पर्छ भने युएईबाट २ रुपैंया मात्रै पर्छ । त्यस्तै, कतारबाट ४ रुपैंया १० पैसा साउदी अरबबाट ३ रुपैंया ५० पैसा तथा अमेरिकाबाट ४ रुपैंया ८० पैसा पर्ने रिपोर्टमा उल्लेख छ । 

भारतको हिस्सा १६ प्रतिशत

नेपालमा आउने कुल विदेशी मुद्रामध्ये १६ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको नेपाल राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । नेपालमा अघिल्लो आर्थिक वर्षमा जम्मा ८७९ अर्ब बराबर विदेशी मुद्रा भित्रिएकोमा १२८.५ अर्ब भारतबाट आएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । त्यसमध्ये ३८ अर्ब रुपैंया औपचारिक माध्यमबाट आउने अनुमान राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नेपालमा साना दरका भारतीय मुद्रा चल्ने भएकोले भारतबाट आउने नेपालीले साना नोट सटही गरेर ल्याउने गरेकोले त्यस्तो रुपैंया आउने गरेको भन्दै त्यस्तो रकम अघिल्लो वर्ष ३८ अर्ब जति भएको अनुमान गरेको बताए । 

नेपालमा प्रत्येक वर्ष विदेश जाने कामदारको संख्या घट्दै गएसँगै रेमिट्यान्सको वृद्धिदर खस्किँदै गए पनि नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको प्रभाव भने अझै बलियो छ । अघिल्लो वर्ष मात्रै नेपालको रेमिट्यान्सको आकार नेपालको कुल ग्राहस्र्थ उत्पादनको २५.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप