शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अर्ग्यानिक  नगर बनाउन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको निर्माण

मङ्गलबार, १४ माघ २०७६, ०८ : ५३
मङ्गलबार, १४ माघ २०७६

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालन गर्न लागिएको कम्पोष्ट मल तथा वायोग्याँस उद्योगको काम अन्तिम चरणमा पुगेको छ । 

पन्ध्र वडा रहेको यस नगरपालिकालाई पूर्णरुपमा अग्र्यानिक नगर बनाउने उद्देश्यले शुरु गरिएको उक्त निर्माणाधीन कम्पोष्ट मल तथा वायोग्याँस उद्योगका लागि आवश्यक मेसिन जडान यसै महिना सकिने र त्यसपछि कम्पोष्ट मल र वायोग्याँस उत्पादन शुरु हुने जनाइएको छ ।

उद्योगका लागि विद्युत्बाहेक सबै संरचना निर्माणको काम सम्पन्न भइसकेको र यही माघको अन्तिमसम्ममा सञ्चालनमा ल्याउने तयारी भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । “विद्युत्को पोल, तार तथा ट्रान्सफर्मरलगायतका सबै सामान तयार गरी जडानको काम धमाधम भइरहेको छ”, उनले भने, “विद्युत्को काम सकिनासाथ उद्योगबाट कम्पोष्ट मलका साथै वायोग्याँस उत्पादन शुरु हुन्छ ।”

नगरपालिकाले आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण अग्र्यानिक बनाउन यो योजना सञ्चालन गरिएको नगरप्रमुख रिजालले बताएका छन् । “आगामी पाँच वर्षभित्र नगरक्षेत्रलाई पूर्ण अग्र्यानिक बनाइनेछ”, उनले भने, “यसका लागि नेपाल सरकारले दिने विशेष अनुदानवापतको रु तीन करोड ३२ लाख लगानी गरिएको छ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार तथा आसपासको फोहरलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमूत्रलाई प्रयोग गरेर वायोग्याँस उत्पादन गर्दै अग्र्यानिक नगर बनाउने अभियान थालिएको नगरप्रमुख रिजालले बताए । “उत्पादित ग्याँसलाई सिलिण्डरमा भरेर भान्छामा उपयोग गर्ने र बाँकी रहेको फोहरमैलालाई मलकै रूपमा प्रयोग गर्ने योजना बनाएका छौँ”, उनले भने, “यसले नगरपालिकालाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै अग्र्यानिक नगर बनाउन टेवा पुग्नेछ ।”

उद्योगका लागि काठमाडौँस्थित पर्मा कल्चर समूहले सामग्री ढुवानी र जडानको जिम्मा लिएको नगरपालिकाले जनाएको छ । चीनमा बनेको उक्त मेसिनले प्रतिघण्टा एक टन कम्पोष्ट मल उत्पादन गर्ने प्राविधिक गणेश सिङ्केमनले बताएका छन् ।  

कम्पोष्ट मल उत्पादनपछि नगरक्षेत्रमा अग्र्यानिक अभियान शुरु हुने र पूर्णरुपमा रासायनिक मललाई रोक लगाइने नगरप्रमुख रिजालले बताए । “उद्योगबाट उत्पादित कम्पोष्ट मल प्रयोग गर्दै नगरक्षेत्रमा पूर्णरुपमा अग्र्यानिक कृषि उत्पादन गरेर विश्वबजारसम्म पु¥याउने लक्ष्य राखिएको छ”, उनले भने, “यसले नगरपालिकाको आर्थिक समृद्धिमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

१० स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकाका थुप्रै वडा यसअघि नै अग्र्यानिक वडा भइसकेका छन् । 

नगरपालिकाको वडा नं ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथलालगायतका वडा अग्र्यानिक बनिसकेकाले अब अन्य वडासमेत पूर्णरूपमा अग्र्यानिक बन्ने प्रक्रियामा रहेको जनाइएको छ ।

कम्पोष्ट मलको विकल्पविना पूर्णरुपमा अग्र्यानिक बनाउन नसकिने भएकाले कम्पोष्ट मल उत्पादन शुरु गरिएको नगरपालिकाले जनाएको छ । विशेष प्राथमिकताका साथ अघि सारिएको अग्र्यानिक नगर बनाउने अभियानअन्तर्गत यसअघि सम्बन्धित सरोकारवाला व्यक्तिसँगको सहभागितामा रासायनिक मल तथा विषादी प्रयोगले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा छलफल तथा अन्तक्र्रियासमेत गरिएको थियो ।
 
जिल्लाको सदरमुकामसमेत रहेको नगरपालिकालाई व्यवस्थित ढङ्गले अग्र्यानिक नगर बनाउने अभियानअन्तर्गत रासायनिक मलको अनुदानमा रोक लगाउँदै कम्पोष्ट प्लान्टको विकल्प सँगसँगै अघि सारिएको नगरप्रमुख रिजालले बताए । नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले निःशुल्क उपलब्ध गराएको जग्गामा कम्पोष्ट मल तथा वायोग्याँस उद्योग सञ्चालन गर्न लागिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप