बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँकै क्याम्पसमा निःशुल्क पढाइ : शहरका विद्यार्थी फर्कन थाले

मङ्गलबार, १४ माघ २०७६, १० : ११
मङ्गलबार, १४ माघ २०७६

गुल्मी ।  गुल्मीको धुुर्कोट गाउँपालिका वडा नम्बर ४ घर भएकी पुष्पा पोखरेल बुटवलस्थित बुटवल बहुमुखी क्याम्समा स्नातक प्रथम वर्षमा अध्ययनरत थिइन् । अहिले घर नजिकै वस्तुमा रहेको धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्समा निःशुल्क पढाई सुरु भएपछि बुटवल बहुमुखी क्याम्पस छाडेर गाउँ मै फर्केर सोही क्याम्पसमा भर्ना भएर पढ्न थालेकी छन् । बुटवलमा बसेर पढ्दा खर्च थेग्न मुस्किल परेको स्मरण गर्दै पोखरेलले भनिन्, ‘अहिले मासिक शुल्कसमेत तिर्न नपरेपछि पढ्न निकै सजिलो भएको छ  ।’ 

दुई वर्षअघि कक्षा १२ को अध्ययन पुरा गरे पनि आर्थिक अभावका कारण थप अध्यान अगाडी बढाउन नसकेका गुल्मीकै ईस्मा गाउँपालिका वडा नम्बर–४ दोहलीका  हुमबहादुर बस्नेत सदरमुकाम तम्घासमा बसेर पढ्न आर्थिक समस्या परेपछि विदेश जाने तयारीमा थिए । जब धुर्कोट परमानन्द बहुमुखी क्याम्पसले यस शैक्षिक सत्रदेखि निःशुल्क पढाई हुने सूचना प्रवाह ग¥यो, त्यसपछि उनी सोही क्याम्पसमा भर्ना भएर पढ्न थालेका छन् ।

जिल्ला कै विकट गाउँ मालिका गाउँपालिका वडा नम्बर–३ ह्वाङ्गदीका विष्णु घिमिरे र उनकी बहिनी कमला घिमिरे कक्षा १२ पास गरेको दुई वर्ष यता आर्थिक अभावका कारण सदरमुकामको क्याम्समा भर्ना हुन सकेका थिएनन् । दाजु घिमिरे भन्छन्, ‘म बहिनीलाई क्याम्पस पढाउने सोचका साथ विदेश जाने तयारी गर्दै थिएँ, एक दिन रेडियोमा धुर्कोटको क्याम्पसमा निःशुल्क पढाई हुने सूचना सुने त्यसपछि दुई दाजु बहिनी आएर स्नातक प्रथम वर्षमा भर्ना भएर पढ्न थालेका छौँ ।

धुर्कोट गाउँपालिका–५, वस्तु बाँसटारीकी हेमा विकको आर्थिक अवस्था पनि दयनीय भएकोले कक्षा १२ पास गरेपछि क्याम्पस पढाउन नसकेर उनको परिवारले विवाह गराइदिने सोचमा थिए । धुर्कोटको क्याम्पसले निशुल्क पढाउन सुरु गरेपछि अहिले हेमा पनि पढ्न थालेकी छिन् । ‘क्याम्पस पढ्ने सपना नै मैले त्यागी सकेकी थिएँ,’ हेमाले भनिन्, ‘सबै कुरा यस क्याम्पसमा निःशुल्क भए पछि क्याम्पस पढ्ने मेरो सपना पुरा भयो ।’

उनका बाबु ज्ञानबहादुर बस्नेत भन्छन् –‘सदरमुकाम तम्घास लगेर पढाउने मेरो हैसियत थिएन । छ महिना पनि खान नपुग्ने जमिन छैन । मैले घर निर्माणको मजदुरी गरेर ३ सन्तानलाई हुर्काउँदै र पढाउँदै आएको छु । छोरीलाई उच्च शिक्षा हासिल गराउने मेरो सपना धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसले पुरा गरि दिएको छ ।’

सदरमुकाम कै विद्यार्थीसमेत धुर्कोट आउन थाले

उता, सदरमुकामको रेसुङ्गा बहुमुखी क्याम्पसमा पढ्न पायक पर्ने रेसुङ्गा नगरपालिकाका विजय पोखरेल र हिराप्रसाद श्रेष्ठ पनि धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा स्नातनक प्रथम वर्षमा भर्ना भएका छन् ।  उनीहरुलाई मासिक शुल्क मात्र मिनाह छैन, घर टाढा भएकोले क्याम्पस नजिकै बस्ने कोठासमेत निःशुुल्क गरिएको छ । 

धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु जिल्लामा शिक्षाको ज्योति छर्ने पहिलो गाउँ मानिन्छ ।  त्यसैलाईमध्ये नजर गर्दै स्वर्गीय परमानन्द भण्डारी, पूर्व सांसद रुद्रमणी  शर्मा भण्डारी, ढुण्डिराज शर्मा भण्डारी , तत्कालिन एमालेका जिल्ला पार्टी अध्यक्ष टोमलाल पाण्डे, पूर्व सांसद टङ्क पोखरेललगायका अगुवाहरुले गरीब, विपन्न र पछाडी परेको समुदायलाई  उच्च शिक्षाको पहुँचमा पुराउने उद्देश्यका साथ आज भन्दा ११ वर्षअघि वस्तुमा उक्त क्याम्पसको स्थापना गर्न पहल गरेका थिए ।

आवाससमेत निःशुल्क भए पछि ह्वात्तै बढे विद्यार्थी

२०६५ साल देखि पढाउन सुरु गरेको धुर्कोट परमानन्द बहुमुखी क्याम्पसलाई सुरुमा विद्यार्थी पाउन मुस्किल परेको थियो ।  शिक्षाशास्त्र र मानविकी संकायमा पढाई हुने सो क्याम्पसमा  मेजर ईङ्गिस, नेपाली, ईकोनोमिक्सलगायतका विषयहरु पढाइन्छ ।  स्थापनाकालको  प्रथम वर्षमा ३० जना विद्यार्थी भर्ना भएका थिए । त्यसपछिका केही बर्षमा त त्यो भन्दा तलको सङ्ख्यामा विद्यार्थी भर्ना हुन थालेका थिए । अघिल्लो शैक्षिक सत्रमा भने ३५ जना विद्यार्थी भर्ना भएका थिए ।

अहिले क्याम्पस सञ्चालक समितिले निःशुल्क अध्ययन मात्र नभएर टाढाबाट आउने विद्यार्थीलाई आवास सुविधा समेत निःशुल्क गराउने निर्णय गरेपछि यस शैक्षिक सत्रमा दोब्बरभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । विद्यार्थीको सङ्ख्या बृद्धि भइ अहिले  छात्रा ८७ जना र छात्र ४३ गरि १ सय ३० जना भर्ना भइसकेका छन् ।

आगामी वर्षदेखि विद्यार्थीको सङ्ख्या थप बृद्धि हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख कृष्णप्रसाद भण्डारी बताउँछन । क्याम्पस सञ्चालक समितिका पदाधिकारी देखि  उपप्राध्यापकहरुले समेत आ–आफ्नो घरमा निःशुल्क बस्न दिएर यस्तो सुविधा विद्यार्थीले पाएका हुन् ।  क्याम्पस सञ्चालक समिति कै अध्यक्ष कृष्णप्रसाद भण्डारीकै घरमा १० जना विद्यार्थीले निःशुल्क आवास पाएका छन् । उनीहरुलाई तरकारी खेतीसमेत आफै उब्जनी गरेर खाने खर्च कम गर्न अध्यक्ष भण्डारीले आग्रह गरेका छन् ।

अहिले क्याम्पसमा जिल्लाको मालिका, मदाने,  ईस्मा गाउँपालिका, मुसिकोट नगरपालिकाका विद्यार्थी मात्र होइन छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिकाबाटसमेत अध्यान गर्न आएका छन् ।

यी हुन्  गाउँमा क्याम्पस स्थापना गर्ने जगहरु

सदरमुकाम तम्घासमा समुदायबाट रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालन गर्न अग्रणी भुमिका खेलेका वस्तु निवासी तत्कालिन जिल्ला उपसभापति परमानन्द भण्डारीले आफ्नो गाउँ वस्तुमा पनि क्याम्पस स्थापना गरेर दलित समुदायसहित विपन्न वर्गका छोरा छोरीहरुलाई उच्च शिक्षाको पहुँचमा पुर्याउने सोँच अगाडी सारे ।

उनलाई सांसद रुद्रमणी शर्मा भण्डारी, अर्का पूर्व सांसद टङ्क पोखरेल, तत्कालिन नेकपा एमालेका जिल्ला पार्टी अध्यक्ष टोमलाल पाण्डे र ढुण्डिराज शर्मा भण्डारी लगायतका अगुवाहरुले साथ दिए । उनीहरु देश विदेशसम्म चन्दा अभियानमा लागे । अन्ततः सबैतिरबाट सहयोग ओइरिन थाल्यो । भवन निर्माणका लागि ढुण्डिराज शर्मा भण्डारी, युवराज पाण्डे, मुक्तिराम भण्डारीलगायतका परिवारले निःशुल्क जग्गा दिए ।

भवन सम्पन्न भए लगत्तै २०६५ साल देखि क्याम्पस सञ्चालन हुन थाल्यो । स्वर्गीय परमानन्द भण्डारी एक्लैले १० लाख रुपैयाँ चन्दा दिए ।  उनको मृत्यु पछि उनको छोरा कृष्णप्रसाद भण्डारीलाई क्याम्पस चलाउने जिम्मेवारी थपियो । समुदायले उनलाई अध्यक्षको हैसियतले क्याम्पस चलाउने जिम्मा सुम्पियो । उनले बाबुको धुर्कोटसहित बाबुको नामबाट क्याम्पस सञ्चालन गर्ने गरि ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि दिए ।

त्यसपछि क्याम्पसको आर्थिक भार केही कम भयो । अहिले पनि कतिपय  उपप्रध्यापकहरुले  निःशुल्क त कसैले स–शुल्क  पढाउँदै आएका छन् । स्वर्गीय रुद्रमणी शर्मा भण्डारीकी पत्नी डाक्टर नातीमैया शर्मा मानन्धर भण्डारीले काठमाडौँबाट वस्तुस्थित गाउँमा आएर  स्थापना कालदेखि साढे तीन वर्षसम्म निःशुल्क पढाउनुका साथै क्याम्पस प्रमुखका रुपमा प्रशासन समेत चलाइन् ।

वेलायतमा रहेका जैसीथोकका बाबुराम भण्डारीको पहलमा गुल्मी जिल्ला युके समाजले ३ लाख नगद सहयोग ग¥यो । गत वर्ष समाजका तत्कालिन अध्यक्ष राम गलामी, कोषाध्यक्ष तारानाथ भण्डारी, सदस्यहरु तारा भट्टराई, बाबुराम भण्डारी, मोति भण्डारी लगायतको टोली बेलायतबाट आएर क्याम्पसमै उक्त रकम हस्तान्तरण गर्नुका साथै थप सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

त्यस्तै वस्तु कोरिया सम्पर्क समाजले २५ हजार सहयोग गरेको छ ।  धुर्कोटवासी अन्यले पनि सक्दो सहयोग गर्दै अहिले १ करोड ४५ लाख रुपैयाँ बैङ्कको मुद्धती खातामा बचत गरेर त्यसको ब्याजबाट निशुल्क क्याम्पस पढाउन सकिएको सञ्चालक समिति अध्यक्ष भण्डारीले बताए । यस आर्थिक वर्षमा थप ५ लाख रकम थपिएको क्याम्पस प्रमुख भण्डारीले बताए ।

आइतबार सो क्याम्पसले ११ औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा उनै स्वर्गीय परमानन्द भण्डारीकी धर्मपत्नी ८२ वर्षीया पार्वतीदेवि भण्डारीले पनि श्रीमान्ले जस्तै आफ्नो चौरासी पूजामा लाग्ने १५ लाख रुपैयाँ रकम विद्यालयका लागि दान गरेकी छन ।

छोरा कृष्णप्रसाद भण्डारी भन्छन्, ‘बुवाले पनि आफ्नो चौरासी पुजामा दान स्वरुप क्याम्पसलाई १० लाख प्रदान गर्नुभएको थियो । आमाले पनि त्यही सोच राखेर अब गर्न गइरहेको चौरासी पुजामा खर्च गर्ने रकम १५ लाख रुपैयाँ क्याम्पसलाई दान गर्नुभएको हो ।’

यसरी समुदाय कै सहयोगबाट दुवै संकायको प्रथम वर्षदेखि चौथो वर्षसम्म मासिक शुल्क निःशुल्क गरिएको हो । आर्थिक अवस्था राम्रै रहेका विद्यार्थीहरुबाट सहयोग स्वरुप जनही २५ सय रुपैयाँ भर्ना शुल्क लिए पनि विपन्न परिवारलाई भर्ना समेत निःशुल्क गरिँदै आएको छ ।

क्याम्पसमा कम्युटर कक्षासमेत निःशुल्क सञ्चालन गरिएको छ । लोकसेवा आयोग, शिक्षा सेवा आयोगको परिक्षामा प्रतिष्पर्धा गर्न चाहने विद्यार्थीहरुका लागि निःशुल्क पाठ्य पुस्तक र निःशुल्क सहजिकरणसमेत गर्ने सुविधा क्याम्पसभित्रै उपलब्ध गराइएको छ । क्याम्पसमा निःशुल्क ईन्टरनेट सुविधा, व्यवस्थित पुुस्ताकालय, कम्युटर ल्याब,  शौचालय भए पनि क्याम्पसको भवन निर्माण र खेल मैदानको काम पूरा भइनसकेको क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एवम् निर्माण समितिका अध्यक्ष युवराज भण्डारीले बताए ।

अपुरा कामहरु छिट्टै पुरा गर्दै र थप गुणस्तरिय शिक्षा र अन्य संकायहरु थप्दै क्याम्पसलाई अन्य जिल्लावासी बिद्याथीहरुको समेत आकर्षणको केन्द्र बनाउन लागि पर्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । गरीब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिँदै आएको छ ।

विक्रम सम्वत १९८१  सालमा गुरु ऋषिराम पन्थीले वस्तुको हटियामा सरकारी संस्कृत भाषा पाठशालाको सुरुवात गरेका थिए । २०१५ साल चैत्र १५ गते हालको हिमालय माध्यामिक विद्यालयलाई मिडिल स्कुलका रुपमा वस्तु कै स्वर्गीय गोपालप्रसाद श्रेष्ठले स्थापना गरेका थिए ।  गुल्मी जिल्ला मै  जिल्लाबाटै एसएलसी पास गर्ने पहिलो ब्यक्ति वस्तु कै स्वर्गीय नरेन्द्रदेव शर्मा  थिए । उनले हाल कै हिमालय मावि वस्तुबाट एसएली पास गरेका थिए । उक्त मावि र धुर्कोट बहुमुखी क्याम्पस नजिकै रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप