शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकको एजेण्डा पास गर्न नेकपाको सचिवालय बैठक बस्दै

मङ्गलबार, १४ माघ २०७६, १२ : २६
मङ्गलबार, १४ माघ २०७६

काठमाडौ । केन्द्रीय समिति बैठक अघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । नेकपाको केन्द्रीय समिति बैठक माघ १५ गते सुरु हुँदैछ । त्यसअघि मंगलबार अपरान्ह ४ बजे सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुटारमा बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डा अनुमोदन गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुु पौडेलले विधान संशोधन प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । यसअघि पुस महिनामा बसेको स्थायी कमिटीले पास गरेका प्रतिवेदनहरु केन्द्रीय समिति सदस्यहरुबीच छलफल गराएर अनुमोदन गर्ने तयारी छ । त्यसका लागि नेकपाले समुह विभाजन गरी केन्द्रीय सदस्यहरुलाई छलफलमा सहभागी गराउने तयारी गरेको छ ।

यसैबीच अध्यक्ष ओली र प्रचण्ड केन्द्रीय समितिको बैठकका तयारीमा लागेका छन् । ओली र प्रचण्डको सचिवालयका अनुसार दुवै नेता केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डा र त्यसको तयारीमा मङ्गलबार दिनभर खटिनेछन् । त्यसका लागि दुवै नेताले मङ्गलबार अन्य कुनै कार्यक्रममा सहभागी नहुने योजना बनाएका छन् ।


सरकारका कामकारवाही सन्तोषजनक नभएको नेकपाभित्रै आवाज उठ्दै आएको छ । यो बैठकमा सरकार र पार्टी सञ्चालनबारे केन्द्रीय सदस्यहरुले राख्ने प्रश्नको जवाफ कसरी दिने भन्ने दुई अध्यक्षबीच छुट्टै छलफल समेत गर्ने तयारी भएको बुझिएको छ ।


लामो समयपछि बस्न लागेको नेकपाको केन्द्रीय समिति बैठकमा विशेषगरी चारवटा एजेण्डा पेश गर्ने नेताहरुको तयारी छ । ति एजेन्डा यसअघि नै पार्टीको स्थायी समितिबाट तय भएपनि त्यसबारे थप छलफल र गृहकार्य गर्न बाँकी रहेकाले ओली र प्रचण्ड मङ्गलबार दिनभर त्यसको तयारीमा लाग्ने भएका हुन् । गत स्थायी समिति बैठकपछि जारी अन्तरपार्टी निर्देशिकामा केन्द्रीय समिति बैठकका एजेण्डा उल्लेख छन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक विषय यो बैठकका मुख्य एजेण्डा हुन् । तर यो बैठकमा सरकारका कामकारवाहीबारे पनि छलफल हुनुपर्ने नेताहरुको माग भएकाले त्यसवारे समेत छलफल हुनेछ ।

सरकारका कामकारवाही सन्तोषजनक नभएको नेकपाभित्रै आवाज उठ्दै आएको छ । यो बैठकमा सरकार र पार्टी सञ्चालनबारे केन्द्रीय सदस्यहरुले राख्ने प्रश्नको जवाफ कसरी दिने भन्ने दुई अध्यक्षबीच छुट्टै छलफल समेत गर्ने तयारी भएको बुझिएको छ ।

नेकपाको अन्तरिम विधानले ६–६ महिनामा केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने व्यवस्था गरेपनि उक्त समयमा नेकपा केन्द्रीय समिति बैठक बस्न सकेको थिएन  अधिकाँश निर्णयहरु सचिवालय बैठकबाट हुदै आएका थिए । यसमा केन्द्रीय सदस्यहरुले नेतृत्वको आलोचना समेत गर्दै आएका छन् ।

पछिल्लो पटक सचिवालयले गरेका केही निर्णयप्रति कानुनी अड्चन भएपछि त्यसलाई फुकाउन विधान संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । यसपटकको केन्द्रीय समिति बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन विधान संशोधनको प्रस्ताव अनुमोदन गर्नुका साथै उपत्यका विशेष जिल्ला कमिटी र कार्यदिशाबारे विधानको प्रस्तावना संशोधन गर्ने निर्णय पनि अनुमोदन गर्नेछ । यी दुवै निर्णय सचिवालय र स्थायी समिति बैठकबाट भएका थिए । नेकपाको अन्तरिम विधानमा २ अध्यक्ष, एकएक महासचिव र प्रवक्ता बाहेक अन्य पद छैन । तर विधानले व्यवस्था नगरेको उपत्यका विशेष समन्वय कमिटी गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको थियो । जसलाई वैधानिकता दिन पनि नेकपालाई विधान संशोधन गर्नुपर्ने बाध्यता छ । त्यस्तै केन्द्रीय समिति बैठकले पार्टीको हाल कार्यान्वयनमा रहेको विधानमा केही संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ । नेकपाको हालको विधानले १९ अधिकार केन्द्रीय समितिलाई दिएको छ जसमध्ये केन्द्रीय समितिको बहुमतले विधान संशोधन गर्नसक्ने व्यवस्था छ ।

गत मंसिरमा सुरु भएर पुसमा सकिएको स्थायी समिति बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको थियो । प्रतिवेदनमा अन्तराष्ट्रिय परिस्थितिको संकेत र हाम्रो दायित्व, राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टी एकता सुदृढ, सरकारका कामहरुको सामान्य समीक्षा, उपनिर्वाचनाको समीक्षा, सचिवालयका निर्णयहरुको अनुमोदन र पार्टीका आगामी कार्यक्रमका रुपरेखा गरी सात विषय समेटिएका थिए ।

यसबाहेक केन्द्रीय समिति बैठकले संगठन विभागले प्रस्ताव गरेको र सचिवालयले पारित गरेको संगठनात्मक कार्ययोजना अनुमोदन, नियमावली संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गतिदिन तत्काल गर्नुपर्ने काम र पार्टीका नेता, कार्यकर्ता तथा सदस्यले पालन गर्नुपर्ने आचारसंहिता जस्ता विषयलाई पनि पास गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप