शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरस नेपाल छिर्न नदिन त्रिभुवन विमानस्थलमा यस्तो छ सुरक्षा प्रविधि (फोटो/भिडियो)

मङ्गलबार, १४ माघ २०७६, १८ : ०६
मङ्गलबार, १४ माघ २०७६

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक एवम् प्रवक्ता देवचन्द्रलाल कर्णका छोरा हालसालै भियतनामबाट काठमाडौं आए । चीन लगायतका देशमा कोरोना भाइरस भाइरल हुन थालेपछि उनका छोरा काठमाडौं फर्किएका थिए । विमानस्थलमा पर्खिएका कर्णले छोरा आउने वित्तिकै माया गर्दै हातले छोराको गाला मुसारे । तर छोराले हात पन्छाउँदै भने, ‘कुन–कुन ठाउँ हुँदै यहाँ आइपुगेको छु, कुन भाइरस छ के थाहा ? यतिकै नछुनुस !’ 

घर पुगेपछि उनले नुहाइधुवाई गरे, उनले लगाएको कपडा पनि तत्काल सफा गरियो । विदेशमा कोरोना भाइरसबाट बच्न गरिएको सावधानी बुझेका उनका छोराले यस्तो सावधानी अपनाएको कर्णले रातोपाटीसँग अनुभव सुनाए । 

हालै नेपाली मुलका एक क्यानेडाली नागरिक चीनको सांघाई, कुनमिन हुँदै काठमाडौँ आएका थिए । विमानमा यात्राका क्रममा उनलाई ज्वरो आयो । विमानस्थलमा आएपछि उनलाई छुट्टै बाटो प्रयोग गरेर अस्पताल पु-याइएको छ । उनलाई कोरोना भाइरस नलागेको पनि हुन सक्छ तर आशंका लागेपछि अन्य ब्यक्तिको सम्पर्कबाट छुटाएर अस्पताल पु-याइएको कर्णले बताए ।  

चीनको हुबेई प्रान्तको बुहान शहरबाट कोरोना भाइरस फैलिएपछि त्रिभुवन विमानस्थलको  दृश्य फेरिएको छ । अधिकांशको अनुहारमा मास्क । यसअघि विमानस्थल भित्र प्रवेश गर्दा मास्क खोल्न लगाइने गरेपनि अहिले विमानस्थलका अधिकांश कर्मचारी तथा यात्रीको अनुहारमा सर्जिकल मास्क देखिन्छ । यसको कारण कोरोना भाइरसप्रति सर्तकता हो । 

विगतमा स्वाइन फ्लुको संक्रमण फैलिएका बेला, अफ्रिकामा इबोला भाइरस संक्रमण भएको बेलामा जस्तै अहिले कोरोना भाइरसको संक्रमण फैलिएका बेला विमानस्थलमा उच्च सावधानी अपनाइएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।  

विशेषगरी चीन जाने र आउने यात्रुको शरीरमा ९८ डिग्री फरेनहाइटभन्दा भन्दा बढी तापक्रम भएमा उसलाई विमान चढ्न रोक लगाइएको प्रवक्ता कर्णले बताए । 

उनले भने, ‘स्वस्थ ब्यक्तिले मात्र जहाज चढ्न पाएको छ । विमान चढ्ने सम्बन्धित यात्रीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा स्वघोषणा गर्नुपर्छ । जहाजमा चढेपछि विमानका कर्मचारीहरुले निरीक्षण गर्छन् ।

विमानभित्रै कुनै समस्या देखियो भने यात्रीले विमानका कर्मचारीलाई आफै भन्नुपर्नेछ । विमानबाट झरेपछि हामीसँग हेल्थ डेस्क छ । हेल्थ डेस्कमा डाक्टर पारामेडिकलहरु बस्नुभएको छ । उहाँहरुले जाँच गर्ने, स्क्यानरले स्क्यान गर्ने, कसैमा समस्या देखियो भने छुट्टै एम्बुलेन्समा राखेर अस्पतालमा पठाउने व्यवस्था गरेका छौँ ।’

पाइलटले आफ्नो विमानमा कोही बिरामी नरहेको घोषणा गरेर मात्रै विमान चलाउने गरेको उनले बताए । 
 

विदेशबाट आउने यात्रु लक्षित गरी हेल्थ डेस्क राखिएको छ । उनीहरुको शरीरको तापक्रमको अवस्था हेरेर मात्रै उनीहरुलाई प्रवेश दिइन्छ । यदि उनीहरुको शरीरमा तापक्रम बढी भएको देखिएमा हेल्थ डेस्कमा लगेर थप परीक्षण गरी छुट्टै बाटोबाट अस्पताल लगिने व्यवस्था गरिएको छ । 

यसरी परीक्षण गरिन्छ यात्रीको तापक्रम 


विमानस्थलमा दैनिक हजारौं यात्रीहरुको जमघट हुने भएकोले प्रत्येक यात्रीको छुट्टाछुट्टै तापक्रम मापन गर्न सम्भव छैन । विमानबाट ओर्लिएर नेपाल प्रवेश गर्ने द्वारमा थर्मल स्क्यानर राखिएको छ । जसले प्रत्येक व्यक्तिको तापक्रम स्क्यान गर्छ, त्यसको विवरण हेल्थ डेस्कको कम्प्युरको स्क्रीनमा देखिन्छ । जहाँ एकजना स्वास्थ्यकर्मीले निगरानी गरिरहेका हुन्छन् । कुनै बिरामीको तापक्रम ९८ डिग्री भन्दा माथि देखिन्छ भने उसलाई हेल्थ डेस्कमा लगेर थप परीक्षण गरिन्छ । यात्रीको स्वास्थ्य अवस्था शंकास्पद लाग्यो भने उसलाई विमानस्थल भित्रै एम्बुलेन्स लगेर अस्पताल पु¥याउने व्यवस्था गरिएको छ । 

कोरोना भाइरसको संक्रमण फैलिएपछि विमानस्थलको हेल्थ डेस्कमा चिकित्सकहरुको संख्या बढाइएको छ । अहिले ४ जना डाक्टर,  ३ जना नर्सिङ अधिकृत र एकजना अहेवको व्यवस्था गरिएको छ । शंकास्पद कोरोना संक्रमितलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल लगायत तोकिएको छ ।     

अध्यागमनका कर्मचारी सबैभन्दा जोखिममा 
विमानस्थलमा सबैभन्दा धेरै यात्रीसँगको सम्पर्कमा अध्यागमन विमागमा कर्मचारी रहन्छन् । सरुवा रोगको सबैभन्दा जोखिममा अध्यागमनका कर्मचारी रहने एक कर्मचारीले बताए ।  विमानस्थलमा कार्यरत अधिकांश कर्मचारीले सुरक्षाका लागि सर्जिकल मास्क लगाएर काम गरिरहेका छन् ।

 यात्रुको झोला जाँच गर्ने स्थान, अध्यागमन कार्यालय लगायत विमानस्थलमा रहेका विभिन्न इकाईमा काम गर्ने कर्मचारीहरुले मास्क लगाएका छन् । यसका साथै विभिन्न मुलुकबाट नेपालमा प्रवेश गर्ने यात्रीहरुले पनि मास्क लगाएर आइरहेका छन् ।

यसैबीच स्वास्थ्य मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा शंकास्पद संक्रमितलाई उपचारको क्रममा राखिएको र उनीहरुमा कोरोना भाइरस नभएको जनाएको छ ।  

 के हो कोरोना भाइरस ? 


चीनको हुबेइ प्रान्तको बुहान शहरबाट फैलिएको कोरोना भाइरसबाट हालसम्म एक सय बढी व्यक्तिले ज्यान गुमाएका छन् । चीनमा हालसम्म ५ सय ५ जनाको मृत्यु र ५ सय १५ जनामा यो भाइरस संक्रमण भएको पुष्टि भएको छ । अन्य देशहरुमा समेत गर्दा २ हजार ७ सय ४४ जनामा यसको संक्रमण फैलिएको छ । रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वास फेर्न गाह्रो हुने लगायत यो रोगका लक्षण हुन् । 

संक्रमित व्यक्तिले खोक्दा तथा हाच्छियू गर्दा यो रोगको संक्रमण फैलिने चिकित्सकहरुले बताएका छन् । संक्रमित व्यक्तिलाई छुट्टै राखेर उपचार गर्नुपर्ने र स्वस्थ मानिसले पनि मास्क लगाउने, हात नमिलाउने, संक्रमित व्यक्तिबाट टाढा रहनुपर्ने चिकित्सकको सुझाव छ । 

हेर्नुहोस् भिडियोः 

थप फोटो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप