बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक विकासमा समुदायको महत्वपूर्ण भूमिका हुन्छ : पूर्व राष्ट्रपति

मङ्गलबार, १४ माघ २०७६, २१ : ०९
मङ्गलबार, १४ माघ २०७६

पूर्व राष्ट्रपति डा रामवरण यादवले शिक्षा क्षेत्रको विकासका लागि समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज स्वर्णमहोत्सवमा पूर्व राष्ट्रपति यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने विश्वास व्यक्त गरे ।

समुदाय, शिक्षक र अभिभावकको हातेमालोबाट शिक्षाको गुणस्तर अभिवृद्धि हुनसक्ने चर्चा गर्दै पूर्व राष्ट्रपति यादवले भने, “पञ्चुमुनीदेव विद्यालय आज यो अवस्थामा आइपुग्न समुदायको ठूलो हात रहेको सुन्न पाउँदा खुशी लागेको छ ।” देशको शिक्षाको स्थिति राम्रो नरहेको बताउँदै पूर्व राष्ट्रपति यादवले धेरै राजनीतिक परिवर्तन भए पनि शिक्षाको अवस्था भने परिवर्तन हुन नसकेकोमा दुःखेसो गरे ।
विद्यालय तथा क्याम्पस धेरै स्थापना भए पनि गुणस्तरीय विद्यालय, क्याम्पसको अत्यन्तै कमी रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संसारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक रहेकोमा जोड दिए । प्रविधिलाई शिक्षासँग जोड्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताउँदै पूर्व राष्ट्रपति यादवले बालबालिकालाई दुव्र्यसनीबाट बचाएर दक्ष बनाउनुपर्नेमा जोड दिए । अबको युग प्राविधिक शिक्षाको भएको चर्चा गर्दै उनले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउनुपर्नेमा सुझाव दिए ।

पूर्व राष्ट्रपति यादवले जनताले छानेको प्रतिनिधिबाट निर्माण भएको नेपालको संविधान लोकतान्त्रिक र गणतान्त्रिक, समावेशी र समानुपातिक रहेको बताए । संविधानले विधिको शासन स्थापित गरेको बताउँदै उनले वर्तमान जनप्रतिनिधिले संविधानलाई ठिक ढङ्गबाट प्रयोग गरी मुलुकको विकास गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप