शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छ महिनाअगावै सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम द्रुत गतिमा

बुधबार, १५ माघ २०७६, ०६ : ५३
बुधबार, १५ माघ २०७६

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । विमानस्थल तोकिएको समयभन्दा छ महिनाअगावै सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको छ ।

हालसम्म उक्त विमानस्थलको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन–वे निर्माण सम्पन्न भइसकेको, विमानस्थलसम्म पुग्ने सडक निर्माण र अन्य टर्मिनल भवनलगायत ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख विनेश मुनकर्मीले बताए । विमानस्थलमा चिनियाँ तथा नेपाली कामदारले काम गरिरहेका छन् ।

विमानस्थलमा रन–वे निर्माणको काम सकिएपछि अहिले टर्मिनल भवन, यात्रुका लागि जहाज चढ्ने र ओर्लेन स्थान, ट्याक्सी पार्किङ, वरिपरि नाला निर्माण, ह्याङ्गर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ ।

विमानस्थल निर्माण छिटो सक्ने नाममा त्यसको गुणस्तरमा कुनै कम्प्रमाइज नहुने निर्माण कम्पनीले जनाएको छ । मासिक चार लाख ६८ हजार यात्रु क्षमताको टर्मिनल भवन निर्माण हुने उक्त विमानस्थलको कुल १४ हजार स्क्वायर मिटरको टर्मिनल भवनमध्ये आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र छ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि छुट्याइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुन लागेको विमानस्थलमा बोइङ ७५७, एयरबस ३२० वा सो सरहका विमानले उडान गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुटको समस्या भएकाले विमानस्थल निर्माणपछि कुन रुटबाट विमान आउजाउ गर्ने भन्ने अन्योल भए पनि त्यसबारे निर्णय हुने प्राधिकरणले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप