शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेकपाभित्र विभिन्न गुट सक्रिय, अन्तर्घात र अराजक प्रवृत्ति कायम’

बुधबार, १५ माघ २०७६, १६ : २८
बुधबार, १५ माघ २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विभिन्न गुट सक्रिय रहेको र पार्टीभित्र अन्तर्घात र अराजक प्रवृत्ति कायम रहेको तथ्यलाई नेतृत्वले औपचारिक रुपमा स्वीकार गरेको छ ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीभित्र विभिन्न गुटहरु सक्रिय रहेको उल्लेख छ । ‘पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृत्तिहरु कायम छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

पार्टी अनुशासनको स्थान गुट अनुशासनले लिने हो कि भन्ने खतरासमेत दिन प्रतिदिन बढ्दै गइरहेको जिकिर प्रतिवेदनमा गरिएको छ । ‘आलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन गर्नेजस्ता सजिव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालनाको स्तर निकै कमजोर अवस्थामा छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

उपरोक्त स्थितिमा सुधार ल्याउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र सङ्कल्पका साथ अगाडि बढ्नु्को विकल्प रहेको पनि प्रतिवेदनमा औँल्याइएको छ ।

पार्टीको मार्गदर्शक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’को दर्शन, राजनीतिक अर्थशास्त्र एवम् वैज्ञानिक समाजवादका बारेमा व्यवस्थित र योजनावद्ध स्कूलिङ सञ्चालन गर्ने कामलाई पार्टीको आधारभूत कामका रुपमा अगाडि बढाउन पर्नेमा पनि जोड दिइएको छ ।

माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तबारे आधारभूत र उपल्लो स्तरसम्मको ज्ञानका लागि आवश्यक परीक्षा प्रणाली अपनाउनुपर्नेमा जोड दिदैँ पार्टीको राजनीतिक प्रतिवेदन र विधानबारे सिङ्गो पार्टी पंक्तिमा व्यवस्थित प्रशिक्षण सञ्चालन गरी बुझाइमा एकरुपता ल्याउन जरुरी रहेको प्रष्ट पारिएको छ ।

‘आज हाम्रो पार्टीको रणनैतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तथा तात्कालिन ठोस कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हो भन्ने कुरा स्पष्ट गरिनु पर्दछ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी इतिहासमा कमरेड मदन भण्डारी र जवसको योजदान तथा माओवादी जनयुद्ध र एक्काइसौँ शताब्दीको जनवादको योगदानबारे राजनीतिक प्रतिवेदनमा गरिएको विश्लेषण र सश्लेषणलाई व्यवस्थित रुपले पार्टीमा स्थापित गरिनुपर्दछ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप