बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खाना महोत्सव माघ २८ देखि

बुधबार, १५ माघ २०७६, १९ : ४०
बुधबार, १५ माघ २०७६

पर्यटकीय नगरी सौराहामा भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी खाना महोत्सव गरिने भएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई प्राकृतिक सौन्दर्यसँगै खानाको स्वाद दिन यही माघ २८ देखि फागुन ३ गतेसम्म खाना महोत्सवको आयोजना गर्न लागिएको हो । 
  
रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) सौराहाले  सिसुवार खेलमैदानमा महोत्सवको आयोजना गर्न लागेको हो । यो १४औँ संस्करण हो । 

सौराहामा आज पत्रकार सम्मेलनको आयोजना गरी खाना महोत्सवका बारेमा  जानकारी दिँदै स्थानीय कला, संस्कृति, वेषभूषाको जगेर्नाका लागि महोत्सव केन्द्रित रहेको रेवानका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए ।

महोत्सव अवधिभर सौराहाको राप्ती तटबन्धनको ड्यामदेखि महोत्सवस्थलसम्म विविध झाँकी प्रस्तुत गरिने अध्यक्ष खतिवडाले जानकारी दिए ।

सो अवसरमा  विविध खेलकूद कार्यक्रम, प्रेमपत्र लेखन प्रतियोगिता, सडक नाटक आयोजना गरिने छ । हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकालको प्रस्तुति रहने महोत्सबका संयोजक ध्रुव गिरीले जानकारी दिए ।
 
फागुन २ गते प्रेम दिवसको दिन टिकटको व्यवस्था गरिएको भए पनि अन्य दिन निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

टिकटबाट सङ्कलित रकममध्ये ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रङ्गशालालाई दिइने आयोजकले जनाएको छ ।

झण्डै रु दुई करोड ५० लाखको कारोवार हुने अनुमान गरिएको महोत्सवमा दैनिक रु २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको समयमा मात्रै नभएर भ्रमण वर्षलाई नै लक्षित गरी सौराहा आउने पर्यटकलाई छुटको व्यवस्था गरिएको छ ।

रेवानमा आबद्ध ५६ रेष्टुरेण्टमा १५, होटलमा ३० र साना पर्यटन व्यवसायमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । आन्तरिक पर्यटक बढाउन खाना महोत्सव, हात्ती महोत्सव गर्ने गरिएको छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले महोत्सवले पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भ्रमण वर्षमा हुने यस्ता महोत्सव पर्यटन प्रवद्र्धनका सहयोगी बन्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप