शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'दुई पाइलट' भएको नेकपामा अध्यक्षताबिनै बैठक !

व्यानरमा ओली र प्रचण्डको फोटो राखेकामा आपत्ति
बुधबार, १५ माघ २०७६, २२ : ४७
बुधबार, १५ माघ २०७६

 काठमाडौ । कुनैपनि पार्टी वा संघ संस्थाको औपचारिक कार्यक्रम हुँदा सामान्यतयाः कार्यक्रमको अध्यक्षता गर्ने चलन छ । कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति कार्यक्रम अवधिभर बस्ने गर्छन् । सँगसँगै कार्यक्रमको अन्त्यमा अध्यक्षता गर्ने व्यक्तिले सम्बोधन पनि गर्छन् । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भने फरक ढंगले चल्यो । 

अर्थात दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) भएको नेकपामा कसैको पनि अध्यक्षता रहेन । न त दुई अध्यक्षमध्ये एक अध्यक्ष केपी शर्मा ओली बैठक अवधिभर नै बसे ।

राजधानीको राष्ट्रियसभा गृहमा भएको बैठक विगत भन्दा फरक ढंगले बैठक सुरु भएपछि नेकपाका अधिकांश केन्द्रीय सदस्यहरु केही अलमलमा परेको र अनौठो अनुभव गरिरहेको भान हुन्थ्यो । 

बैठक सञ्चालन प्रक्रिया फरक भएपछि केन्द्रीय सदस्यहरुले आपसमा ‘नयाँ प्रयोग भन्दै कानेखुसी गरेको समेत देखिन्थ्यो । 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको पहिलो बैठक फरक ढंगले मात्रै चलेन त्यसका प्रमुख वक्ता प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली नै सुरुमा बोले । र, आफ्नो मन्तव्य सकेर कार्यक्रम नै छाडेर हिँडे । 

नेकपाको  केन्द्रीय समिति बैठक बुधबार ११ बजेका लागि बैठक बोलाइएको थियो । ११ बजे लगभग धेरैजसो केन्द्रीय सदस्यहरु बैठकस्थल पुगिसकेका थिए पनि । त्यसबीचमा अध्यक्ष लगायत सचिवालयका सदस्यहरु पनि आएर बैठकस्थल नजिकै अर्को कोठामा बसेका थिए । जब घडीमा ११ः३० समय भयो । दुवै अध्यक्षसहित सचिवालयका सदस्यहरु बैठक कक्षमा प्रवेश गरे । ओली र प्रचण्डसहितका नेताहरु मञ्चमा बसेपछि महासचिव विष्णु पौडेलले एकैचोटी कार्यक्रम सुरु गरे ।

 बैठक सुरु गर्दै महासचिव पौडेलले उपस्थित सवैलाई स्वागत गर्दै राष्ट्रिय गानका लागि आह्वान गरे । राष्ट्रिय गान सकिएपछि सहिदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरियो । 

सहिदप्रति श्रद्धान्जली अर्पण लगत्तै बैठकमा मन्तव्य राख्न महासचिव पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरे । त्यसपछि पौडेल गएर आफ्नो आसनमा बसे । 

ओलीले २ घण्टा ५ मिनेट मन्तव्य राखे । बोलिसकेर महासचिवले अध्यक्षलाई बिदा गरौँ भनेर हलसँग अनुमति मागे । त्यसलगत्तै ओली बैठकस्थलबाट बाहिरिए । तर, यसअघि ओलीले बोलिरहँदा केन्द्रीय सदस्यहरुले पट्यार मानेका थिए । 

‘सधैँ मिठासपूर्ण भाषण गर्ने ओलीको बुधबारको भाषणमा भने कुनै मिठास र सुनिरहुँजस्तो भएन’, एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘उनी आफै गलेकोे, थाकोको र पार्टीमा आफ्नो केही लाग्दैन कि भन्नेजस्तो किसिमबाट प्रस्तुत भएको भान हुन्थ्यो ।’
आफ्नो मन्तव्यको अधिकांश समय सरकारको बचाउमा खर्चिएका ओलीको मन्तव्यमा कुनै दम र मिठास नभएको उनको भनाइ छ ।

‘अरुवेला सुनौँसुनौँ र ताली नै पिटौँ लाग्ने अध्यक्ष कमरेडको भाषण बुधबार खल्लो र पट्यार लाग्दो भयो । उखान टुक्का पनि सुन्न पाइएन,’ अर्का केन्द्रीय सदस्यले भने, ‘उहाँ आफै पहिलो वक्ता, सरकारका कामका बारेमा कसैले प्रश्न पनि गरेको थिएन । प्रश्न नै नगरी प्रधानमन्त्रीले नै यो यो गरेँ भनेर बताउनुपर्ने अवस्था आउनु भनेको सरकारले केही काम गर्न नसकेको होकी भनेर बुझ्नुपर्यो ।’

ओली बैठकबाट उठेर हिँडेपछि महासचिव पौडेल बैठकको कार्यसूचीमा प्रवेश गरे । त्यतिवेला पनि बैठकको अध्यक्षता फलानाले गर्दै हुनुहुन्छ भनेर भनिएन ।

 बैठक सुरु हुनेवित्तिकै बैठकको कार्यसूची केन्द्रीय सदस्यहरुलाई बाँडिएको थियो । त्यही कार्यसूचीमा केही सुझाव छ भने दिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरिएको थियो । 

प्रधानमन्त्री ०७५ जेठ ३ मा पार्टी घोषणा हुँदा ओलीले नेकपा जेट विमानजस्तै भएकाले अध्यक्ष पनि दुई जना राखिएको बताएका थिए । उनले भनेका थिए–जेटमा दुई पाइलट हुन्छन् । दुई पाइलट भएको जेट डुब्दैन । 'दुई पाइलट' भएको पार्टीमा पनि कसैको अध्यक्षता नहुनुले आफूलाई अचम्मित बनाएको एक केन्द्रीत सदस्यले बताए । 
 
अध्यक्षता बिनै चलेको बैठकमा महासचिवले सुझाव दिन आग्रह गरेपछि केही सदस्यहरुले सुझावका रुपमा आफ्नो धारणा पनि राखे । सुझाव दिनेहरुले लामो भाषण गर्न थालेपछि अध्यक्ष प्रचण्डले बीचैमा हस्तक्षेप गर्नुपरेको थियो ।

‘तपाईँहरुका सुझाव समेटिन्छन् , ती कुराहरु प्रतिवेदनमा पनि आएका छन्। यदि समेटिएन भने फेरि एजेण्डा बनाएर पनि छलफल गरौँला’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले यसो भनेर स्थितिलाई केही मत्थर पारेका थिए । त्यसपछि महासचिव पौडेलले पुनः राजनीतिक प्रतिवेदन पेस गर्न अध्यक्ष प्रचण्डलाई आमन्त्रण गरे । प्रचण्डले प्रतिवेदन पेश गरिसकेपछि महासचिव आफ्नो प्रतिवदन पेश गर्न पुगे । त्यति गरिसक्दा सवा ५ बजिसकेको थियो । घडी हेर्दै महासचिव पौडेलले पार्टी अध्यक्षको निर्देशनअनुसार बुधबारको बैठक समापन गरेको घोषणा गर्न पुगेका थिए । 

नेकपामा दुई अध्यक्ष छन् । त्यसमा पनि कम्युनिस्ट पार्टीमा अध्यक्षता ग्रहण गरेर मात्रै कार्यक्रम सुरु गर्ने गरिन्छ । कार्यक्रमको शैलीबारे एक केन्द्रीय सदस्य भन्छन्, ‘यस्तो कम्युनिस्ट पार्टीमा यसरी बैठक सञ्चालन भएको मैले कतै देखेको र सुनेको पनि थिइनँ ।’

जगन्नाथ र राजेन्द्र कड्किए 
यसैबीच बैठकमा केन्द्रीय सदस्य जगन्नाथ खतिवडा र राजेन्द्र राईले अध्यक्षद्वयको फोटो राखेकोमा आपत्ति जनाएका थिए । कार्यक्रमको व्यानरमा मदन भण्डारी र पुष्पलालको फोटो तल्तिर दुई अध्यक्ष ओली र प्रचण्डको फोटो राखिएको भन्दै उनीहरुले हटाउन माग गरेका थिए ।

‘हामी समाजवादी कुरा गर्छौ तर राजावादी कुरा भयो । व्यक्तिको फोटो यसरी टाँस्नु आपत्तिजनक छ,’ राईले भनेका थिए । त्यस्तै खतिवडाले अध्यक्षको फोटो टाँस्ने निर्णय कहिलेको हो कमरेड तपाईँहरुलाई त्यहाँ फोटो टाँसेर आनन्द लागिरहेको छ ? भन्दै प्रश्न गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप