शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हलोमा ‘हलो’ अड्किँदा दुई राप्रपाको एकता भाँडियो

शनिबार, १८ माघ २०७६, २१ : ५५
शनिबार, १८ माघ २०७६

काठमाडौँ । पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपाबीचको पार्टी एकता फेरि भाँडिन पुगेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा–डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (संयुक्त) बीचको एकता सहमतिको नजिक पुगेर पनि भाँडिन पुगेको हो । दुई पार्टीबीच चुनाव चिन्हमा समझदारी हुन नसक्दा एकता हुन नसकेको दुबै पार्टीका नेताहरुले बताएका छन् । 

अहिले राप्रपाको चुनाव चिन्ह गाई र राप्रपा संयुक्तको चुनाव चिन्ह हलो रहेको छ । यी दुई पार्टीले एकीकृत पार्टीको चुनाव चिन्ह आ–आफ्नै हुनुपर्ने अडान लिएपछि मूलभूत एजेण्डामा एकै ठाउँमा भएपनि एकीकरण हुन नसकेको हो । 

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हाललाई दुई पार्टीबीचको एकीकरण प्रक्रिया टरेको रातोपाटीलाई बताए । उनको दावी अनुसार एकीकरणका लागि बिहीबार दुई पार्टीका अध्यक्षहरुबीच सहमति भएको र अन्तिम समझदारी गरेर एकता घोषणा गर्नेसम्मको तयारी हुँदैगर्दा एकाएक राप्रपा संयुक्तका कारणले एकता भाँडिन पुगेको हो ।

बिहीबार राजधानीको महाराजगन्जमा थापा, राणा र लोहनीबीच भएको बैठकमा केन्द्रीय समितिमा राप्रपाबाट ५५ प्रतिशत र राप्रपा संयुक्तबाट ४५ प्रतिशत प्रतिनिधित्व रहने गरी पार्टी एकता गर्ने समझदारी भएको थियो । यस्तै अध्यक्ष तीनै जना रहने समझदारी पनि भएको थियो । 

यसैगरी पार्टीको चुनाव चिन्ह आगामी महाधिवेशनबाट टुंगो लगाउने र पार्टीको सिद्धान्त हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र हुने समझदारी भएको थियो । 

सो समझदारीअनुसार अध्यक्ष थापाले शुक्रबार बोलाएको केन्द्रीय समिति बैठक राजनीति प्रतिवेदन पेश गरेपछि स्थगित भएको थियो । प्रचार विभाग प्रमुख श्रेष्ठका अनुसार अध्यक्ष राणाको आग्रह अनुसार बैठक स्थगित गरिएको हो । तर, शनिबार फेरि राणाले एकाएक हलो चुनाव चिन्ह हुने सुनिश्चित भएमात्रै एकता हुने अडान लिएपछि एकता टरेको उनले बताए । 

राप्रपा संयुक्तका प्रवक्ता राजेन्द्र गुरुङले पनि हलो चुनाव चिन्हमा कुरो अड्किँदा हाललाई एकता टरेको बताए । ‘हलोको विषयमा थप छलफल गर्नुपर्ने भएकाले हाल एकता नहुने भएको छ । तर, हामी एकता हुनुपर्छ भन्ने पक्षमै छौँ’, गुरुङले शनिबार साँझ रातोपाटीसँग भने । 

हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर २०७३ मङ्सिरमा एकीकृत राप्रपा गठन भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दसम्मका पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगेका थिए । 

तर, सो एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुगेको थियो । त्यतिबेला पनि एकीकृत पार्टीको चुनाव चिन्ह गाई हुने निर्णय भएपछि विवाद फुटसम्मको अवस्थामा पुगेको हो । 

२०७४ भदौमा पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । त्यसअघि नै पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै प्रकाशचन्द्र लोहनीले पनि पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाएका थिए । 

पछि राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकीकरण भएर राप्रपा संयुक्त बनेपनि राप्रपासँग भने पटक पटक छलफल भएपनि एकता हुन सकेको थिएन ।  यहीबीचमा एकताको लागि बिहीबार ‘निर्णायक’ छलफल भएको भनिएपनि सो समझदारी दुई दिन पनि टिक्न सकेन । 

दुई पार्टीबीच एकता टरेसँगै राप्रपा अध्यक्ष थापाले शुक्रबार स्थगित गरेको केन्द्रीय समिति बैठक शनिबार फेरि बसेको छ । अब राप्रपा पूर्वनिर्धारित महाधिवेशनमा जानेगरी केन्द्रीय समितिबाट निर्णय गराएर त्यसैमा केन्द्रीत हुने निष्कर्षमा पुगेको छ । राप्रपाले आगामी जेठ २५ मा महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिएको छ । 

कमल थापाको राजनीतिक प्रतिवेदनमा पनि एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दी भएर बस्न नसकिने उल्लेख छ । 

‘देशलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति उपलब्ध गराउने र राप्रपालाई राष्ट्रनिर्माणको अग्रणी शक्ति बनाउने क्रममा समान विचारधारा भएकाहरुसँग सहकार्य र एकता गर्ने नीतिलाई हामी निरन्तरता दिनेछौं। तर, एकता वा सहकार्यको प्रतिक्षामा राप्रपा निस्क्रियताको बन्दी भएर बस्न सक्दैन’, प्रतिवेदनमा भनिएको छ । 

समान विचारधारा भएका दलहरुसँग सहकार्य र एकता सम्बन्धी विषय अब आगामी महाधिवेशनको मार्गदर्शन अनुरुप अघि बढाउने पक्षमा राप्रपा छ । 

२०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठन भएको थियो । रोचक त के रह्यो भने  पार्टी गठन हुने प्रक्रियामा नै विभाजित भएको थियो । त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए । 

तर  एकै दिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए ।  त्यसयताका २९ वर्षमा राप्रपा फुट्दै र जुट्दै आएपनि पछिल्लो समय भने कमजोर अवस्थामा पुगेको छ। आपसी टकराव, व्यक्तित्वको दम्भ, एजेण्डामा सम्झौता, सत्तालिप्सा लगायतका कारण यो पार्टी कमजोर अवस्थामा पुगेको कतिपयको टिप्पणी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप