शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धबाबा मन्दिरमा निःशुल्क बस, मन्दिरको आयमा वृद्धि

सोमबार, २० माघ २०७६, १२ : १३
सोमबार, २० माघ २०७६

बुटवल । ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट झण्डै ३ किलोमिटर दुरीमा रहेको पाल्पाको  तिनाउ गाउँपालिकाको दोभानमा रहेको सिद्धबाबा मन्दिरले बस संचालन गरेर नमूना काम गरेको छ । मन्दिरका तर्फबाट नि.शुल्क बस चलाएर भक्तजनको सेवामात्र होइन, मन्दिरको आम्दानी पनि बृद्धि गरेको छ ।  

बुटवलदेखि नजिकै रहेको यो ऐतिहासिक मन्दिरको आफ्नो विशिष्ट महत्व छ । धेरैको आस्थाको धरोहरका रुपमा रहेको यस मन्दिरमा दर्शनार्थीहरुको सधैँजसो घुइँचो लाग्ने गर्दछ । त्यसमाथि निःशुल्क बस चलाएपछि आफूहरुलाई धेरै सहज भएको भक्तजनहरुले बताएका छन् ।

गएको शिवरात्रीदेखि मन्दिर व्यवस्थापन समितिले निःशुल्क रुपमा भक्तजनका लागि बस संचालनमा ल्याएको हो । निःशुल्क बस संचालन भएको एक वर्ष नपुग्दै मन्दिरको आयमा समेत वृद्धि भएको छ । 

बसको रुट  


शिद्धवाबा मन्दिरको व्यवस्थापन समिति पाल्पाले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने ड्राईभर टोलबाट निःशुल्क रुपमा मन्दिर जाने आउने व्यवस्था सहित बस चलाएको छ । अझ वृद्धा, अशक्तदेखि विद्यार्थीका लागि बसले निकै ठुलो राहत प्रदान गरेको छ । 

खासगरी आफ्नै सवारी साधन नहुने र माईक्रो बस चढेर जानेहरु मन्दिरको बस कुरेर बस्न थालेका छन् । बुटवलको योगीकुटी, मिलनचोक, ट्राफिक चोक, बुटवल बहुमुखी क्याम्पस अगाडि, गोलपार्क आदि ठाउँमा धेरै दर्शनार्थीहरु मन्दिरको बस कुर्ने गरेको चालक रेशम खत्रीले रातोपाटीलाई बताए । 

यसरी यात्रा हुन्छ 
बिहान प्रायः साढे ६ बजेतिर सिद्धबाबा मन्दिरले संचालन गरेको लु१क ४०५७ नम्बरको गाडी  रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभर टोलबाट छुट्ने गर्दछ । बिहानै चालक रेशम खत्री कहाँ कहाँबाट धेरै भक्तहरु आउँछन्, त्यो अनुमान लगाउँछन् । 

उक्त बसमा बिहानको समयमा विद्यार्थीहरु पनि चढ्ने गर्दछन् । बस नभएका क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुसमेत बिहानको समयमा सोही बस चढेर आफ्नो क्याम्पस जाने गर्छन् । रुटमा पर्ने त्यस्ता विद्यार्थीहरुलाई पनि बुटवलसम्मको सुविधा बसले दिएको छ ।

प्रायः शनिबार, सोमबार तथा विभिन्न तिथि एवम् चाडहरुमा दर्शनार्थीहरुको भीड बढी हुन्छ । त्यस्ता महत्वपूर्ण दिनहरुमा भक्तजनहरु चोकचोकमा बस्ने हुनाले उनी चोकचोकमा हेर्दै तिलोत्तमाबाट निस्कन्छन् ।

मन्दिरलाई यसकारण फाइदा 
सामान्यतः मन्दिरको व्यवस्थापन समितिले आफैँ बसमा संचालन गर्नु झन्झटिलो काम हो । त्यसमा पनि निःशुल्क रुपमा संचालनमा ल्याउँदा आर्थिक रुपमा नोक्सानको पाटो पनि छ । 

चुनौतीहरुलाई सामना गर्दै पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने दोभानमा रहेको सिद्धबाबाको मन्दिर व्यवस्थापन समितिले निःशुल्क रुपमा बस चलाएको छ । आखिर यस्तो काम किन गर्नु परेको हो ? सिद्धबाबा धामका कोषाध्यक्ष प्रेम पाण्डेय भन्छन्, ‘हामीले भक्तजनहरुलाई सुविधा दिन निःशुल्क बस चलाएको हो । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरु यातायातको झन्झटका कारण रोकिनु हुँदैन भन्ने मायन्ता हो ।’ 

रुपन्देही र पाल्पाको  सिमाना मानिने सिद्धबाबा मन्दिर पुग्नको लागि निजी सवारी साधान भएकाहरुका लागि सहज छ, सडक जोखिमबाहेक । तर माईक्रो र लामो दुरीका पाल्पातिर जाने गाडीे समयमा नपाइने अनि भिड हुने र प्रायः लामो दुरीका बसहरुले सिद्धबाबासम्म यात्रु लैजान नमान्ने, लगे पनि सिटमा बस्न नदिने गर्दा यात्रुहरु आजित थिए । यस्तैमा मन्दिरले संचालन गरेको बसले धेरै भक्तजनहरुलाई लाभ दिएको छ । 
बस संचालनका कारण मन्दिरमा भक्तजनहरु वृद्धि भएका छन् । भक्तजनहरु वृद्धि भएपछि स्वाभाविक रुपमा मन्दिरको आयमा वृद्धि हुन्छ । भक्तजनले मूल मन्दिरका साथै परिसरमा रहेका १० वटा सानासाना मन्दिरमा थौरै थौरै रकम चढाउँदा पनि धेरै हुन्छ ।

यस्तै मन्दिरमा परेवा चढाउनेको संख्यामा पनि वृद्धि भएको छ । एक जोडी परेको मूल्य २ सय राखिएको छ । मन्दिरको आयको अर्को स्रोत परेवाको बिक्री रहेको कोषाध्यक्ष पाण्डेयले बताए । मन्दिर आफैँले परेवा पालेको छ । ती परेवाहरु भक्तजनहरुले मन्दिर व्यवस्थापन समितिले तोकेको दुई सय रुपैयाँ रकम तिरेर छाड्न पाउँछन् ।

मन्दिरका मूल पुजारी नारायण घिमिरेका अनुसार मन्दिरका १० वटा साना मन्दिर छन् । ती मन्दिरमा छुट्टा छुट्टै पुजारीहरु छन् । सिजन हेरेर आउने भक्तजनहरु बस संचालन गरेपछि एकनास आउन थालेको पाइन्छ ।
पहिला माईक्रो बसको झन्झट र दुःख हुने भएकोले मन लागे पनि आउन अलि अप्ठ्यारो मान्ने भक्तजनहरु अहिले खुसीसाथ निःशुल्क बस चढेर आउने गरेका छन् । उनले भने, ‘आफ्नै बसमा आउँछन् जान्छन्, भक्तजनहरु थपिएका पनि छन्, सजिलो पनि भएको छ, अझै वृद्धा तथा अशक्तका लागि त निकै राम्रो भएको छ ।’

भक्तजनलाई आउन जानको लागि सुविधा पु¥याउने उद्देश्यले बस संचालन गरिएको सिद्धबाबा धाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए ।

भक्तजनको सहजताका लागि २६ लाख ६० हजारमा २६ सिट क्षमताको टाटाको गाडी ल्याइएको उनले बताए । उक्त धार्मिक तथा पर्यटकीय आवश्यकताअनुसार धार्मिक बस संचालन गरिएको र दान पात्रमा जम्मा भएको रकमबाट बसको संचालन खर्च व्यवस्थापन गरिएको समितिका कोषाध्यक्ष प्रेम पाण्डेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप