मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा गिट्टी बालुवा उत्खनन गर्ने ठेकेदारका टिपर, जेसिभीसहित ४ जना चालक पक्राउ

सोमबार, २० माघ २०७६, १२ : २१
सोमबार, २० माघ २०७६

जनकपुर । धनुषाको मिथिला नगरपालिकास्थित एक खोलामा अवैधरुपमा बालुवा गिट्टी उत्खनन् कार्यको विरोध गर्दा दिलिप महतोको हत्या भएको महिना नवित्दै सो क्षेत्रमा पुनः अवैधरुपमा बालुवा गिट्टी उत्खनन् कार्य सुरु भएको छ । 

धनुषाको चुरे क्षेत्रमा फेरि अवैध उत्खनन हुन थालेको खबर पाएलगत्तै प्रहरीले करिब आधा दर्जन सामग्रीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

धनुषा–सिरहाको सीमा क्षेत्र भएर बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैध उत्खनन गर्ने टिपर र जेसीभी आईतबार मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

चुरे क्षेत्रस्थित कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला धनुषाका प्रहरीले ४ वटा टिपर, १ जेसीभी र ४ जना चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए ।

बा३ख ७६००, बा१ख २९३९, ना२ख २८४ र ना२क २७८ नम्बरको चार टिपर र बा२का २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जनाए ।

पक्राउ पर्नेमा तीन जना टिपरका चालक र एक जना जेसीभीका चालक छन् । एक जना टिपरका चालक भने फरार भएका प्रहरी निरीक्षक कार्कीले बताए । 

प्रहरीले नियन्त्रणमा लिएको टिपर र जेसीभी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियास्थित उपेन्द्र साहले संचालन गरेको मिथिला कन्ट्रक्सनले उत्खननको लागि ठेक्का लिएको पाइएको छ ।

पुस २५ गते मिथिला नगरपालिका वडा नम्बर ५ स्थित औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला तस्करहरुले स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या गरेका थिए ।

यता दिलीप महतोको हत्या पश्चात मुलुकभर चुरे क्षेत्रको दोहनको विरोध गर्दै दिलिपलाई पर्यावरण शहिद घोषणा गर्न दवावमुलक कार्यक्रमहरु गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप