केन्द्रीय संस्करण
पत्रपत्रिका

प्रेस रिभ्यू : रुष्ट फकाउन ओलीको डिनर डिप्लोमेसी, शक्तिशाली वामदेव

नेकपाको बटमलाइनः एमसीसी परिमार्जनपछि कार्यान्वयन

person explore access_timeमाघ २१, २०७६ chat_bubble_outline0

काठमाडौँ । आज माघ २१ गते मङ्गलबार देशका प्रमुख राष्ट्रिय दैनिकमा कोरोनाभाइरस, एमसीसी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिबारेमा समाचारहरु प्रकाशित छन् ।

भारतको नयाँ बजेटले नेपालमा दबाब बढेको भन्दै यसले पुँजी पलायनदेखि वैदेशिक लगानी भारततर्फ आकर्षित हुन सक्ने जोखिम रहेको कान्तिपुर दैनिकमा समाचार छ । कृषि र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै आएको भारतको नयाँ बजेटले आर्थिक क्षमता कमजोर भएकाले नेपाललाई भने सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पर्ने देखिएको छ । नेपालको दुई तिहाइ व्यापार भारतसँग निर्भर छ । आफ्नो आन्तरिक उत्पादनलाई थप प्रतिस्पर्धी तथा सस्तो बनाउने कार्यक्रमसहित गत शनिबार आएको ३०.४२ लाख करोडको भारतीय बजेटले नेपाली अर्थतन्त्रमा केही प्रत्यक्ष असर पर्ने भएको हो । व्यक्तिगत आयकर लाग्ने रकमको सीमामा परिवर्तन र दिेशी लगानीकर्तालाई छुट तथा अन्य विशेष सुविधा कारण नेपालबाट अनौपचारिक रुपमा पुँजी पलायनदेखि लिएर अन्य मुलुकहरुको प्रत्यक्ष वैदेशिक लगानीसमेत भारततर्फ आकर्षित हुने आँकलन गरिएको छ । अन्य मुलुकहरुबाट आयात हुने केही सामग्रीहरुको भन्साल महसुलमा वृद्धि गरिएको र त्यस्ता वस्तुमा नेपालले भन्सार सुविधा पाउने कारणले केही अवसरका पक्षसमेत भारतीय बजेटले देखाएको छ । ‘ठूलो अर्थतन्त्र, प्रतिस्पर्धी क्षमतामा बलियो भएको भारतको प्रायः बजेटले नेपाललाई नाकात्मक असर नै गर्ने हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘मुख्य गरी कृषि तथा औद्योगिक उत्पादनमा सस्तो प्रतिस्पर्धी हुँदा हामीलाई त्यसले असर गर्छन् ।’

बौद्धस्थित होटेल हायातको जग्गा विवादमा हस्तक्षेप गरी दोषीमाथि कारबाही गर्न संसदीय समितिले एक वर्षअघि दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि नदेखाएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सरकार र निजी समूहको संयुक्त लगानी रहेको होटेल हायातको सञ्चालक समितिले गैरकानुनी रूपमा सरकारको सेयर ३९।७७ प्रतिशतबाट ९।०१ प्रतिशतमा झारिदिएपछि समितिले छानबिन गरेर कारबाहीको सिफारिस गरेको थियो । सरकारी कागजपत्र किर्ते गरी आफूखुसी निर्णय गरेर राज्यलाई क्षति पुर्‍याएको भन्दै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गत चैतमा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, तीन सय चार करोडको सम्पत्तिमा सरकारको सेयर ३०।७६ प्रतिशत घट्दा पनि सरकार मौन बसेको छ । बौद्धमा अन्तर्राष्ट्रिय चेन होटेल हायात निर्माण तथा सञ्चालन गर्ने प्रस्ताव लिएर आएका राधेश्याम सर्राफ र रामलाल श्रेष्ठको समूहले साझेदार बन्न सरकारलाई पनि सहमत गराएका थिए । ५ मंसिर ०४९ सालको मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले तारागाउँ विकास समितिको एक सय ५० रोपनी जग्गा सेयरका रूपमा हायात होटेलमा लगानी गरेको थियो । यो जग्गाको मूल्य प्रतिआना ६२ हजार पाँच सयका दरले १५ करोड मूल्यांकन गरिएको थियो । सो जग्गामा रहेका भौतिक संरचनाको थप दुई करोड पनि सरकारको तर्पmबाट लगानी भएको थियो । सुरुवातमा सरकारले १७ करोड लगानी गर्दा सर्राफ समूहले १५ करोड ४५ लाख र श्रेष्ठ समूहले १० करोड ३० लाख लगानी गरेका थिए । यसरी सरकारको ३९।७७ प्रतिशत तथा सर्राफ र श्रेष्ठ समूहको ६०।२३ प्रतिशत सेयरबाट होटेल निर्माण सुरु भएको थियो । होटेल सञ्चालन गर्न सरकारको तारागाउँ विकास समितिबाट तीनजना, सर्राफ र श्रेष्ठ समूहबाट पाँचजना र स्वतन्त्र एकजना गरी नौजनाको समिति गठन गरिएको थियो । सांस्कृतिक केन्द्रसहितको होटेल निर्माण गर्न एक सय ५० रोपनी जग्गा अपर्याप्त हुने भन्दै ५ जेठ ०५१ मा सरकारको थप एक सय ५४ रोपनी जग्गा पनि हायातले लिजमा लिने निर्णय भएको थियो । प्रतिरोपनी वार्षिक १० हजार रुपैयाँका दरले एक सय ५४ रोपनी २९ वर्षका लागि होटेललाई दिने सम्झौता भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले उपाध्यक्षमा चयन गरेसँगै वामदेव गौतम शक्तिशाली भएको नागरिक दैनिकमा समाचार छ। उनी यसअघिदेखि नै संगठन विभागको संयोजक छन्। विधान संशोधन गरेर संगठन विभागको अधिकार थपेसँगै पार्टी कार्यकर्ता परिचालनको जिम्मा विभागलाई नै दिएपछि गौतम शक्तिशाली भएका हुन्। नेकपामा करिब आठ लाख संगठित सदस्य छन्। संगठन विभागलाई नियमावलीअनुसार ६ वटा अधिकार रहेकामा अहिले थपेर ११ बनाइएको छ । पार्टीमा दुई अध्यक्षपछि उपाध्यक्ष हुने भए पनि वरियतामा भने दुई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालपछि मात्रै उनको वरियता कायम गरिएको छ। उपाध्यक्ष भएपछि दुई अध्यक्षबीचको सन्तुलन कायम गर्ने भूमिका पनि उनलाई आइपरेको छ। विधानले गौतमलाई अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्य प्रयोग र पालना गर्ने, अध्यक्षलाई सहयोग गर्ने, केन्द्रीय कमिटीले तोकेको काम गर्ने तोकेको छ। विधानकै आधारमा तयार नियमावलीमा संगठन विभागको प्रमुखलाई पार्टी कमिटी परिचालनको अधिकार थपिएको छ। सो अधिकार र जिम्मेवारी पाएपछि बुधबारबाट शनिबारसम्म उपाध्यक्ष गौतम २ नं। प्रदेशको पार्टी काममा निस्कने भएका छन्। गौतम निकट स्रोतका अनुसार पार्टीले दिएको जिम्मेवारीअनुसार सातवटै प्रदेशमा संगठन निर्माण र परिचालनमा जाने उनको योजना छ। साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख रहेको संगठन विभाग बनाएको थियो । त्यसपछि २९ असोजमा विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी सदस्य थपिएका थिए। त्यसपछि बनेको नियमावलीअनुसार विभाग ३५ सदस्यीय रहने व्यवस्था गरियो। ३० असोजमा बसेको विभागको पहिलो बैठकले पार्टी नियमावलीमा संशोधन, संगठित सदस्यता नवीकरण, संगठनात्मक कामलाई गति दिन तत्काल गर्नुपर्ने काम, पार्टीका नेता–कार्यकर्ता तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिताजस्ता विषयमा कार्ययोजना बनाई सचिवालयमा पेस गरेको थियो । त्यसअनुसार संगठन विभागलाई शक्तिशाली बनाउन नेकपाले पार्टी नियमावलीमै परिवर्तन ग-यो।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेकपाको कार्यदलको सोमबार पहिलो बैठक वसेर कार्यविधि तय गरेको अन्नपूर्ण दैनिकमा समाचार छ । ‘हामीले पहिलो बैठक गरिसक्यौं । बैठकले एमसीसीसँग सम्बन्धित सबै सरसामग्री संकलन गर्ने, अध्ययन गर्ने र सुझावसहितको प्रतिवेदन सचिवालयलाई दिने गरी कार्यविधि बनाएका छौं,’ कार्यदल संयोजकसमेत रहेका नेकपा वरिष्ठ नेता खनालले भने, ‘हामी जस्ताको तस्तै स्वीकार गर्नुपर्छ भन्ने तरिकाबाट जाँदैनौं । अस्वीकार गर्नुपर्छ भन्ने पक्षमा पनि छैनौं । कहीं न कहीं बीचको बाटो खोज्छौं ।’ कार्य दलले नेतृत्वलाई प्रतिवेदन दिएपछि सचिवालयले त्यसमा छलफल गरेर निर्णय लिने नेकपाले जनाएको छ । ‘संशोधन, परिमार्जन, आवश्यक परे अमेरिकासँगै संवाद के–के गर्नुपर्ने हो, सबै कार्यदलले दिएको सुझावका आधारमा निर्णय लिने भन्ने छ’, अध्यक्ष दाहालले एमसीसीबारे पार्टी बैठकमा भनेका थिए । पुष्पकमल दाहालको यो भनाइले पनि पुष्टि हुन्छ– नेकपा एमसीसीमा परिमार्जनपछि मात्र अगाडि बढ्न चाहन्छ । एमसीसीका नेपाल प्रमुख खडकबहादुर बिष्टले भने सम्झौता संशोधन गर्न खोज्दा एमसीसीकै भविष्य अन्योलमा पर्न सक्ने बताउँछन् । ‘संशोधन गर्ने हो भने यसलाई अमेरिकी सिनेटमै लैजानुपर्ने हुन सक्छ । उता (अमेरिका) को ‘प्रोसेस’ पनि लामो छ’, विष्टले भने ।

कान्तिपुर दैनिकमा ‘ओलीको डिनर डिप्लोमेसी’ शीर्षकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरुका लागि बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज आयोजना गरे । साँझ ६ देखि करिब ९ बजेसम्म चलेको भोजमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल साँझ ७ बजेतिर मात्रै पुगे । नेपाल पुगेपछि ओलीका छेउमा बसिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिट छाडिदिए ।

ओली र नेपाल नजिकिए । ६–७ वटा व्यक्तिगत निमन्त्रणाका बाहिरी भोजहरु सकेर बालुवाटार पुगेका नेपालले खानामा उति रुचि देखाएनन् तर उनलाई लालमोहन मनपर्छ भन्ने थाहा पाएका ओलीले हलुवा र लालमोहन ल्याइदिन आग्रह गरे । नेपालले मिठो मानेर खाए । ठूल्ठूलो स्वरमा गीत बजिरहेकाले के भलाकुसारी भयो भनेर भोजमा सहभागी अरुले सुन्न सकेनन् तर उनीहरुबीच निकैबेर कुरा भयो । गत कात्तिक अन्तिम साता झन्डै दुई घण्टा छलफल गरेयता ओली र नेपालबीच सौहार्दपूर्ण रुपमा संवाद भएको देखिएको टिप्पणी त्यहीँ पनि भएको थियो । प्रधानमन्त्री ओली रात्रिभोजमा धेरैबेर बसे, नेपालसँग मात्रै होइन, अरु नेता र कार्यकर्तासँग पनि संवाद गरे, हात मिलाए र फोटो खिचाए । खासखास अवस्थामा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रम आयोजना गरेर आफूसँग भड्किएका नेता कार्यकर्तासँग दुरी घटाउने कोसिस गरेका नजिर थुप्रै छन् । त्यस्ता खास अवस्था के हुन् त ? ओली निकट एक नेता भन्छन्, ‘पार्टीमा आफू कमजोर भएका बेला, पार्टीभित्रको अर्को गुट सलबलाएका बेला र बनिरहेको अर्को कुनै समीकरण भत्काउनुपरेको बेला उहाँले डिनर डिप्लोमेसी अपनाउनुहुन्छ ।’

बालविवाह नरोकिँदा किशोरी आमा बढ्दै गएको नागरिक दैनिकमा समाचार छ । जिल्ला अस्पताल रोल्पामा १८ विर्षीया एक किशोरी भेटिइन्, जो आमा बनिसकेकी छिन्। आफ्ना दुई वर्षीय छोरालाई रुघाखोकी र ज्वरोले सताएपछि उनी अस्पताल आएकी हुन्। झट्ट हेर्दा आमा भनेर पत्याउन गाह्रो पर्ने उनी रोल्पा नगरपालिका दार्बोटकी जयकला परियार हुन्। लहलहैमा लागेर १५ वर्षको उमेरमा विवाह गरेकी उनले १६ वर्षकै उमेरमा बच्चा जन्माएकी हुन्। पढाइ छाडेर सानै उमेरमा बिहे गरेकी जयकला अहिले आफ्ना दौंतरीहरूले विद्यालय गएको देख्दा नरमाइलो मान्छिन्। हाल वैदेशिक रोजगारीमा गएका पतिले पनि खासै नपढेको उनले सुनाउँछिन्। ‘सानैमा बिहे गर्दा पढाइ बिग्रियो, खेल्नेपढ्ने उमेरमा बच्चा हुर्काउनुपरेको छ,’ उनी भन्छिन्, ‘श्रीमान् बिदेसिए पनि घरपरिवारलाई रिझाएर बस्नुपरेको छ।’ बालविवाह अन्त्य नहुँदा रोल्पामा अझै बर्सेनि जयकलाजस्ता सयौं किशोरी आमा बनिरहेका छन्। यी त केही प्रतिनिधि घटना मात्र हुन्। यस्ता फरकफरक कथा यहाँका अस्पताल वा स्वास्थ्य संस्थामा दैनिक देखिन्छन्। रोल्पा जिल्ला अस्पतामा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा दुई सय ३८ सुत्केरी भएकोमा ५१ जना २० वर्षमुनिका थिए। तीमध्ये आठजनाको अवस्था जटिल देखिएपछि शल्यक्रिया गर्नुपरेको अस्पतालको तथ्यांकले देखाएको छ। अस्पतालको तथ्यांकअनुसार अघिल्लो ६ महिनामा औषधि सेवन तथा उपकरण प्रयोग गरेर एक सय एकजनाको गर्भपतन गरिएकोमा सातजना २० वर्षमुनिका थिए। त्यसैगरी विभिन्न महिलाका तीन सय ८६ पटक गर्भ जाँच गरिएकोमा ६२ पटक २० वर्षभन्दा कम उमेरका किशोरीको गर्भ जाँच भएको थियो। त्यसो त यहाँ गर्भनिरोधका साधन प्रयोगकर्तामध्ये २० वर्षमुनिका किशोरी धेरै रहेको तथ्यांकले देखाएको छ।

चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए हाहाकारै हुने वडाध्यक्ष तेन्छेवी शेर्पा बताउँछन्। ‘कोरोना भाइरसको कारण देखाउँदै चीनले माघ ५ गतेदेखि नाका ठप्प पारेको छ’, शेर्पाले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘अहिलेसम्म स्टकले धान्यौं, अब यहाँका १ सय २० घर भोकभोकै बस्नुपर्ने अवस्था आयो।’ चामल, नुन र तेल अभाव भएको उनले सुनाए। उनका अनुसार किमाथांका र चीनको चाँगा बजार बीचमा पर्ने कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन्। खाद्यान्न खरिदका लागि खोलिदिन प्रस्ताव गर्दा अस्वीकार गरेको उनले सुनाए। किमाथांका जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा पर्छ। स्थानीयवासी दैनिक उपभोग्य वस्तुका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन्। सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीलाई पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष पान्जम भोटेले बताइन्। नाकासँगै चीनले चाँगा, रिउ, ल्हासालगायत बजार पसलसमेत बन्द गरेको छ। त्यहाँ चिनियाँ नागरिकलाई नै हिँडडुलमा रोक लगाएको जनाइएको छ। भोटखोलासम्म सडक पुगेको छ। त्यहाँसम्म ट्र्याक्टरबाट ढुवानी गर्न सकिने भए पनि त्यसभन्दा माथि लैजान सक्ने अवस्था छैन। बीचको अग्लो पहाडमा हिमपात हुने भएकाले मंसिरदेखि वैशाखसम्म आवतजावत ठप्प हुन्छ।

काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सञ्चालित विद्यालय पुनर्निर्माणमा विवाद हुँदा चार वर्षदेखि टहरामै पठनपाठन भइरहेको नयाँ पत्रिका दैनिकमा समाचार छ । थोरै विद्यार्थी भएका अन्य क्षेत्रका विद्यालयसमेत पुनर्निर्माण भइसक्दा हजारौँ विद्यार्थी अध्ययनरत भक्तपुर, काठमाडौं दरबार क्षेत्रका बालबालिका भने कतै टहरा त कतै जीर्ण भवनमा पढ्न बाध्य छन् । विश्व सम्पदा क्षेत्रमा परेको भक्तपुर दरबार क्षेत्रमा तीन माध्यमिक विद्यालय सञ्चालनमा छन् । दरबार क्षेत्रमा सञ्चालित एउटै विद्यालयमा एक हजार ६ सयसम्म विद्यार्थी अध्ययनरत छन् । तर, पुरातात्विक क्षेत्र भएकाले फलामेरड र सिमेन्ट प्रयोग गरेर ९आरसिसी० भवन बनाउन नदिएपछि विद्यार्थी पीडामा परेका हुन् । पुरातत्व विभाग तथा भक्तपुर नगरपालिकाले सुर्की प्रयोग गरेर मात्र विद्यालय भवन बनाउने भए अनुमति दिने तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षाका हिसाबले रड र सिमेन्ट नै प्रयोग गर्ने अडानले विद्यालय भवन निर्माण रोकिएको हो । भक्तपुर दरबार क्षेत्रमा सञ्चालित पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडाले राम्रो भवन नहुँदा विद्यार्थीले चार वर्ष टहरामै बिताएको बताए । करिब १६ सय विद्यार्थी रहेको यो विद्यालय पुरातात्विक  क्षेत्रमा भएकाले कस्तो बनाउने भन्ने विवाद रहेको उनको भनाइ छ । उनले भने, ‘भवन निर्माणका विषयमा धेरैपटक छलफल भयो, अब बन्छ कि भन्ने आशा छ, आधिकारिक चिठी नआएसम्म भन्न सकिँदैन ।’ विद्यालय परिसरको पछाडिपट्टि नयाँ भवन बनाउने र अगाडि पहिलेको जस्तै बनाउने गरी सहमति भएको उनले बताए । यो २००७ सालअघि नै स्थापना भएको विद्यालय हो । भक्तपुर दरबार क्षेत्रमै रहेको शारदा र विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पनि यस्तै समस्या छ । भूकम्प जानुअघि विद्यार्थी निकेतन माविले नयाँ भवन बनाएकाले कम समस्या भए पनि शारदा माविका विद्यार्थी भने टहरामै छन् । मध्यपुरथिमि नगरपालिकास्थित लामकु दरबारमा रहेको आदर्श आजाद मावि पनि पुरातात्विक  सम्पदाभित्र रहेका कारण पुनर्निर्माण हुन सकेको छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.