केन्द्रीय संस्करण
विश्व क्यान्सर दिवस

‘मृत्युलाई हाँसेर, हँसाएर स्वीकार गर्नुपर्छ’

person explore access_timeमाघ २१, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

चुनीखेलका विनोद वाइबा बेडमा पल्टिरहेका थिए । बेडसँगै अक्सिजनको सिलिन्डर अनि सिलिङमा झुन्ड्याइएको स्लाइनको बोतल । नाकमा अक्सिजनको पाइप अनि हातबाट स्लाइन ।

हेर्दा सामान्य बिरामीजस्तो लागे पनि उनी चौथो चरणको क्यान्सरबाट गुज्रिरहेका छन् । यसको उपचार सम्भव छैन र आफूमाथि विस्तारै विस्तारै क्यान्सरले जित हासिल गर्दैछ भन्ने उनलाई राम्ररी थाहा छ, यद्यपि उनी मृत्युसँग सहजै आफूलाई समर्पण गर्न चाहँदैनन् ।

मन्द मुस्कानमा भन्दै थिए– म त एकदम ठीक छु ।

आफूलाई चौथो चरणको क्यान्सर भएको थाहा पाएपछि पाटन अस्पतालबाट ललितपुरस्थित हस्पिस नेपालमा आएको ३१ वर्षीय वाइबाले बताए ।

उपचार गरेर निको हुने सम्भावना नभएपछि अस्पतालको बेड ओगटेर बस्न मन नलागेर हस्पिस आएको उनले बताए । ‘उपचार गरेर निको नहुने भएपछि किन अस्पताल बस्ने ?’ उनले भने, ‘मैले अनावश्यक रूपमा अस्पतालमा ठाउँ ओगट्दा अन्य बिरामी बेड नपाएर फर्कनु त पर्दैन नि, एउटा बेड भए पनि खाली हुन्छ ।’

अस्पतालमा होहल्ला, स्वास्थ्यकर्मीको मुडअनुसारको व्यवहारका कारण दिक्क लाग्थ्यो उनलाई । अस्पतालबाट घर फर्किएपछि पनि उनलाई खासै सहज भएन । तर हस्पिस नेपालमा भने उनले एकसाथ घर र अस्पतालको दोहोरो अनुभूति गर्न पाएका छन् ।

क्यान्सरको चौथो चरणमा गुज्रिएर हस्पिस नेपालमा बसिरहँदा आफूलाई घरमै बसिरहेको छु भन्ने आभास भइरहेको उनी बताउँछन् ।

यद्यपि यसरी बेडमा पल्टिरहँदा उनलाई विभिन्न परिकारका खाना खान र घुम्न मिल्दैन । साथीभाइ र आफन्तको सम्झनाले पनि धेरै सताउने उनी बताउँछन् । तर बाचुन्जेल हाँसेर र हँसाएर बाच्नुपर्छ भन्ने उनलाई लाग्छ ।

कक्षा १२ उत्तीर्ण गरेपछि सङ्गीत सिक्ने र स्कुलमा अध्यापन गर्थे उनी । विभिन्न साङ्गितिक कार्यक्रममा गितार बजाएका, गीत गाएका, विद्यार्थीलाई अध्यापन गराएका अतितका पलहरु सम्झिँदै मुस्कुराउँछन् ।

एक कार्यक्रममा गितार बजाइरहँदा उनलाई घाँटीमा असहज महसुस भयो । बाहिरबाट छाम्दा घाँटीमा सानो मासुको डल्लो भएको थाहा पाए । त्यसपछि त्यसको अप्रेसन गरेको सुनाए । घाँटीको अप्रेसनसँगै उनको दैनिकी सहजरूपमा चलिरहेको थियो । केही समयपछि उनको स्वास्थ्यमा समस्या देखापर्न थाल्यो ।

उपचारको क्रममा विभिन्न ६ वटा अस्पतालमा धाएका उनलाई चौथो चरणको क्यान्सर भएको चिकित्सकहरुले बताए । करिब ८ वर्षसम्म उपचारका लागि अस्पताल धाउने क्रममा इमाडोलस्थित उनको घर बिक्री भयो । इमाडोलको घर बेचेपछि चुनिखेलमा आमाबुबासँग बस्न थालेको उनले बताए ।

‘दैवको लीला, आमालाई पनि पाठेघरमा गम्भीर समस्या देखियो,’ उनी भन्छन्, ‘आमाको उपचार राम्रो भइरहेको छ ।’

बाँचुन्जेल सहजरूपले बाँचोस् भनेर आफूलाई आफ्नै परिवारले हस्पिसमा ल्याइदिएको उनले बताए । ‘परिवारले घरजग्गा बेचेर मेरो उपचार गरे,’ उनी भन्छन्, ‘भएभरको सम्पत्ति बेचेर मलाई उपचार गर्दा पनि बाँच्ने सम्भावना रहेन, बाँचुन्जेल आमाबुवा अनि बहिनी पनि अभावै अभावमा जिउनुपर्ने भयो ।’

सबै मनुष्यको जन्मपछि मृत्यु अवश्यंभावी छ तर विनोदजस्तै क्यान्सरको चौथो चरणमा पुगेर औषधि उपचार सम्भव नभएका धेरै बिरामी मृत्युको पखाइमा छटपटाइरहेका हुन सक्छन् ।

उपचारका क्रममा धन सकिन्छ, मन टुट्न थाल्छ । यस्तो अवस्थामा बिरामीको मनमा मल्हम लगाउने काम हस्पिस नेपालले गरिरहेको हस्पिसका इन्चार्ज गणेश कोइराला बताउँछन् ।

१९ वर्षअघि स्थापना गरिएको हस्पिस नेपालमा ४२ सय क्यान्सर पीडितले सेवा लिएको उनले बताए । हस्पिसमा  ग्रामीण भेगका क्यान्सरका बिरामी आउने  गरेको उनको भनाइ छ ।

‘नेपालको दुरदराज क्षेत्रबाट उपचार गर्न काठमाडौँको सरकारी अस्पतालमा आउँछन्,’ उनले भने, ‘चौथो चरणको क्यान्सरको उपचार सम्भव नभएपछि बिरामीलाई घरमा लगेर राख्नु पर्ने हुन्छ । घर लैजान असम्भव हुने बिरामी यहाँ आइपुग्छन् ।’

बिरामीको मृत्यु भइसकेपछि दाहसंस्कार गर्नका लागि आर्थिक अभाव भएका केही बिरामीलाई दाहसंस्कारको व्यवस्थासमेत गरेको उनले सुनाए ।

क्यान्सरका कारण जीवन र मरणको दोसाँधमा पुगेका, अस्पतालबाट फिर्ता भएर घरसम्म पुग्न र खान बस्न नसक्ने बिरामीको स्थिति प्रमाणित भए निःशुल्क सेवा दिने हस्पिसको प्रावधान रहेको उनले बताए ।

आर्थिक रूपमा सबल बिरामीका परिवारबाट सामान्य शुल्क लिने गरेको उनी बताउँछन् । हस्पिसमा आफन्तलाई ल्याएर राखिसकेपछि यो संस्थालाई थोरै भए पनि सहयोग गराँै भन्ने भाव धेरैमा पैदा भएको उनले बताए ।

हस्पिसमा कुनै धार्मिक बन्देज नभएका कारण धर्मअनुसार बिरामीले नित्य कर्म गर्न सक्ने उनले बताए । ‘हिन्दु धर्म मान्नेले पण्डित बोलाएर पूजा गर्न तथा बसेर भजन गाउन सक्छन्, क्रिस्चियन छ भने पास्चर बोलाएर प्रार्थना गर्न सक्छन्, मुस्लिमले कुरान पढ्न सक्छन्, यहाँ कुनै समस्या हुँदैन ।’

मृत्युको निकट पुगिसकेको बिरामीलाई मनोपरामर्श दिनु नै हस्पिस नेपालको मुख्य पाटो भएको उनले बताए । त्यसबाहेक बिरामीलाई के–के समस्या छन्, खोजीनीति गरेर समस्यालाई निर्मूल पार्ने प्रयास गर्ने गरेको उनले बताए । परामर्शपछि धेरै बिरामीमा बाँचुन्जेल हाँसेर–हँसाएर बाँच्नुपर्छ भन्ने भाव पैदा गराउन जरुरी भएको उनले बताए ।

रोगका कारण दुख्ने, पोल्ने, बान्ता हुने, सास फेर्न गाह्रो हुने समस्या भएका बिरामीलाई वैज्ञानिक तवरबाट निवारणका लागि सहयोग गरिने उनको भनाइ छ ।  ‘घर बस्दा बिरामीलाई गाह्रो भएको महसुस गर्छन्, उनले भने, ‘यहाँ आएपछि २४ घण्टा नर्स हुन्छन्, म मात्रै पीडित नभएर मसँगै अरू पनि पीडित रहेछन् भनेर अरूलाई हेरेर पनि चित्त बुझाउँछन् ।’

बिरामीमा चौथो चरणको क्यान्सर भए पनि मरणलाई सहजै स्वीकार्न तयार नहुने बताए । ४, ५ दिनसम्म यहाँ घुलमिल भएपछि जन्मपछि मृत्यु हो भन्न थाल्छन्, हाँस्ने–हँसाउने गर्छन्, नयाँ बिरामीलाई सम्झाउने गर्छन्, केही वृद्ध तथा अशिक्षित बिरामी मरणलाई स्वीकार्न तयार हुँदैनन् ।’

क्यान्सर भएर उपचार सम्भव नभएका बिरामीलाई बाँचुन्जेल सहजरूपमा बाँच्ने वातावरण सरकारले सिर्जना गरिदिनुपर्ने उनले बताए । क्यान्सरबाहेक औषधि उपचारको सम्भव नभएर मृत्युको पर्खाइमा बसेका बिरामीलाई हस्पिस नेपालजस्ता सेन्टर खोल्न जरुरी भएको उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...