मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गानाथ शर्मा भन्थे – मृत्युको टिकटमा डेट मात्रै राख्न बाँकी हुन्छ

बुधबार, २२ माघ २०७६, १६ : ५४
बुधबार, २२ माघ २०७६

काठमाडौं । ‘मृत्यदेखि म डराउँदिनँ । मृत्यु ध्रुव सत्य हो । जन्मेपछि मर्नुपर्छ भन्ने निश्चित छ तर कहिले ? लानेको काम हो । त्यो जाने टिकट यमराजले पहिले नै थमाएको हुन्छ रे । खाली डेट राख्न मात्र बाँकी हुन्छ ।’

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले रातोपाटीको ‘मेरो जीवन स्तम्भ’ का लागि कुराकानीका क्रममा केही महिना पहिले भनेका थिए । उनै शर्माको बुधबार बिहान असामयिक निधन भएको छ । ७२ वर्षीय शर्माको मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।

उनको २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको थियो । सोही सर्जरीमा ईजन्फेक्सनको समस्या भएपछि सुरुमा उनलाई गंगालाल अस्पताल भर्ना गरिएको थियो ।

गंगालालमा ५ दिन उपचार गरी उनलाई मंगलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । 

रातोपाटीको कुराकानीमा उनले ‘दुर्घटनामा मर्नु नपरोस्’ भन्ने आफ्नो चाहना रहेको बताएका थिए ।  उनले भनेजस्तै उनका लागि निधन सहज त भयो होला तर उनको निधनबाट नेपाली पत्रकारिता क्षेत्रका एक होनहार धरोहर भने सधैँका लागि यस संसारबाट बिदा भएका छन् । 

२००४ सालमा इलाममा  जन्मिएका शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

शर्माले ०२८ साल अम्बिका शर्मासँग प्रेम विवाह गरेको थिए भने उनका दुई छोरा (पंकज र निरज) छन् । 

सिद्धहस्ता प्रस्तुतकर्ता
शर्मा अग्रणी पत्रकारिता क्षेत्रका एक परिचितथ अनुहार थिए । अहिलेको अवस्थामा नेपाल टेलिभिजनले जुन उचाइ बनाएको छ त्यो उचाइ बनाउन पिल्लरको रुपमा काम गर्ने मध्येका शर्मा पनि एक हुन् । उनी नेपाल टेलिभिजनका पूर्वमहाप्रवन्धक समेत हुन् । 

टेलिभिजनमा समाचारवाचन र विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर शर्माले ख्याति कमाएका थिए ।

 नेपाल टेलिभिजन स्थापित हुनमा शर्माको ठूलो योगदान रहेको कलाकार तथा नेपाल टेलिभिजनका संस्थापक महाप्रन्धक नीर शाहले बताए । 

 शाहले सिद्धहस्ता प्रस्तुतकर्ता र लेखनशैली राम्रो भएको पत्रकारको रुपमा समेत शर्मालाई सम्झिए । 

सुरुमा गोरखापत्रमा काम गरेका शर्मालाई  नेपाल टेलिभिजन भित्र्याउने काम उनै नीर शाहले नै गरेका थिए । 

नव प्रतिभा रुचाउँथे 
टेलिभिजन क्षेत्रमा शर्माको जति ठुलो नाम थियो त्यो भन्दा उँचो सोच उनमा थियो ।  नव प्रतिभालाई अवसर दिनुपर्ने विचारधाराका उनी थिए । 

नयाँलाई अवसर दिने, नयाँ–नयाँ प्रयोग गर्न रुचाउने उनले आफू टेलिभिजनमा हुँदा थुप्रै नव प्रतिभालाई अवसर दिएका थिए ।  नेपाल टेलिभिजनको राष्ट्रिय प्रशारणबाट नव प्रतिभालाई उचित अवसर दिन विभिन्न कठिनाई हुने भएका कारण उनले नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटिभी–२ समेत स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

अहिले एनटिमी प्लस भनेर चिनिने सो च्यानल स्थापनामा शर्माको ठूलो योगदान रहेको वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले बताए । बास्कोटा शो समय टेलिभिजन संचालक समिति सदस्यमा थिए । 

धेरै विदेश घुम्ने पत्रकार
शर्मा एक अध्ययनशील पत्रकारको रुपमा समेत परिचित थिए । ठूलाठूला मानिसको जीवनी र वौद्धिक खालका पुस्तक पढ्न उनलाई मनपथ्र्यो । ‘मैले गान्धीलाई किन मारेँ’ नाथुराम गोड्सेले लेखेको पुस्तक उनको मनपर्ने पुस्तक मध्यको एक थियो । 

घुमघामतिर पनि शर्माको विशेष रुचि थियो । केटाकेटी जीवनमा दार्जिलिङ, सिक्किम, कालिङपोङ घुमेका उनले टेलिभिजनको जागिरेको सिलसिलामा पनि धेरै राष्ट्र घुम्ने अवसर समेत पाएका थिए । नेपाल टेलिभिजनमा हुँदा उनी तत्कालीन राजा तथा प्रधानमन्त्री लगायत भीआईपीको भ्रमणमा विदेशसँगै जाने अवसर पाउने एक मात्र पत्रकार समेत थिए । यस्तै उनले नेपालका अधिकांश जिल्लाको भ्रमण समेत सोही क्रममा गर्न भ्याएका थिए । 

समाचार प्रेमी, कलाकारका साथी

आफ्नो जीवनको धेरै समय टेलिभिजनमा बिताएका उनी समाचार प्रेमी त थिए नै खोजमूलक तथा अनुसन्धानमूलक समाचारमा रुचि राख्थे । अंग्रेजीमा समेत राम्रो दख्खल भएका उनले टेलिभिजनमा केही फरक दिने उद्देश्यका साथ ‘विश्व घटना’ टेलिभिजन कार्यक्रम समेत संचालनमा ल्याएका थिए ।

धेरैलाई थहा नहुन सक्छ । शर्मा चलचित्रको रिभ्यु पनि लेख्थेँ । ‘परालको आगो’, ‘माइतीधर’लगायत धेरै फिल्मको रिभ्यू उनले लेखेका थिएँ । उनी संगीत प्रेमी पनि थिए । देशका राम्रा संगीतकार, गीतकार, गायक गायिकासँग उनको उठबस पनि थियो । नेपाल टेलिभिजनको स्थापना कालमा उनले  गीतसंगीतको कार्यक्रम समेत संचालन गरेका थिए ।

‘मेरो टेलिभिजनको स्थापना समयमा गीतसंगीतको संगीत भन्ने कार्यक्रम थियो’ शम्भूजितले भने ‘जसको संचालन शर्माले नै गर्थे ।’ बाँस्कोटाले शर्मा आफ्नो मात्र नभएर गीतसंगीतमा लागेका धेरैको असल मित्र रहेको स्मरण गरे । 
शर्माका भाइ लक्ष्मीनाथ शर्माले पनि उनी कलाकारसंग नजिक भएको बताए । ‘दाजुले कलाकार रुचाउनु हुन्थ्यो । भेटघाट गर्नुहुन्थ्यो कलाका विषयमा कुरा गर्नुहुन्थ्यो’ लक्ष्मीनाथले भने ।

लोकदेखि आधुनिक संगीतसम्म मन पराउने उनी जीवनका लागि आनन्द दिने तथा सुखदुःखको साथी नै संगीत भएको बताउँथे ।  उनै पत्रकारका आदर्श, कलाकारका साथी र धेरैका प्रेरणाका स्रोत शर्मा अव सम्झनामा मात्रै सीमित भएका छन् । 

अल बिदा दुर्गानाथ शर्मा !  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप