शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनमा रहेका विद्यार्थीका अभिभावकको रुवाबासी र आक्रोश (भिडियोसहित)

बिहीबार, २३ माघ २०७६, १८ : १५
बिहीबार, २३ माघ २०७६

सिन्धुपाल्चोका वसन्तबहादुर भण्डारीका छोरा जितसिंह भण्डारी चीनको हुवेई विश्वविद्यालयमा एमडी पढ्दै छन् । चीनमा झन्डै ३८, ४० दिनअघिदेखि कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भण्डारीको परिवार चिन्तामा छन् । गत शुक्रबार स्वास्थ्य मन्त्रीसँग भेटेर छिटो उद्धारका लागि आफूले कुरा गरेको उनले बताए । 

छोराको चिन्तामा उनकी श्रीमती ३ पटक मुर्छा परेको उनले बताए । उद्धारका लागि मन्त्री योगेश भट्टराईले २ वटा प्लेन तयार पारेको बताउने फेरि राख्ने ठाउँको तयार नगर्ने, राख्ने ठाउँमा फेरि नाराजुलुस गर्ने गर्दा चीनमा रहेका विद्यार्थीका अभिभावक तनावमा रहेको उनले बताए । संसदमा काँग्रेसले उद्धारका लागि आग्रह गर्ने तर बाहिर विरोध प्रदर्शन गरेकोमा उनले आक्रोश व्यक्त गरे । सरकारले छोरालाई समयमा नेपाल नर्फकाएको भन्दै कुराकानीका क्रममा उनी स्वयं भक्कानिए । 

वसन्तबहादुर भण्डारी

पाटनकी हसना ताम्राकारकी छोरी पनि चीनमा डाक्टरी अध्ययनको क्रममा छिन् । छोरी सिङ्गो बिल्डिङमा एक्लै परेको र उनले नेपाल फर्कन चाहेको बताउँदा आँशुले उनका आँखा भरिए । 

उनकी छोरी साहना ताम्राकार चीनको छिन्चुमा छुट्टै डेरा लिएर बसेकी छिन् । उनी एकदमै समस्यामा परेको भन्दै फोनमा रुने गरेको बताइन् । नयाँ वर्ष मनाउन चिनियाँहरु घर गएका कारण ठूलो बिल्डिङमा एक्लै रहेको उनले बताइन् । उनले रुँदै भनिन्– ‘एक्लै बसिरहेकी छिन् ठूलो विल्डिङमा । मलाई त्यही कुराले डर लाग्छ । अब हामी पनि जान नसक्ने थाहा छैन अर्काको देशमा के गर्ने । यहाँ भए दौडिएर जान हुन्थ्यो, त्यसरी जान नसक्ने । हिजो पनि रोएर फोन गरेकी थिइन् । सरकारले पनि उद्धार नगर्ने, हिजो भक्तपुरमा विरोध प्रदर्शन गरेपछि झन् चित्त दुःखाएकी छिन् । भोलि उनीहरुले त यही देशको सेवा गर्ने हो नि । अहिले त यहाँ बसेर केही फाइदा छैन भन्न थालेका छन् ।’

ललितपुरका भगवतीलाल कक्षपतिकी छोरी पनि चीनमा अध्ययनका क्रममा छिन् । छोरी उद्धारको प्रतीक्षामा रहेको बताउँदै उनले सरकारले छिटो उद्धार गर्नुपर्ने बताए । उनकी जेठी छोरी सोमिला कक्षपतिले वुहानमा रहेकी बहिनीको स्वास्थ्य अवस्था ठीक रहेको र उनी नेपाल फर्कन चाहेको बताइन् । उनकी बहिनी अस्पतालको २ सय मिटर नजिक बसेका कारण सङ्क्रमण हुने हो कि भनेर मानसिक तनाव रहेको बताइन् । यसका साथै पसलहरु सबै बन्द भएका कारण खानेकुरा के खाने भन्ने समस्या रहेको बताइन् । 

भगवतीलाल कक्षपति

वुहानबाट नेपाल ल्याइएका विद्यार्थीलाई केही समय छुट्टै राख्नुपर्ने हुन्छ । उनीहरुलाई छुट्टै राख्न प्रस्ताव गरिएका ठाउँका स्थानीयले विरोध गरेकोमा सोमिलाले दुःख लागेको बताइन् ।  स्वस्थ व्यक्ति मात्र आउने र उनीहरुलाई कुनै ठाउँमा राख्दैमा बाहिर भाइरस जान्छ भन्ने भ्रम हटाउन आवश्यक रहेको उनले बताइन् । 

चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वका धेरै देशमा सन्त्रास बढाइरहेका बेला नेपालमा पनि चिन्ता बढेको छ । अझ चीनमा अध्ययनका लागि गएका विद्यार्थीका अभिभावक चैनले निदाउन सकेका छैनन् । उनीहरुले  सरकारले केही नगरेको भन्दै आक्रोश र गुनासो गरेका छन् । उनीहरु आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिनुपर्‍यो भनेर स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा धाइरहेका छन् । 

सोमिला कक्षपति

भगवतीलाल कक्षपतीकी छोरी ५ वर्षदेखि एमबीबीएस अध्ययन गरिरहेकी छिन् । छोरीको उद्धारको प्रतीक्षामा रहेका उनले भने– ‘बच्चाले स्वस्थ पानी खान पनि अभाव भइसक्यो भनेको छ, उनीहरुले बनाएको खानेकुरा खानुपर्ने भनेको छ जुन खान लायक पनि छैन रे । सरकारलाई पहल गरेका छौँ । ल्याउँछु भनेका छन् यहाँ राख्ने ठाउँ छैन मात्र भन्नुभएको छ ।’ 

चीनको विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुमा भाइरस सङ्क्रमण नभए पनि लामो समय त्यही बस्दा सङ्क्रमण होला कि भन्ने डर लागेको अभिभावकले चिन्ता व्यक्त गरेका छन् । 
भरतराज ढकालकी भान्जी प्रमिला ढकाल पनि चीनमा अध्ययनको क्रममा छिन् । उनी त्यहाँ आत्तिएको अवस्थामा रहेको र छिटो नेपाल फर्किन चाहेको उनले बताए । सरकारले नेपाल फर्काउन प्रयास नगरेको भन्दै गुनासो गरेका उनले विद्यार्थीलाई त्रासमा नराखी छिटो नेपाल फर्काउन आग्रह गरे । 

भरतराज ढकाल

गोपालबहादुर श्रेष्ठका भान्जा डा. सबिरकुमार श्रेष्ठ २ महिनाअघि एमडी गर्न चीन गएका थिए । उनी अहिले विश्वविद्यालयभित्रै सुरक्षित रहेको तर बन्दी जस्तो अवस्थामा रहेको श्रेष्ठले बताए । बेलुका फोन गरेर दिन प्रतिदिन सङ्क्रमण बढेको बताउँदै पानी पनि राम्रो खान नपाएको, पैसा भए पनि बजार बन्द भएका कारण किनेर खान नपाउने अवस्था रहेको बताएको उनले सुनाए । 

गोपालबहादुर श्रेष्ठ

दिनेश श्रेष्ठकी छोरी श्रद्धा श्रेष्ठ चीनमा अध्ययन गर्न गएको ५ वर्ष भयो । उनी पनि अहिले उद्धारको प्रतीक्षामा रहेकी छिन् । छोरी अहिलेसम्म सङ्क्रमित नभएको बताउँदै तुरुन्त उद्धार गर्न उनले सरकारलाई आग्रह गरे । यसबारे उनले यसबारे मन्त्री र राजदूतसँग पनि कुरा गरेको बताउँदै नेपालमा क्वारेन्टाइनमा राख्ने क्षेत्रमा विरोध गर्ने स्थानीयहरुले पनि कुरा बुझ्न आग्रह गरे । 

दिनेश श्रेष्ठ

चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि विमला श्रेष्ठका आँखा पनि ओभाएको छैनन् । छोरा कैदीको अवस्थामा चीनको सियानमा बसेको बताउँदै नेपाल फर्काउन आग्रह गरिन् । खरीपाटी, नागार्जुन नगरपालिकामा क्वारेन्टाइनमा राख्न नदिने भन्दै विरोध प्रदर्शन गरेकोमा उनले दुःख व्यक्त गरिन् । उनले भनिन्– ‘भोलि उनीहरुले यही देशको सेवा गर्ने हो । अहिले त्यसरी किन विरोध गर्नु ।  जनताले पनि उनीहरु सङ्क्रमित भएर यहाँ रोग फैलाउन आउने हैनन्, त्यो कुरा बुझ्नु प¥यो ।’

विमला श्रेष्ठ

चीनमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकहरु अहिले एकजुट भएर आफ्ना सन्तानको उद्धार छिटो गर्नुपर्‍यो भन्दै सिंहदरबार धाइरहेका छन् । 

क्वारेन्टाइनका लागि चार ठाउँ तोकियो
यसैबीच चीनबाट उद्धार गरेर ल्याइने १ सय ८० विद्यार्थीलाई क्वारेन्टाइनमा राख्नका लागि सरकारले काठमाडौँमा चार स्थान छनोट गरेको छ । शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री तथा मन्त्रालयका सचिवलाई क्वारेन्टाइन व्यवस्था गर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले हतारमा नल्याई पूरा तयारी गरेर मात्र विद्यार्थी ल्याउने बताए । उनले चीनमा पनि अझै तयारी पूरा नभएको बताए । चीनमा ६ सहरमा विद्यार्थी रहेको र उनीहरु ५ सय किलोमिटर फरकमा रहेको बताउँदै त्यसका लागि दूतावासले काम गरिरहेको जानकारी दिए । सरकारले ठाउँ खोजिसकेको बताउँदै व्यवस्थित बनाएर क्वारेन्टाइनमा राखिने बताए । 

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप