केन्द्रीय संस्करण
संगीत

गितारका 'जादुगर'

जीवनको २५ औँ वर्ष टर्निङ पोइन्ट

personaccess_timeFeb 08, 2020 chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

‘कर्म गर फलको आशा नगर’ । हिन्दुग्रन्थ गीताको यो एक वाक्य  निकै प्रचलित छ । उनले यही सिद्धान्तलाई पछ्याए, नजानिकनै । कर्मले कता डोहोर्‍याउला कुनै पत्तो थिएन । बस् त्यसमै डुबिरहे खुसीका साथ, निरन्तर । उनी ९, १० वर्षको हुँदा गितारप्रति जुन ‘भोक’ जागृत भएको थियो, त्यो ३ दशक पूरा भइसक्दा पनि मेटिएको छैन । सिक्ने र सिकाउने क्रम जारी छ । तर कुनै आशा नगरी गरिएको त्यो कर्मले उनलाई निकै मीठो फल दिएको छ । यति कुरा निश्चित छ, कहिले तृप्त नहुने उनको त्यो भोकले नै उनलाई सगर्व यो स्थानमा उभ्याएको छ । उनको नामलाई नै ब्रान्डका रूपमा स्थापित गराएको छ । सार्वजनिक स्थानमा सकेसम्म बोल्नै नपरे पनि हुन्थ्यो भनेर सोच्ने तर वास्तवमा निकै हँसीमजाक गर्नुपर्ने व्यक्ति नेपालमा जिप्सी ज्याजका ‘लेजेन्ड’ उनी हुन्– हरि महर्जन ।

पाटनस्थित निर्माणाधीन उनको आफ्नै बुटिक होटलमा रातोपाटीसँगको करिब एक घण्टाको भलाकुसारीमा हरिले निकै ‘जली मुड’मा बाल्यकालदेखि अहिलेसम्मको गितार यात्राबारे जानकारी दिए ।

बाल्यकालः

उनी जैसिदेवलको ह्युमत टोलस्थित महर्जन समाजमा एक संयुक्त परिवारमा हुर्किएका हुन् । घरको कान्छो छोरा न थिए, निकै ‘बदमास’, चकचके र पुल्पुलिएका । घरमा धेरैजसो गाली उनैले खान्थे । बाल्यकाल आफूले स्वर्गीय आनन्दमा व्यतित गरेको उनी बताउँछन् । ‘म सानैदेखि हँसीमजाक गनुपर्ने मान्छे । साथीभाइसँग रमाइलो समय नै व्यतित गरेँ । त्योबेलाको काठमाडौँ निकै राम्रो र रमाइलो थियो । इन्टरनेट, मोबाइलरहित समय । त्यसैले साथीहरुसँग बस्यो, गितार हातमा, सङ्गीत साथमा । आहा ! स्वर्गीय आनन्द थियो नि ।’

उनको बुवा निर्माण व्यवसायी । भवन, सडकलगायतको निर्माणमा बुवाको सहभागिता भएकैले होला आमा–बुवाले उनलाई इन्जिनियर बनाउन चाहन्थे तर कोसिस फेल खायो । भैदिए, गितारवादक ।

‘गितार ट्युनिङ नै नगरी डेढ वर्ष बजाएँ’

उनी ६, ७ वर्षका मात्रै थिए । नेवारी समाजको चलनचल्ती अनुसार उनलाई धिमे सिकाइयो । जसलाई उनले तीन वर्षसम्म निरन्तरता दिए । धिमे उनले घरमै, टोलमै,  प्रत्येक जात्रामा देखेका थिए । उनलाई धिमे बजाउँदा कम्ता मजा आउँदैनथ्यो । सङ्गीतमा मोह त्यतिबेला नै बसिसकेको थियो । त्यतिबेला रेडियोमा बज्नेदेखि क्यासेट प्लेयरसम्मका सङ्गीत सुन्थे । पश्चिमा सङ्गीत पनि । त्यही क्रममा गितारको आवाज पनि सुने । त्यसो त उनी गितारको आकारप्रति पहिले नै आकर्षित भइसकेका थिए । उनी ७, ८ वर्षको हुँदा नै एल्बम कभर, पोस्टरहरुले नै उनलाई आकर्षित गर्ने गर्दथ्यो । उनी अघि पनि धेरैले गितार बजाउन सुरु गरिसकेका थिए, उनीहरुले गितार बोकेको देखेर, बजाएको देखेर पनि उनको मनमा छुट्टै तरङ्ग पैदा हुन्थ्यो ।

१२, १३ वर्षसम्म त उनलाई एउटा गितार त चाहिन्छ नै भनेर भित्री भाव पैदा भइसकेको थियो । भर्खरै टिनएजमा प्रवेश गरेका उनले निश्चित गरिसकेका थिए– जसरी भए पनि एउटा गितार किनेरै छोड्छु । यो भाव उनलाई गितार छुनुअघि नै पैदा भएको हो ।


त्यतिबेला उनलाई के थाहा– के हो कर्ड, के हो सोलो, के हो ट्युनिङ, के हो रिदम, के हो इम्प्रोभाइजेसन । सोच्थे, ‘गितार लियो, दाहिने हातले झ्याङ्झ्याङ गर्ने र बायाँ हातका औँला तलमाथि सार्ने त हो ।’

साथीको गितार पहिलो पटक हातमा पर्दा उनले त्यस्तै गरे । बजाउने इच्छा तीव्र थियो तर ढङ्गको केही बजेन । यसो हात चलाउँदा रमाइलो महसुस भयो । सोचे, ‘ए यस्तै त रहेछ, सकिहाल्छु नि’ । आफूले केही नजानीकनै बजाएको त्यो ‘झुङ्झुङ’ उनलाई निकै मनमोहक लाग्यो । त्यसपछि आफैंले गितार किन्ने निश्चित गरे र किनिहाले पनि ।

उनले आफूले किनेको गितारलाई ट्युनिङ नै नगरी एक डेढ वर्ष जति बजाए ।

****

गितारप्रतिको उनको प्यासनमा उनकी तत्कालीन प्रेमिका तथा वर्तमान श्रीमतीले पनि इँटा थप्ने काम गरेको कुरा नकार्न सक्दैनन् । उनले भने, ‘मेरो प्रेम विवाह भएको हो । हामी विद्यालय जीवनदेखि नै सँगै छौँ । त्यतिबेला हाम्रो एउटा समूह थियो, त्यसमा उनी पनि थिइन् ।

****

सङ्गीतमा लाग्यो कि छोरो बिग्रियोः

करियरको सुरुवाती दिनमा परिवारको समर्थन नहुनुलाई उनी नौलो ठान्दैनन् । उनी भन्छन्, ‘त्यो समय नै त्यस्तै थियो । कसैले पनि आफ्ना सन्तान सङ्गीत क्षेत्रमा लागोस्, सङ्गीत कर्म गरोस् भनेर सोच्नुहुँदैनथ्यो ।  समाजमा सङ्गीत नराम्रो क्षेत्रको रूपमा कहलिएको थियो । त्यतिबेला सङ्गीतमा लाग्ने, गितार बजाउने, कपाल पाल्नेहरुलाई नराम्रो सङ्गतले कुलतमा लागेका व्यक्तिको संज्ञा दिइन्थ्यो  । त्यसैले धेरै परिवारको झैं मेरो परिवारको पनि समर्थन रहेन ।’

तर मानिस सामाजिक प्राणी भएकाले उसले परिवारबाट, समाजबाट अनेक प्रकारको चाहना राख्छ । मानसिक क्षमता राख्ने प्राणी भएकाले उसका व्यक्तिगत मानसिक आवश्यकता पनि हुन्छन् । लक्ष्मीप्रसाद देवकोटलाई कसैले कविता नलेख, यो अनावश्यक काम हो भने, के होला ? लेख्नु उनको मानिसक आवश्यकता हो । कैयौँ चित्रकारले चित्र कोरेर लुकाएर राखेका उदाहरण छन् ।


त्यसैले उनी कोठामा लुकिलुकी बजाउँथे । गितार बजाएपछि उनी पूर्ण रूपमा डुब्थे, कसैलाई थाहा नदिई बजाइरहेको छु भन्ने कुरा बिर्सन्थे तसर्थ गितारको तालमा चिच्याउँदै गीत गाउँथे । त्यसपछि ढोकालाई छिचोल्दै आएको गाली उनको कानमा ठोक्किन्थ्यो, ‘के बौलाहाजस्तो चिच्याइरहेको होला ?’ तर बिडम्बना, त्यो गाली उनको एउटा कानले त सुन्थ्यो तर अर्को कानले उडाइ दिन्थ्यो ।

गितारप्रतिको उनको प्यासनमा उनकी तत्कालीन प्रेमिका तथा वर्तमान श्रीमतीले पनि इँटा थप्ने काम गरेको कुरा नकार्न सक्दैनन् । उनले भने, ‘मेरो प्रेम विवाह भएको हो । हामी विद्यालय जीवनदेखि नै सँगै छौँ । त्यतिबेला हाम्रो एउटा समूह थियो, त्यसमा उनी पनि थिइन् । हामी केटाहरु गितार बजाउँथ्यौँ र केटीहरु त्यो सुनेर रमाउँथे । उनलाई पनि गितार मनपर्ने । त्यसले मलाई गितारबारे थप सिक्ने ऊर्जा प्रदान गर्दथ्यो,’ सुरुवाती अवस्थामा कतै केटी साथीलाई आकर्षित गर्न त गितार बजाएको होइन भन्ने मेरो प्रश्नको जवाफमा उनले भने ।   

सुरुवाती सङ्घर्षः

उनले जीवनमा पहिलो पटक किनेको गितारसँग लगभग २ वर्ष बिताए । गितारसँग बिताएका सुरुवाती दिन सम्झिँदै उनी भन्छन्, ‘२ वर्ष त बजाउने कोसिसमा नै बित्यो तर बजाउन केही आउँदैनथ्यो । बल्लतल्ल एउटा कर्ड बजाउन आउँथ्यो । त्यो कर्ड महिनौँ बजाउने । तीन चारवटा कर्डको एउटा गीत बजाउन जान्दा पनि कत्रो ठूलो उपलब्धि जस्तो लाग्थ्यो । त्यसमा एउटा दुईवटा नोट खेल्न जान्ने भएपछि त झन्, के चाहियो र ?’

आफूले बजाएको गितारको आवाजमा उनी निकै रमाउँथे, त्यही रमाइलोले नै उनलाई धेरै पटक गितार बजाउन प्रेरित गर्दथ्यो । ‘सो इट बिकम्स अ प्राक्टिस इन इटसेल्फ,’ उनले भने । त्यतिबेला गितार लेसन भन्ने केही थिएनन् । साथी सर्कलबीच ककसलाई बजाउन आउँथ्यो त्यही सेयर गर्दथे । आफूले त्यसैगरी बजाउन सिकेको उनले स्मरण गरे । त्यसरी उनले दुई वर्ष सिके त्यसपछि उनी यस्तो चरणमा पुगे जहाँ उनले आफूले आफैंलाई सिकाउन सक्ने भए ।


गितारसम्बन्धी उनले कहिले पनि तालिम लिएनन् । ‘साथीभाइसँग बजाउँदा, आक्कलझुक्कल पाउने लेसन नै मेरो सिकाइ हो,’ उनले सुरुवाती दिनको सम्झना गर्दै भने । तर ४६, ४७ सालतिर भने गितारका नोटेसन भएका फोटोकपीहरु कतैबाट आउन थाले । ती सबैबीच सेयर हुन्थे । यो क्रम ५०–५१ सालसम्मै चलिरह्यो ।

त्यसपछि उनी गितारमा थप पोख्त हुन थाले । तसर्थ कुनै सङ्गीत सुनेकै भरमा सिक्न सक्थे । अडियो क्यासेट सुन्थे । यस्तो हो भनेर उनको कानले ठम्याउन थाल्यो  । अडियो नै उनको किताब भए । 

गितारमा रुचि भएकाले उनी पश्चिमा सङ्गीत बढी सुन्थे । पप रक, सफ्ट रक, रक, मेटल, ब्लुज, ज्याजदेखि क्लासिकलसम्मका लगभग सबै ब्यान्डलाई पछ्याए । ४६–४७ देखि यो क्रम १०–१५ वर्षसम्मै चल्यो । उनको सुन्ने, सिक्ने र बजाउने क्रम बेजोडले अघि बढ्यो ।

जीवनको २५औँ वर्ष उनको टर्निङ पोइन्ट:

उनी १६, १७ वर्षको उमेरदेखि नै सङ्गीतमै लागिसकेका थिए । स्कुल, कलेज गर्दै विभिन्न स्टेजमा आफ्नो प्रस्तुति दिन थालिसकेका थिए । विभिन्न कार्यक्रममार्फत् पैसा आउन थालिसकेको थियो । तर त्यो पैसा जीवनयापनका लागि पुग्छ वा पुग्दैन, उनलाई थाहा थिएन । किनभने उनको मानसपटलमा गितारवादन नै करियर बन्ला भनेर सुषुप्त सोचसमेत पलाएको थिएन । मनपर्ने काम पनि गर्न पाएका, त्यसबापत् पैसा पनि पाइने, के चाहियो र ? पैसा आउने बित्तिकै ‘ल केटा हो, आज पार्टी गरौँ भन्यो, रमाइलो गर्‍यो, त्यसरी नै बितिरहेको थियो जीवन । फूल अन मस्तीमा ।’

मेनस्ट्रिम ब्यान्डको यात्रा कर्मा ब्यान्डबाट सुरु गरेँ । २० वर्षअघि कर्मा ब्यान्डले पहिलो एल्बम निकाल्यो । वर्षमा एक दुईवटा कन्सर्ट हुन्थे । तर एक सङ्गीतकर्मीको रूपमा नियमित काम गर्थें । त्यसैले आफ्नो कामलाई निरन्तरता दिन विभिन्न अन्य ब्यान्डसँग पनि आबद्ध भएँ । विभिन्न होटल, ठमेलका रेस्टुरेन्टमा पनि बजाउन छाडेको छैन ।

उनी २५ वर्ष पुगिसकेका थिए । परिवारले आफ्नै व्यवसाय सुरु गर्न दबाब दिइसकेको थियो । अब चाहिँ के गर्ने त भनेर उनी घोत्लिए । उनले गितारबाहेक अरू सोच्न सकेनन् तसर्थ यसैलाई अब जीवनयापनका लागि उपयोग गर्ने निश्चित गरे ।   

‘अब चाहिँ म बाँकी समय जेजति गर्छु, सङ्गीतमा नै गर्छु भन्ने निधो गरेँ । सम्भव होस् नहोस्, अब यसमै करियर बनाउँदै जान्छु भन्ने भयो । सुरुमा त यसैबाट आफ्ना आवश्यकताहरु पूरा गर्नुपर्‍यो, त्यसको लागि मैले तयारी गर्नु थियो ।’

‘अर्को गितार नै किन्नुपर्दा पनि त्यसको लागि रकम त चाहियो नि । एउटा ग्याजेट थप्नुपर्दा पैसा त चाहिन्छ नि । त्यो सबैका लागि योजनाबद्ध रूपमा दिमाग चल्न थाल्यो,’ उनले भने ।

त्यसपछि नै उनले निर्णय लिए, च्यारिटी भन्दै निःशुल्क बजाइदेऊ भन्ने आग्रहबाट उनी टाढै बसे ।

‘इफ आई वर्क आई गट टु बी पेड ।’

उनले मेनस्ट्रिम ब्यान्डको यात्रा कर्मा ब्यान्डबाट सुरु गरे । २० वर्षअघि कर्मा ब्यान्डले पहिलो एल्बम निकाल्यो । वर्षमा एक दुईवटा कन्सर्ट हुन्थे । तर एक सङ्गीतकर्मीको रूपमा उनी नियमित काम गर्ने व्यक्ति हुन् । त्यसैले आफ्नो कामलाई निरन्तरता दिन विभिन्न अन्य ब्यान्डसँग पनि आबद्ध भए । विभिन्न होटल, ठमेलका रेस्टुरेन्टमा पनि उनले बजाउन छोडेनन् ।


उनलाई इन्स्ट्रुमेन्टल सङ्गीतमा औधी रुचि । त्यसैले नियमित जसो इन्स्ट्रुमेन्ट फ्युजनहरु पनि बजाउँथे । हप्तामा १३ वटा रेगुलर सो बजाउँथे ।

नेपालमा जिप्सी ज्याजका ‘पायोनियर’:

सन् १९९८ तिरको कुरा हो । उनी घरमा यत्तिकै आर्ट सङ्गीतसँग सम्बन्धित रेकर्डेड क्यासेट सुनरहेका थिए । आफूलाई जे चाहिन्थ्यो, त्यो सुन्थे र आफैं सिक्थे । तर त्यतिबेला जुन सङ्गीत बज्यो, उनको जिज्ञासाको बाँध एकाएक भत्कियो । त्यो उनले सुन्ने गरेको भन्दा निकै भिन्न थियो । १६, १७ वर्षको उमेरमा के कसरी बजाइएको हो भनेर ठम्याउने उनको कानले केही मेलोमेसो पाउनै सकेन । उनले भने, ‘त्यो मेरो लागि नितान्त नौलो थियो । कहाँबाट सुरु भयो, कसरी अघि बढ्यो, कसरी अन्त्य भयो, त्यो पत्तै भएन । मलाई त्यो त्यति गाह्रो लाग्यो ।’

त्यतिबेला नै उनले निश्चय गरे, ‘यो चाहिँ मैले जसरी पनि गर्नु छ ।’


उक्त सङ्गीत सुनेको करिब तीन वर्षपछि मात्रै उनले थाहा पाए कि त्यो शैलीलाई जिप्सी ज्याज भनिन्छ । आफू गितारवादक भएकाले पनि उक्त सङ्गीतप्रति उनलाई त्यति विधी रुची लागेको हुनसक्ने उनको ठम्याइँ छ ।

विशेषगरी गितार सोलो, गितार इम्प्रोभाइजेसन सुन्न चाहनेहरुका लागि जिप्सी ज्याज निकै राम्रो सङ्गीत भएको उनी ठान्छन् । 

जिप्सी ज्याजमा रुचि र भावनामार्फत् जोडिएँः

जिप्सी ज्याजमा उनी रुचि र भावनाका कारण जोडिएको उनको भनाइ छ । उनी भन्छन्, ‘पहिलो कुरा त, यो सङ्गीत नै शक्तिशाली छ क्या ! कनेक्सन कसरी भेट्छ थाहा छैन तर व्यक्तिको आफ्नो रुचि  र भावनाले कनेक्ट हुने होला सायद । तर मेरो लागि चाहिँ यो एकदमै पावरफुल म्युजिक भएकाले म असाध्यै आकर्षित भएँ ।’

****

गितारको मूल्य फ्रान्समा ३,५०० युरो (चार लाख रूपैयाँ बढी) देखि सुरु हुन्छ । उनले भने, ‘कति त असाध्यै धेरै महँगा हुन्छन् नि, जुन हामी चाहिँ हेरेर ‘ए’ भन्ने र किन्दा भने सस्तो किन्ने हो,’ हाँसोको फोहोरासहित उनले वास्तविकता पोखे ।

****

उनलाई रुचि लागेको सङ्गीत जिप्सी ज्याज हो भन्ने थाहा भएपछि यसबारे थप जानकारी बटुल्न फ्रान्सको पेरिसमा एट्ला म्युजिक युनिभर्सिटीमा कोर्स नै लिए ।

जिप्सी ज्याज बजाउने गितार नै फरकः

नेपालमा जिप्सी ज्याज बजाउने उनी पहिलो व्यक्ति हुन् । जिप्सी ज्याज बजाउने गितारको आकार नै फरक हुन्छ । यसको मेकानिजम पनि फरक हुन्छ । हरिका अनुसार यो गितार र बेन्जोको मिश्रण हो । यसको आवाज ठूलो हुन्छ । यो सोलो बजाउनका लागि बनेको गितार भएकाले इलेक्ट्रिक गितारमा झैँ राम्रो सोलो बजाउन सकिन्छ । उनले भने, ‘यो बजाउने टेक्निक नै फरक हुन्छ । यसमा राइट ह्यान्ड पिकिङ हुन्छ, स्टोर्मिङ नै फरक हुन्छ ।’


यो गितार विदेशमा नै गएर किन्नुपर्ने भएकाले यो साधारण गितारभन्दा महँगो पर्ने हरि बताउँछन् । अहिले नेपालमा उनी र उनका विद्यार्थी गरेर ७, ८ जनासँग यो गितार भएको हुनसक्ने उनले अनुमान गरेका छन् ।

यो गितारको मूल्य फ्रान्समा ३,५०० युरो (चार लाख रूपैयाँ बढी) देखि सुरु हुन्छ । उनले भने, ‘कति त असाध्यै धेरै महँगा हुन्छन् नि, जुन हामी चाहिँ हेरेर ‘ए’ भन्ने र किन्दा भने सस्तो किन्ने हो,’ हाँसोको फोहोरासहित उनले वास्तविकता पोखे ।

नेपालमा जिप्सी ज्याजको अवस्था

हरिका अनुसार नेपालमा वर्षैपिच्छे नेपाली अडियन्स बढ्दै गएका छन् । उनले जिप्सी ज्याज फेस्टिबल आयोजना गरेको अब आठौँ वर्ष पुग्छ । उनले सन् २००० देखि नै ससानो जिप्सी ज्याजको कन्सर्ट आयोजना गर्दै आएका छन् ।  सुरुवातमा यस्ता सो आयोजना हुँदा काठमाडौँमा बस्ने विदेशीहरु मात्रै दर्शक हुन्थे । एकाध नेपाली हुन्थे । तर वर्षैपिच्छे यो क्रम बढ्दै गएको उनी बताउँछन् । अहिले यसका दर्शक आधा नेपाली, आधा विदेशी छन् । समय बित्दै जाँदा सङ्गीतका विद्यालय खोलिन थाले । स्कुलहरुले तालिम दिनथाल्यो, मान्छेहरुले बुझ्दै गए, प्रायः विद्यार्थीहरु पनि यो कस्तो सङ्गीत हो भनेर जिप्सी ज्याजको कार्यक्रम हेर्न आउने गरेको हरि बताउँछन् ।

‘श्रोतालाई पनि एउटा नयाँ स्वाद चाखौँ न भन्ने विकल्प । अब यस्तो कार्यक्रममा नेपाली दर्शक नै खचाखच हुन् भन्ने मेरो उद्देश्य हो,’ उनले भने ।


‘युरोपेलीहरुले आफ्नो देशमा सुन्दै आएको सङ्गीत नेपालमा पनि छ है भन्दा उनीहरु धेरै खुसी भएको मैले पाएँ,’ जिप्सी ज्याजका जानिफकार हरिले भने । 

उद्देश्य

नेपालको मेनस्ट्रिम ब्यान्डमा उनलाई जिप्सी ज्याजको सङ्गीत दिने इच्छा छ । उनलाई युरोपेली सङ्गीतमा मात्रै जिप्सी ज्याज बजाउन मन छैन । उनी आफ्नो मौलिक सङ्गीत जस्तै नेवारी पारम्परिक धुन राखेर जिप्सी ज्याज एल्बम निकाल्ने तयारीमा छन् ।

उनलाई नयाँ कम्पोजिसन गरेर नेपाली सङ्गीतमा नै जिप्सी ज्याज साउन्ड दिने ठूलो रहर छ । भविष्यमा एकपछि अर्को गर्दै यो सङ्गीत क्रमशः विकसित हुने कुरामा उनी विश्वस्त छन् । उनले भने, ‘अहिले त हामीले यो म्युजिक पर्फम मात्र गरिरहेको हौँ । म स्टुडियोमा म्युजिक अरेन्जमेन्ट गर्छु, धेरैवटा नेपाली गीतमा बजाएको छु, त्यो हिसाबले मैले कुनै न कुनै हिसाबले मेरो गितार प्लेइङमार्फत् जिप्सी ज्याज सङ्गीत दिइरहेकै छु ।’

‘मेरी श्रीमतीसँगको सम्बन्ध, जब मेरा सन्तान जन्मिए, उनीहरुसँग बिताएको पल, उनीहरुका लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध नै मेरो सबैभन्दा ठूलो प्रेरणा हो । मैले केही राम्रो गरे न उनीहरुको पनि राम्रो हुने हो ।

स्टेजमा रक, घर आएर इन्स्ट्रुमेन्टल सङ्गीत

नेपालमा हरि महर्जन भन्ने बित्तिकै जिप्सी ज्याजको फुर्का झुन्डिहाल्छ । उनले भने, ‘अब मैले कुनै न कुनै रूपमा जिप्सी ज्याज बजाउनै पर्ने भइसक्यो ।’ तर उनको ब्यान्ड हरि महर्जन प्रोजेक्ट भने पूर्ण जिप्सी ज्याज होइन, फ्युजन म्युजिक हो ।  यो उनले जानेको सबै कुराको मिश्रण हो । यद्यपि, यसमा धेरै कुरा जिप्सी ज्याज म्युजिकबाटै लिइएको उनी बताउँछन् । हरि महर्जन प्रोजक्टमा अरू पारम्परिक इन्स्ट्रुमेन्ट पनि छन् ।

हरि धेरैजसो इम्प्रोभाइज्ड म्युजिक गर्छन् । यो सङ्गीत भावनासँग जोडिने र औंलामार्फत् प्रतिबिम्बित हुने उनी बताउँछन् । उनले थुप्रै ब्यान्डमा काम गरे । स्टेजमा जतिसुकै रक कन्सर्ट दिए पनि उनलाई आफ्नो इन्स्ट्रुमेन्ट र इन्स्ट्रुमेन्टल म्युजिकप्रति ठूलो लगाव छ । उनले केही समयअघि मात्रै आफ्नो तेस्रो इन्स्ट्रुमेन्टल एल्बम ‘गोइङ इन्टु थ्री’ सार्वजनिक गरेका छन् । 


प्रेरणा

परिवारप्रतिको दायित्व नै उनको सबैभन्दा ठूलो प्रेरणा भएको उनी बताउँछन् । श्रीमतीसँगको विवाह अघि र पछिको सम्बन्धले पनि उनलाई सधैँ अघि बढ्न प्रेरित गरिरहेको शानले भन्छन् । ‘मेरी श्रीमतीसँगको सम्बन्ध, जब मेरा सन्तान जन्मिए, उनीहरुसँग बिताएको पल, उनीहरुका लागि केही गर्नुपर्छ भन्ने दायित्वबोध नै मेरो सबैभन्दा ठूलो प्रेरणा हो । मैले केही राम्रो गरे न उनीहरुको पनि राम्रो हुने हो,’ एकाएक उनको अनुहारमा बुवाको माया प्रतिबिम्बित भयो ।  

गितार तपाईंको लागि के हो ? मेरो प्रश्नलाई उनले छोटो वाक्यमा जवाफ दिए ।

‘इट्स अ इन्स्ट्रुमेन्ट द‍्याट आई एक्सप्रेस माई इमोसन्स, अ इन्स्ट्रुमेन्ट द‍्याट आई एक्सप्रेस माइसेल्फ ।’

नयाँ पुस्तालाई सल्लाह

‘दे नो बेटर देन मी एक्चुअल्ली,’ नयाँ पुस्ताको तारिफ गर्दै उनले भने । ‘ह्वाट दे आर डुविङ इज रियल्ली ब्युटिफुल । म वास्तवमा उनीहरुसँग इम्प्रेस छु ।’

सङ्गीतलाई आफ्नो व्यवसाय बनाउन चाहनेहरुलाई उनले आफ्नो कर्मलाई निरन्तरता दिइरहन सल्लाह दिन्छन् । ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कन्ट्युनिटी हो । यो एकदमै टाइम कन्जुमिङ सेक्टर हो । तर रिटर्नको केही भरोसा नभएको क्षेत्र हो । त्यसकारण निरन्तरता दिन सकिएन भने समयको बर्बादी मात्रै हुन्छ ।’


विषम परिस्थितिमा पनि आफ्नो कर्मलाई निरन्तरता दिन सकिएको खण्डमा दायाँबायाँको कुरा स्वतः मिल्दै जाने हरिको विश्वास छ ।

उनी अहिले कार्यक्रम व्यवस्थापन, थुप्रै गीतमा सङ्गीत भर्ने, विभिन्न ब्यान्डमा संलग्नता, कार्यक्रमको आयोजना, सांगीतिक प्रस्तुति दिन सकिने स्थानहरु बनाउनेदेखि भिन्न शैलीको सङ्गीत बनाउने, विदेशी कलाकारसँगको कोल्याबोरेसनका साथै स्विजरल्यान्ड ब्यान्डसँग पनि आबद्ध छन् ।

कुनै आशा नै नराखी निरन्तरता दिएको यो कर्ममार्फत् उनको नाममा धेरै ‘टाइटल’ जाडिएको छ । ‘देयर आर मेनी मोर टु डु,'  कुराकानीको अन्त्यमा सकारात्मक ऊर्जासहित उनले भने ।  

 नेपाली साङ्गीतिक आकाशमा उनको योगदान र स्थान उच्च छ तसर्थ धेरैजसो कलाकार, प्रतिष्ठित ब्यान्ड र गितारमा करियर बनाउन चाहने धेरैजनाको मनको ढक गितारका 'जादुगर' उनैतिर लट्केको छ ।  

भिडियो:

 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...