बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा कोरोना भाइरसको चुनौती

शनिबार, २५ माघ २०७६, १४ : ५९
शनिबार, २५ माघ २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा धक्का लाग्ने संकेत पहिलो महिनामै देखा परेको छ । चीनमा देखा परेको कोरोना भाइरस र त्यसले विभिन्न मुलुकमा पारेको असरका कारण नेपाल भ्रमण वर्षको लक्ष्यमा समेत धक्का लाग्ने देखिएको हो ।

नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । 

पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । यही उत्साहकाबीच सरकारले भ्रमण वर्ष २०२० को घोषणा ग¥यो । तर, भ्रमण वर्षको शुरुवात हुन नपाउँदै पर्यटकको

प्रमुख बजार चीनमा आएको कोरोना भाइरसको महामारीले चिनियाँ पर्यटकको आगमन ठ्याप्पै बन्द हुन पुग्यो ।

यद्यपि, यो परिस्थिति लामो समय नरहने सरोकारवालाहरु बताउँछन् । कोरोनाको नियन्त्रणसँगै विस्तारै अनुकुल वातारण बन्दै जाने पर्यटक व्यवसायीहरुको भनाइ छ । 

ट्रेकिङ्ग एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदी अहिलेको चीनको समस्या लामो समय नजाने र वातावरण विस्तारै अनुकुल बन्दै जाने बताउँछन् । बरु अहिलेको समस्या तत्काल समाधान गर्न नेपाल सरकार तथा सरोकारवाला निकायहरुले वैकल्पिक उपायहरु खोज्नु पर्ने उनको भनाइ छ । 

‘चीनका कारण पर्यटन क्षेत्र डामाडोल भयो, अब सक्कियो भन्ने भन्दा पनि अब हामीले उचित विकल्प खोज्नु पर्छ,’ अध्यक्ष सुवेदीले भने, ‘चीनको विकल्पमा हामीले अन्य विदेशी बजार तयार गर्नतर्फ ध्यान दिनुपर्छ ।’ चीनको बाटो (ट्रान्जिट) हुँदै आउने तेस्रो मुलुकका पर्यटकहरुलाई वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्नेसमेत उनले बताए । यसका लागि सरकारले नै पहल गर्नुपर्ने उनको भनाइ थियो ।

‘चीनमात्र नेपालको पर्यटन बजार होइन, चीनियाँ पर्यटक नआए नेपालको पर्यटन क्षेत्र नै चल्दैन जस्तो गर्नु हुँदैन,’ उनले भने, ‘खै त ! पहिले पनि चिनियाँ पर्यटक नआउँदा चलेकै थियो । यसका लागि सरकारले अन्य क्षेत्रमा वैकल्पिक रणनीति बनाउनु पर्छ ।’

तर सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको सपनामा भने ब्रेक लाग्ने निश्चित रहेको उनले बताए । अध्यागमन विभागको पछिल्लो तथ्याङ्क अनुसार जनवरी महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ हजार ४० चिनियाँ नागरिक नेपाल आएका छन् । यो संख्या जनवरी १ देखि २५ सम्मको हो ।

यो अवधिमा दिनमा सरदर ४ सय ८२ चिनियाँ नागरिक नेपाल आएका छन् । तर जब चीनमा कोरोनाको प्रकोप देखियो, तब यो संख्या ह्वात्तै घट्यो । जनवरी २६, २७ र २८ मा गरी तीन दिन करिब ३ सयको हारहारीमा मात्र चिनियाँ पर्यटक नेपाल आएका छन् । त्यसपछि भने चिनियाँ पर्यटकको आगमन ठप्पजस्तै छ ।

५० प्रतिशत होटल बुकिङ रद्द
चीनमा नोबेल कोरोना भाइरसले महामारीको रुप लिएसँगै चिनियाँ पर्यटकहरु आउन छाडेका छन् । चीन–नेपाल उडान भर्ने सबै उडान बन्द भएका छन् । होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ ।

बुकिङ्ग भइसकेका होटलहरुको करिब ५० प्रतिशत बुकिङ्ग क्यान्सिल(रद्द) भएका छन् । चिनियाँ ग्रुपले मात्र २०–२५ प्रतिशतको बुकिङ्ग रद्द गरेको होटल व्यवसायी संघ (हान)का महासचिव साजन शाक्यले रातोपाटीलाई बताए ।

‘चीनमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चिनियाँ पर्यटकको आगम बन्द भएसँगै होटल बुकिङ्ग ५० प्रतिशतसम्म रद्द भएका छन् । जसमा चिनियाँमात्र नभएर चीनसँग जोडिएका राष्ट्रहरु, युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन्,’ महासचिव शाक्यले भने । यही अवस्था रहे पर्यटन वर्षमात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् ।

शाक्यका अनुसार पर्यटन व्यवसाय सुधारका लागि अहिले नेपाल सरकार, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड लगायत पर्यटन व्यवसायीहरु चीनको विकल्प खोज्न लागेका छन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ ।

लक्ष्यमा धक्का
चिनियाँ पर्यटकको आगमन ठप्प हुनु र युरोपेली मुलुकबाट आउने पर्यटकहरुको संख्यामा समेत कमी आउनुले एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यमा ठूलो चुनौती देखिएको छ ।

कोरोना भाइरसको प्रकोप अझै कायम रहेको र यसले अझै केही महिनासम्म त्रास कायम राख्ने भएकाले पर्यटक आगमनको यो अवस्थामा तत्काल सुधार आउने अवस्था देखिएको छैन ।

त्यसो त यस अघि पनि भ्रमण वर्ष मनाइ सकेको सरकारले त्यतिबेला पनि लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकेको थिएन । 

टानका अध्यक्ष खुम सुवेदी यस वर्ष बढीमा १३ लाख पर्यटक नेपाल भित्रिने बताउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान, क्षमता र बजारका आधारमा वर्षमा १३ लाख पर्यटक भित्र्याउन सम्भव हुने उनको भनाइ छ ।

‘हवाईजहाजबाट एयपोर्ट झर्ने बित्तिकै सबै पर्यटक हुँदैनन् । कोर विदेशी नागरिक जो खर्च गर्ने उद्देश्यले आउँछन्, उनीहरु नै वास्तविक पर्यटक हुन् । तर यस्तो संख्या कमै हुन्छन्,’ उनले भने, ‘बाहिरबाट आउने नेपालीहरु पनि हुन्छन् । त्यसमा केहि एनआरएन पनि हुन्छन् ।’

विमानस्थलमा हुने उडान, ती विमानबाट आएका यात्रु सबैलाई गणना गर्दा नेपाली र एनआरएनसमेत पर्ने भन्दै उनले नेपाल भित्रिने वास्तविक पर्यटकको संख्या वार्षिक १२–१३ लाखसम्म हुने बताए ।

युनिट्रा सेन्टर कमिटीका अध्यक्ष सुमन पराजुली पनि पर्यटन वर्षको लक्ष्य पुरा नहुने बताउँछन् । पूर्वाधारको कमजोर हुनका बाबजुद भ्रमण वर्षको ढोल पिटेको भन्दै उनले चीनमा देखिएको कोरोना भाइरसले थप चुनौती बढाएको बताए ।

‘सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएको छ । तर यसको कुनै संभावना देखिदैँन,’ पराजुलीले भने, ‘चीनमा देखिएको कोरोनाको महामारीले चुनौती थपिदिएको छ । यसले गत वर्षको हाराहारीमा समेत पर्यटक संख्या पुग्ने हो कि होइन भन्ने डर पैदा गराएको छ ।’

पराजुलीका अनुसार अहिलेको पर्यटन पूर्वाधार र सामाजिक सुरक्षाको अवस्थाले समेत पर्यटन आगमनमा समस्या आइरहेको छ । पर्यटन सुरक्षा र पोर्टलहरु सम्बन्धी ऐन ‘सोसल सेक्युरिटी एक्ट’ आए पनि अझै कार्यान्वयनमा समस्या रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप