बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रेस सङ्गठनको पहिलो प्रदेश भेला हेटौँडामा सम्पन्न

शनिबार, २५ माघ २०७६, २१ : ४६
शनिबार, २५ माघ २०७६

प्रेस सङ्गठन नेपाल बाग्मती प्रदेशको प्रथम प्रदेश भेला आज हेटौँडामा सम्पन्न भएको छ । प्रदेशका काठमाडौँ उपत्यकाबाहेकका १० जिल्लाका प्रेस सङ्गठनका प्रदेश सदस्य सहभागी भेलामा नेकपा प्रचार विभागका सहसंयोजक एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस जगत् अतिथिमुखी र भाषणमुखी नभई  यथार्थमुखी हुनुपर्नेमा जोड दिए । 

उनले भने, “सरकारले पत्रकार कल्याण कोषमा रु साढे पाँच करोड रकम जम्मा गरेको छ, समानुपातिक विज्ञापन प्रणाली लागू गर्नेलगायत प्रेसलाई सहयोग गर्ने थुप्रै काम काम गरेको छ, लोककल्याणकारी विज्ञापनलाई वृद्धि गरेर सरकारले पत्रकारितालाई थप बलियो बनाएको छ ।” सञ्चारलाई स्वतन्त्र उद्योगका रुपमा स्थापित गराउन सरकार लागिपरेको पनि उहाँले स्पष्ट गरे ।

    पत्रकारिताका नाममा हुने वा हुनसक्ने गलत कुरालाई रोक्न ऐन निर्माण प्रक्रिया थाल्दा अनावश्यक टिप्पणी र विरोध आएको भन्दै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका थापाले अपराध र गल्तीलाई नियन्त्रण गर्नु लोकतान्त्रिक समाजको प्रमुख काम भएको बताए । 

    समाचार व्यावसायिक र तथ्यपरक हुनु जरुरी रहेको बताउँदै उनले सरकारले संविधानविपरीत हुने गरी कुनै पनि ऐन, कानून नल्याउने स्पष्ट गरे । उनले पत्रकारको हितमा वर्तमान सरकारले जति काम कुनैपनि सरकारले नगरेको दाबी पनि गरे । 

    नेकपाका केन्द्रीय सदस्य तथा प्रेस सङ्गठनका इन्चार्ज राजेन्द्र गौतमले पत्रकारले अहिलेको सरकारले गरेका राम्रा कामको प्रचार, प्रसार र सङ्गठनलाई बलियो बनाउँदै सङ्गठन एक ढिक्का भएर अगाडि बढाउनुपर्ने उल्लेख गरे । 
 
    नेकपाका बाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले सङ्गठनलाई चाहेअनुसार अगाडि बढाउन तथा समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्न सङ्गठनमा एकता आवश्यक रहेको बताए । गुट र उपगुटमा नलागी विचारमा वहस गर्नुपर्ने उनको धारणा थियो । नेकपाका प्रदेश सचिव आनन्द पोखरेलले पत्रकारले जनतालाई विकास र समृद्धिको आशा जगाउन सक्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप