बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्टार को ?

आइतबार, २६ माघ २०७६, ०९ : ४८
आइतबार, २६ माघ २०७६

काठमाडौँ । स्टार को ? नेपाली चलचित्र क्षेत्रमा यतिबेला यो प्रश्नको जवाफ दिन सक्ने सायदै कोही होलान् । हाम्रो चलचित्र क्षेत्रमा सीमित चलचित्रकर्मी छन् । तीमध्ये पनि ‘स्टार’ को भन्ने विषयमा सबैको एकमत छैन ।

केही चलचित्रकर्मी धेरै पारिश्रमिक लिने अर्थात महँगा कलाकारलाई स्टार मान्दछन् भने केही सबैभन्दा व्यस्त कलाकार स्टार हुन् भन्छन् ।

एक किसिमका चलचित्रर्मी जसको चलचित्रले राम्रो व्यवसाय गर्छ, राम्रो दर्शक पाउन सफल छ । त्यसलाई स्टार भनिनुपर्ने तर्क अगाडि सार्दै आएका छन् ।

हुन त अवार्ड र सम्मान पाउने मात्र स्टार हुन् भन्ने मान्यतामा केही चलचित्रकर्मी पनि छन् । यस हिसाबले हेर्ने हो भने स्टार यही हो र यसले निर्धाण गर्छ भनेर सजिलै भन्न वा नाम लिनसक्ने अवस्था अहिले चलचित्र क्षेत्रमा देखिन्न र छैन ।

महँगा स्टार !

पछिल्लो समय अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मालगायत केही कलाकार पारिश्रमिकका हिसाबले सबैभन्दा महँगा कलाकारको रूपमा अगाडि देखिएका छन् । उनीहरुले लिने पारिश्रमिक अहिले चलचित्र क्षेत्रमा सबैभन्दा बढी भएको चर्चा हुने गर्दछ ।

पारिश्रमिकको सच्चाइ र वास्तिविकता न त बाहिर आउँछ न त त्यसको रेकर्ड नै कहीँ कतै भेट्टाइन्छ । तर उनीहरुको भनाइ र मिडियामा छाएको समाचारका आधारमा यी कलाकार यति बेलाका स्टार हुन् भन्ने जमात पनि ठूलै छ ।

फिल्म निर्माण, वितरण र प्रदर्शकका रूपमा करिब दुई दशक बिताएका सुनिल मानन्धर पैसा धेरै लिनेलाई स्टार भन्न नमिल्ने बताउँछन् ।

‘पैसा धेरै लिदैमा स्टार भन्न मिन्दैन । उसले खेलेको चलचित्रको लगानी कति सुरक्षित भएको छ । त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो’, सुनिलले भने ‘म फिल्म खेल्दिनँ । मलाई कसैले लिँदैनन् । म मेरो पारिश्रमिक ६० लाख घोषणा गर्छु । के म स्टार भए त ?’

आफूलाई महँगो कलाकारको रूपमा देखाउन आफ्नो पारिश्रमिक आफैले धेरै घोषणा गर्दैमा कोही स्टार नहुने सुनिलले तर्क राखे ।

सुनिलको कुरामा वरिष्ठ निर्देशक दयाराम दाहाल पनि सहमती जनाउँछन् । पारिश्रमिक बढी दिनेले दियो, लिनेले लियो । त्यसभित्र स्टारडमको कही केही कुरो नभएको दाहाल बताउछन् ।

‘स्टार त्यो हो जसको छाप आम दर्शकको मनमा छ’, थुप्रै हिट फिल्म दिएका दहालले भने ।

पछिल्लो समय हिट फिल्म दिँदै आएका निर्देशक नवल नेपालको विचार पनि सुनिल र दयारामको भन्दा भिन्न छैन । धेरै पैसा लिनेलाई स्टार भन्न नमिल्ने बताएका नेपालले भने, ‘त्यो कलाकार बाहिर निस्किँदा भीड देखिँदै र कसैले चिन्दैनन् भने त्यसले करोड पारिश्रमिक लिए पनि त्यो स्टार बन्न सक्दैन ।’

निर्देशक मदन घिमिरे पनि स्टारडमसँग पैसाको तुलना गर्न नमिल्ने बताउँछन् । ‘अहिले धेरै पैसा लिनेलाई स्टार मान्छन् केही चलचित्रकर्मी । ती स्टार होइनन्’, घिमिरेले भने, ‘राजेश हमाल, भुवन केसी, करिष्मा मानन्धरलगायतका पुराना कलाकारको चलचित्र हिजो १०० दिन पनि मनाउँथ्यो । उनीहरु पारिश्रमिको मामलामा कहिल्यै चर्चामा आएनन् । के उनीहरु स्टार थिएनन् त ?’

‘धेरै पैसा माग्ने । मेरो बुबा निर्माता हुनुपर्छ भन्ने । परिश्रमिक लिएर पनि मेरो यति सेयर हुनुपर्छ भनेर सर्त राख्ने केही कलाकार पनि रहेछन्,’ घिमिरेले थपे ‘ती व्यक्तिलाई स्टार कसरी भन्ने । ती खेल्दैमा फिल्म चल्छ भन्ने ग्यारेन्टी पनि त छैन नि ।’

समीक्षक तथा फिल्म निर्देशक दीपेन्द्र लामा पनि धेरै पारिश्रमिक लिनेलाई स्टार भन्न नमिल्ने तर्क राख्दछन् । उनी भन्छन् ‘ती उल्का पिन्ड हुन् । अहिले पारिश्रमिकले चर्चामा छन् । केही समयपछि आफै हराउँछन् ।

व्यस्त सजिला

हुन त नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकका हिसाबले कहिल्यै चर्चामा नआएका केही यस्ता कलाकार पनि छन् । जसको व्यस्तता सबैभन्दा धेरै छ । ती कलाकारलाई लिएर फिल्म बनाउन मागेको रकम तिर्छु भन्दा पनि डेटको समस्याले निर्माता निर्देशक चुप बस्न बाध्य छन् । वर्षौंसम्म कुर्छन् ।

तैपनि समय पाउन सकेका छैनन् । ती कलाकारमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की लगायत केही पर्दछन् ।

अर्काे एकथरि यस्ता कलाकार पनि छन्, जसलाई आफ्नो फिल्म के रिलिज भयो । के आउँदैछ भनेर पनि थाहा हुँदैन । उनीहरू फिल्म अभिनयमा निकै ब्यस्तछन् । ती कलाकारमा अनुप बराल, बुद्धि तामाङ, अनुमविक्रम शाही, वर्षा सिवाकोटी लगायत पर्दछन् ।

केही चलचित्रकर्मी यी कलाकारलाई अहिलेका स्टारको रूपमा चर्चा गर्ने गर्छन् ।

धेरै फिल्म खेल्दैमा स्टार भन्न नमिल्ने निर्देशक घिमिरे बताउँछन् । ‘जो सजिलो, सहज छ, जसले समय मिलाउन सक्छ । त्यसले बढी फिल्म खेल्छ’ घिमिरेले भने ‘धेरै फिल्म खेल्दैमा स्टार हँुदैन । त्यस्तालाई व्यस्त कलाकार भन्न सकिन्छ ।’

निर्देशक घिमिरेको विचारसँग निर्माता वितरक सुनिलको विचार पनि मिल्छ । उनी पनि धेरै फिल्म खेल्नेलाई व्यस्त कलाकार भन्नुपर्ने बताउँछन् । ‘जसको फिल्म शुक्रबार चलेर आइतबार उत्त्रन्छ । त्यो कसरी स्टार भयो ?’ सुनिलले प्रश्न उब्जाए ।

फिल्म चल्ने स्टार होइनन्

केही वर्षयता ‘छक्का पन्जा’ टिमका सबै फिल्म हिट भएका छन् । एक हिसाबले हेर्दा जसले लगातार हिट फिल्म दिन्छ । त्यसलाई स्टार भनिनु पर्छ । यो हिसाबले हेर्ने भने ‘छक्का पन्जा’ टिमका दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरेलगायत सबै कलाकारलाई स्टार भनिनुपर्छ । तर यो टिमका कलाकारलाई स्टार भनेर भन्न नमिल्ने बताउँछन् निर्माता तथा वितरक गोपाल कायस्था । ‘दीपकराज गिरी टिमको फिल्मले त पैसा कमाउँछ । कमाइ रहेको छ,’ कायस्थाले भने ‘फिल्मले पैसा कमायो भन्दैमा उनलाई स्टार भन्न सकिन्न ।’

पछिल्लो समय दीपकराज गिरीको ‘छ माया छपक्कै’ मात्र होइन अन्य विपिन कार्कीको ‘जात्रै जात्रा’ र दयाहाङ राईको ‘कबड्डी कबड्डी कबड्डी’,  विपिन कार्कीकै ‘प्रसाद’ लगायत फिल्मले पनि बजारमा तताएको छ ।

केही दिन पनि दर्शक मुस्किलले पाउने गरेको समयमा यी फिल्मले नाफा कमाउनु चानचुने कुरो होइन । त्यसैले जुन फिल्मले निर्माता जोगाउँछ । त्यो फिल्म हिट र त्यसका कलाकार स्टार भन्ने चलन पनि छ ।

निर्माता वितरक सुनिल मानन्धरको भनाइ पनि यही रहेको छ । ‘जसले हिट फिल्म दिन्छ, जसको फिल्मबाट निर्माता निर्देशक सुरक्षित हुन्छन्, त्यही फिल्मका कलाकार स्टार हुन्’ सुनिल भन्छन् ।

सुनिलको कुरामा वरिष्ठ निर्देशक दयाराम दाहालको पनि सहमती छ । दाहालले भने, ‘जसको चलचित्रले निर्माता सुरक्षित गर्छ । चलचित्र उद्योगलाई चलायमान गराउन सक्छ । त्यो पनि स्टार हो ।’ आम मानिसको समस्यामा जसले बोल्ने र उठाउँछ । त्यसलाई पनि स्टार भन्न मिल्ने दाहालको भनाइ रहेको छ ।

जुन चलचित्रले हलमा दर्शक तान्न सक्छ । त्यसका कलाकारलाई केही हदसम्म स्टार भन्न मिल्ने निर्देशक मदन घिमिरे बताउँछन् । उनी भन्छन्, ‘तर त्यो अवस्थामा त्यसलाई स्टार बनाउन पर्दा पछाडि रहेर काम गर्नेलाई बिर्सनु हुँदैन । किनभने स्टार बनाउने पनि स्टार हुन्छ ।’

नेपाली चलचित्र क्षेत्रमा हिट फिल्म दिँदै आएका निर्देशक नवल नेपाल भने माथिको विचारसँग पटक्कै सहमत छैनन् । उनी फिल्म हिट हँुदैमा स्टारको पदबी दिन नमिल्ने बताउँछन् ।

दर्शकले चिन्ने स्टार

पारिश्रमिक, चलचित्रको सङ्ख्या, चलचित्र हिट वा फूलप जे भए पनि त्यसको आधारले स्टार निर्धारण नगर्ने थुप्रै चलचित्रकर्मीको धारणा रहेको पाइन्छ । जुन कलाकारको सर्वसाधारण माझ क्रेज छ । जुन कलाकारलाई दर्शकले सजिलै चिन्छन् । सार्वजनिक स्थानमा उभिँदा उनीहरू सर्वसाधारणको भिडबाट घेरिन्छन् । ती कलाकार स्टार भएको धारणा राख्ने पनि कम छैनन् चलचित्र क्षेत्रमा ।

कतिपय चलचित्रर्की त अझै राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, करिस्मा मान्नधर, शिव श्रेष्ठ जस्ता कलाकार नै स्टार भएको बताउछन् ।

तीमध्येका एक पुराना निर्देशक दयाराम दाहाल पनि हुन् । जसको अनुहारले हेर्न दर्शक हल वा बाहिर भीड हुन्छन् । उसको अनुहार भएकै भरमा फिल्म चल्छ  । त्यसलाई मात्र स्टार भन्न मिल्ने निर्देशक दाहालले बताए ।

दाहालको जस्तै विचार निर्देशक मदन घिमिरेको पनि छ । घिमिरे भन्छन्, ‘ जुन कलाकारको कारणले हलमा टिकट काटिन्छ ऊ स्टार हो ।’

निर्माता गोपाल कायस्थाको धारणा पनि यी दुई निर्देशकसँग मिल्दोजुल्दो छ । फिल्म चल्नु, नचल्नु आफ्नो ठाउँमा छ तर जो सार्वजनिक ठाउँमा उभिँदा भीड जम्मा हुन्छ । उनीहरुको एक झलक हेर्न सर्वसाधारण तँछाडमछाड गर्दछन् । ती व्यक्तिलाई स्टार भन्न मिल्ने गोपालले बताए ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेती, विराज भट्ट र करिष्मा मानन्धर लगायत अघिल्लोे पुस्ताका कलाकारको जस्तो पछिल्लो पुस्तामा क्रेज भएका कलाकार अझै नदेखिएकोले यी कलाकारलाई नै स्टार भन्नुपर्ने तर्क गोपालले राखे ।

गोपालको विचारसँग मिल्दो जुल्दो धारणा निर्देशक नवल नेपालको पनि छ । अहिले पनि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिष्मा माननधर लगायतका कलाकार नै सिने स्टार भएको उनी बताउँछन् । भन्छन्, ‘जसको तस्बिर पब्लिकले कपीमा, घरको भित्तामा, पर्समा राख्छन् त्यो स्टार हो ।’

अवार्ड पाउने के

चलचित्र विधा समेटेर पछिल्लो समय चलचित्र क्षेत्रमा दर्जन बढी अवार्ड आयोजना हुन थालेका छन् । अवार्डका आधारमा कतिपयले उत्कृष्ट कलाकार र स्टार कलाकारको निर्धारण समेत गर्दछन् ।

जो काम, दर्शकमा भएको क्रेज र सफल फिल्मको आधारमा अवार्ड हात पर्छ ऊ स्टार हो भनेर लबिङ गर्ने एक किसिममा मानिस पनि छन् ।

पछिल्लो समय अवार्ड आयोजक अवार्डको गरिमा जोगाउन नसकेको कारण अवार्ड थापेको आधारमा त्यो कलाकारलाई स्टार भन्न नमिल्ने पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी बताउँछन् । ‘अहिले जो पनि अवार्ड आयोजक, जसले पनि अवार्ड पाएका छन्,’ सुवेदीले भने ‘अहिलेको अवार्डको गरिमा र महत्त्व नै छैन । त्यसैले यसको आधारमा स्टार निर्धारण गर्न सकिन्न ’।

सुवेदीको विचारसँग ‘जात्रा’, ‘जात्रै जात्रा’लगायत केही फिल्म हिट दिएका निर्देशक भट्टराई पनि सहमती जनाउँछन् छन् । उनी नेपालको परिपेक्ष्यमा स्टारसँग अवार्डको टाढा टाढासम्म पनि सम्बन्ध नरहेको बताउँछन् ।

कन्टेन हो स्टार

चलचित्र क्षेत्रमा सीमित मानिस यस्ता पनि छन् जो कलाकारभन्दा पनि त्यसको कन्टेन्टलाई स्टार मान्छन् । कन्टेट बलियो भयो भने दर्शक पनि हलमा आउँछन् । कलाकार पनि हिट हुन्छन् र निर्माताले पनि नाफा कमाउँछ भन्ने उनीहरुको धारणा छ ।

ती मध्यमा पर्दछन् निर्देशकद्वय दीपेन्द्र लामा र प्रदीप भट्टराई ।

‘नेपालमा कलाकारभन्दा पनि कन्टेन्ट चल्ने हो । त्यो हिसाबले स्टार कन्टेन्ट नै हो’, दीपेन्द्रले भने ‘एक दुई दिन दर्शक हलमा होल्ड गर्नेलाई स्टार भन्न सकिन्न र मिल्दैन ।’

दर्शक हलसम्म कलाकारले भन्दा पनि कन्टेन्टले तान्ने बताउने दीपेन्द्रले राम्रो चलचित्र दिने, दर्शकमा आफ्नो चरित्रको छाप छोड््न सक्ने व्यक्तिलाई स्टार भनिनुपर्ने धारणा अगाडि सारे ।

दीपेन्द्रको धारणासँग निर्देशक प्रदीप भट्टराईको विचार पनि मिल्दोजुल्दो छ ।

‘राम्रो चलचित्र पनि खेल्नु पर्‍यो, त्यो चलचित्र दर्शकले रुचाउन पनि पर्‍यो, निर्माता सुरक्षित पनि हुनुपर्‍यो’ प्रदीपले अगाडि भने ‘चलचित्र चलेपछि स्टार हुनुपर्ने हो । हाम्रो चलचित्र क्षेत्रमा चलचित्र नचलेकालाई पनि स्टार भनिरहेका छन् ।’

चलचित्रले स्टार बनाउने धारणाका प्रदीपले थपे ‘अरूले नमानेको स्टार भएर हो कि नेपालमा स्टार निर्धारण गर्ने आधार केही फरक रहेको छ ।’

दर्शकमा क्रेज, हिट फिल्म, कन्टेन्ट राम्रो लगायतको प्याकेज नै स्टार भएको प्रदीपको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप