शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : पूर्व सचिवकी पत्नीको हत्यामा कामदारकै संलग्नता, चीनमा रहेका नेपालीलाई ल्याउन वाइडबडी जहाज पठाइँदै

सोमबार, २७ माघ २०७६, २० : ०६
सोमबार, २७ माघ २०७६

पूर्वसचिव कार्की

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । 

मुना कार्की सानेपास्थित निवासमा सोमबार बिहान रगतले लतपतिएको अवस्थामा अचेत भेटिएकी थिइन् भने चौधरी पनि घरमै मृत फेला परेका थिए । 

दाङ घर भएका विजय चौधरीले कार्कीमाथि साङ्घातिक आक्रमण गरेपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । उनको शवमा कुनै चोटपटक छैन भने उनको शव फेला परेको स्थानमाथि डोरी पनि झुण्डिएको पाइएको छ ।

चौधरीले के कारणले कार्कीको हत्या गरे र किन आफै आत्महत्या गरे भन्ने चाहिँ अझै खुल्न सकेको छैन । पूर्वसचिव अर्जुन कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला घरमा 

घटना भएको थियो । कार्कीका एक छोरा र दुई छोरी रहेका छन् । दुवै छोरी बाहिर रहेका छन् भने १२ वर्षका छोरा स्कूलमा अध्ययनरत छन् । घटनाको समय छोरा पनि स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेको बताइएको छ ।


वुहानका नेपाली 

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको जनाएको छ ।

आइतबार पर्यटन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक–दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।


चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको थियो ।

निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । तर, जहाज लैजाने विषयमा छलफल भएपनि यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै आधिकारिक हुनेछ ।

यसअघि हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो । तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीले बताएको छ ।

खानेकुरा तथा पानीको समेत अभाव हुन थालेको र जीवन थप कष्टकर हुन थालेको भन्दै तत्काल उद्धार गर्न वुहानमा रहेका नेपालीहरुले बारम्बार आग्रह गरीरहेका छन् ।

यता उनीहरुका अविभावक पनि आफ्ना छोराछोरीहरुको तत्काल उद्धार गर्न सरकार र मानवअधिकार आयोग धाएका छन् । तर सरकारले अझै पनि उनीहरुलाई उद्धार गर्ने वारे ठोस निर्णय लिन सकेको छैन् ।

यसैबीच चीनबाट स्वदेश ल्याइने नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार ६० जना स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम सञ्चालन गरेको जनाएको छ ।

स्वास्थ्यकर्मीलाई सोमबारदेखि आभिमुखीकरण तालिम सुरु गरिए पनि चीनको हुवाई प्रान्तको हुवान शहरबाट आफ्ना नागरिकलाई कहिले ल्याउने भनेर सरकारले अझै निर्णय गर्न सकेको छैन । 
पाँच दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा रहेका नेपाली नागरिकलाई उपत्यकाका चार स्थान खरिपाटी, शिवपुरी, सूर्य्विनायक र इचङ्गुनारायणमा क्वारेन्टाइनमा राख्न प्रस्ताव गर्नु भएको थियो । तर अझै पनि ठाउँको टुंगो लाग्न सकेको छैन ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताउनु भएको थियो ।

चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरुले आफूहरुको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । 

नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ । 

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिलेसम्म ४० हजार बढीमा भाइरसको संक्रमण भएको र उनीहरु उपचारत रहेका छन् ।  सो भाइरसका कारण चीनमा ८०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।

प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताउनु भएको थियो । तर यतिकादिन सम्म पनि सरकारले ठोस निर्णय नगर्दा चीनमा रहेका नेपालीहरुमा झन त्रास फैलिएको छ । 

राष्ट्रियसभा, विशेष समय

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रिसभाको अवलोकन गरेको छ ।


राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गरेका थिए ।

फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रियसभा संञ्चालनको अवलोकन गरेको थियो । सोमबारको बैठकमा दलिय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए ।

नेकपाका राष्ट्रियसभाका प्रमुख सचेत दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल बसाई सुखमय वितोस् भन्ने कामना गरे ।

उनले क्यानडाको राजनीतिक र संसदीय प्रणालीको चर्चा गर्दै नेपालको संसदीय र राजनीतिक प्रणालीका धेरै विशेषता र मौलिकता क्यानडासँग मिल्दो रहेको बताए । राष्ट्रियसभाले सबै जातजाति र समुदायको प्रतिनिधित्व गरेकाले राष्ट्रियसभा सप्तरंगी इन्द्रेणीको रुपमा अवस्थित रहेको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडेली संसदको प्रतिनिधि मण्डलको स्वागत गर्र्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप दौत्य हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र क्यानडाको राजनीतिक  प्रणालीमा धेरै समानता रहेको चर्चा गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको विशेषताको व्याख्या पनि गरे ।

राष्ट्रिय सभाका अध्यक्ष र क्यानडा 

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच आजै शिष्टाचार भेट भएको छ ।

अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधमण्डले सोमबार सिंहरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा उनीसँग भेटवार्ता गरेको हो ।

भेटका क्रममा नेपाल र क्यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बताए । 

सचिव फूयाँलका अनुसार, भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

भेटका क्रममा क्यानडाको उपल्लो सदनका सभामुख जर्जजेले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए । 

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गर्नुभएको पनि सचिव फुयाँलले जानकारी दिए ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि संसदीय टोलीले भेटघाट गर्ने कार्यतालिका छ ।

युटिलिटी 

अर्थमन्त्री युवराज खतिवडाले युटिलिटी करिडोर सम्बन्धि कानून नबन्दा सम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न सकिने बताएका छन् । विकास समितिमा भएको छलफलमा सांसदहरुले आवश्यक एने नबन्दा युटिलिटी कोरिडोर अनिश्चित बनेको गुनासो गरेपछि खतिवडाले यस्तो बताए ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले यस सम्बन्धि ऐन ड्रफ्ट भइसकेको र संसदको चालु अधिवेशनबाटै पारित गर्न सकिने अवस्था रहेको बताए । युटिलिटी उपत्यकामा मात्रै केन्द्रीत नभएर मध्यपहाडी लोकमार्ग, घना वस्ती सहरी क्षेत्र भएका तराई मधेशका जिल्लामा पनि यो लागु हुने बताए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङले समुन्वय अभावमा सडक सुधारका काममा समस्या उत्पन्न भएको बताए ।

खानेपानी मन्त्री बिना मगरले विकासको गति र प्रकृया अगाडी बढेपनि विकेन्द्रीकृत कार्यले गर्दा विकासमा अवरोध सिर्जना भएको बताए ।

समिति सभापति कल्याणी कुमारी खड्काले हरेक विकासका आयोजनामा राष्ट्रिय नीतिको आवश्यकता रहेको उल्लेख गर्दै दातृ संस्थाले बनाएको मापदण्ड अनुसार अगाडी बढ्दा समस्या उत्पन्न हुने गरेको बताइन् । उनले राष्ट्रिय नीति तय गर्ने तर्फ सरकारको ध्यानाकर्षण समेत गराइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले ऐन निर्माण गरेर कार्यान्वयन गर्न सके राष्ट्रिय स्रोत साधन बचतमा सहयोग पुग्ने बताए ।

विकास समिति

बैठकमा सांसदहरुले तत्काल कार्ययोजना बनाएर युटिलिटी करिडोरको काम अघि बढाउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् । सांसद टोप बहादुर रायमाझीले युटिलिटी कार्यक्रमका लागि निर्णय मात्रै गरेर नहुने भएकाले ‘मास्टर प्लान’ नै बनाएर कार्यान्वयनमा जानुपर्ने बताए ।

सांसद गणेश पहाडीले कार्यान्वयनको महत्वपूर्ण विषय कानून निर्माण भएकाले तत्काल युटिलिटी करिडोर सम्बन्धि कानून ल्याउने तर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

सांसद महेन्द्र राय यादवले युटिलिटी करिडोर सम्बन्धि कानून अबिलम्ब बनाएर कार्यान्वयनमा जान्छ की जाँदैन भन्दै प्रश्न गरे ।

सडकको दायाँ बायाँ पानी, विजुली, टेलिफोन, केवल  लगायतका तारहरु भूमिगत गर्नका लागि युटिलिटी करिडोरको अवधारणा अघि सारिएको हो । तर आवश्यक कानुन बन्न नसक्दा काम अघि बढ्न सकेको छैन् । 

शिक्षा समिति

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रमा भएको सिण्डिकेट तोडन खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयक ल्याइएको बताएका छन् ।

शिक्षा समितिको सोमबारको बैठकमा ‘खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको छलफलमा मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको सिन्डिकेट हटाउन ऐनमा नै व्यवस्था गरिएको बताए ।

उनले २०३९ सालदेखि अहिलेसम्म एउटै व्यक्तिले संघको नेतृत्व गरिरहेको उल्लेख गर्दै खेलकुदमा रहेको सिन्डिकेट हटाउन पनि परिषद् र संघका पदाधिकारीहरुको पदावधि तोकेर जानुपर्ने बताए ।

सांसद जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रलाई नियन्त्रण गर्नेगरी ऐन ल्याउन नहुने बताउनुभयो । खेलुकदमा सिन्डिकेट हुन नदिन संघका पदाधिकारी दुई कार्यकालमात्र रहने राम्रो विषय भएपनि यस्तो व्यवस्था ऐनमा नगरी संघको आफ्नै विधानमा आउनुपर्ने बताए ।

सांसद खगराज अधिकारीले खेल संघको विधानमा लोकतान्त्रीक पद्धतिलाई अपनाइने बताए । उनले अन्तर्राष्ट्रिय प्रचलन जस्तो भएपनि नेपालको खेलकुदको विकास र विस्तार हुनेगरी ऐन आउनुपर्नेमा जोड दिए ।

सांसद सरीता न्यौपानेले खेल संघमा लामो समय एउटै व्यक्तिले ओगटेर बस्दा खेलकुदको विकास हुन नसक्ने भन्दै दुई कार्यकाल रहने गरी ऐनमा नै व्यवस्था गर्नुपर्ने बताइन् ।

बैठकमा राष्ट्रिय, प्रदेश र स्थानीय स्तरमा खेल संघ गठन गर्न सकिने र यस्तो संघ गठन गर्दा एक खेलको एकमात्र संघ हुनुपर्नेमा सांसदहरुको जोड थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप