शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समयः कसले के भने ?

मङ्गलबार, २८ माघ २०७६, १५ : ५२
मङ्गलबार, २८ माघ २०७६

काठमाडौं । सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउँदा पनि सुनुवाई नभएको भन्दै चीनमा रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘नेपाली नागरिकहरु चीनमा अत्यन्तै अत्तालिएर बसेको बेलामा बारम्बार सदनमा, सडकमा र विभिन्न संञ्चारमाध्यमबाट आफ्नो अभिव्यक्ति मार्फत तत्काल उनीहरुलाई नेपाल ल्याउने र सुरक्षित बनाउने कुराको आवाज अभिभावकहरुले उठाइरहेका छन् । सरकारको जवाफपमा हामीसँग दुईवटा विमान छ भनेको सञ्चारमा सुन्यौ । पाइलटहरुलाई सोध्दा दुईवटा मात्रै होइन सबै प्लेन ग्राउण्डेड छ भनेको पनि जवाफ पाइयो । सरकारले प्लेन ग्राउण्डेड छ भनेको हो कि उड्नका लागि स्ट्यानवाई छ भनेको हो स्पष्ट पार्नुपर्यो ।’

सासंद विमला विकले तात्कालिक सरकारले २०७१ सालको बाढी प्रभावित बर्दिया बाँके लगायतका बाढी प्रभावितलाई भुकम्प प्रभावित सरह राहत उपलब्ध गराउने भनेपनि अहिले सम्म कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद भवानी प्रसाद खापुङले मुलुकभरका १८ हजार सामुदायिक विद्यालयका प्रारम्भिक बालशिक्षामा कार्यरत शिक्षक र विद्यालयका २६ हजार कर्मचारीले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए । बालशिक्षामा कार्यरत शिक्षकले मासिक तलब ६ हजार र विद्यालयका कर्मचारीले मासिक ६ हजार ५ सय देखि ७ हजार ५ सय रहेको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक १३ हजार ५ सय उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

भूमिप्रसाद त्रिपाठीले नागढुंगा सुरुङ मार्ग निर्माणकार्यले प्रारम्भमा नै अवरोधको सामना गर्नुपरेको उल्लेख गर्दै धादिङ जिल्ला तर्फको सुरुङ मार्गको मुखैमा देखिएको जग्गा मुआब्जामको समस्या तत्काल सम्बोधन गर्न सरकारसंग माग गरे ।

भैरवबहादुर सिंहले बझाङको खोड्पे बजार जयपृथ्वी राजमार्गको अवस्था नाजुक भएकाले यात्राको  समयमा स्थानीय बासीले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै सो राजमार्गको स्तरोन्नति गर्न सकारसँग माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप