मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

बुधबार, २९ माघ २०७६, १५ : ४८
बुधबार, २९ माघ २०७६

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशासकीय कार्य व्यवस्थापन, योजना, अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालिम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन र वित्तीय स्रोत परिचालन लगायतका विविध विषयहरू समेटिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेकोमा प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव लगायतका सम्पूर्ण कर्मचारीलाई धन्यवाद व्यक्त गरिन् ।

वार्षिक प्रतिवेदन नियमित प्रक्रिया भएकोले निर्वाचन आयोगबाट पेश भएको प्रतिवेदन संवैधानिक प्रक्रिया बमोजिम नेपाल सरकारका प्रधानमन्त्रीमार्पmत संघीय संसदमा पेश हुने उनले बताइन् । निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढिकरण गर्ने काम निर्वाचन आयोगले गरेको भन्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्पm कार्य गर्न, मतदान स्थल र केन्द्रको निर्धारण पहुँचयोग्य स्थानमा कायम गरी मतदातामैत्री विशेषतः ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलामैत्री बनाउन समेत सुझाव दिइन् ।

भौगोलिक विकटता रहेको भए पनि कतिपय सम्पन्न एवम् विकसित मुलुकको तुलनामा निर्वाचनमा नेपाली मतदाताहरूको सहभागिता उल्लासपूर्ण रूपमा हुनु सुखद पक्ष रहेको राष्ट्रपति भण्डारीले बताइन् । यद्यपी अझै बढी मतदाताको सहभागिताको लागि आवश्यक कार्यहरू गर्न र निर्वाचन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तह समेतको निर्वाचन गराउने भएकोले आयोगको महत्वपूर्ण जिम्मेवारीका साथै अवसर पनि रहेको बताउँदै उनले तोकिएका जिम्मेवारीहरू सम्पन्न गर्दै आइरहेकोमा खुसी व्यक्त गरिन् ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिवेदन वर्षमा सम्पादन गरेका कार्यहरूको संक्षिप्त विवरण राष्ट्रपतिसमक्ष प्रस्तुत गरे । निर्वाचन सम्बन्धी एकीकृत कानून तर्जुमा, आयुक्तहरूको रिक्तता, बेरुजुको फर्छ्यौटको अवस्था, राजनीतिक दलहरूको व्यवस्थापन, आयोगको जिल्लास्तरसम्म रहेको संगठन संरचना, संघीय संरचना अनुसार प्रदेश स्तरमा निर्वाचन कार्यालयको आवश्यकता, निर्वाचन सूचना केन्द्रको स्थापना सञ्चालन र महत्व सम्बन्धी विषयमा उनले जानकारी गराए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप