बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फिल्मकर्मी भन्छन् – जनयुद्धले फिल्म क्षेत्र तहसनहस बनायो

बिहीबार, ०१ फागुन २०७६, १५ : २४
बिहीबार, ०१ फागुन २०७६

काठमाडौँ । देशमा सशस्त्र जनयुद्धको सुरु भएको अहिले २५ वर्ष पुगेको छ । जनयुद्धमा हजारौँको ज्यान गयो, सयौँ बेपत्ता भए । लाखौँ प्रभावित बने ।

जनयुद्धले देशको व्यापार, व्यवसाय, विकास निर्माणमा समेत नराम्रोसँग असर पुर्‍यायो । यो माहोलबाट फिल्म क्षेत्र पनि अछुतो रहन सकेन । दिन प्रतिदिन राम्रो हुँदै गएको चलचित्र निर्माण, प्रदर्शन र व्यवसायमा त जनयुद्धले तहसनहस नै बनायो ।

फिल्मको व्यवसायत त परै जाओस् निर्माण हुने क्रममा पनि सुस्तता छायो । जनयुद्धले मुलुकमा राजतन्त्र विस्थापित गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्न मद्दत त गर्‍यो तर समग्र फिल्म क्षेत्रमा भने हानि पुर्‍याएको देखिन्छ । सायद त्यसैले पनि फिल्मकर्मी जनयुद्धले फिल्म क्षेत्रमा बिगारेको प्रतिक्रिया दिन्छ । जनयुद्धले फिल्म क्षेत्रमा पुर्‍याएको फाइदा र असरको सन्दर्भमा रातोपाटीसँग फिल्मकर्मीले राखेको धारणा उनीहरुकै शब्दमा :

नक्किम उदिन (निर्माता/ वितरक)

जनयुद्धले नेपाली फिल्म क्षेत्रलाई बिगार्ने काम गरेको छ । म फिल्म प्रदर्शकहरुको छाता सङ्गठन नेपाल चलचित्र सङ्घको पूर्वअध्यक्ष पनि हुुँ । जनयुद्धले चलचित्र सङ्घको सदस्यमा आकाश जमिनले गिरावट ल्याएको छ । जनयुद्ध पहिले चलचित्र सङ्घको सदस्य हलहरुको सङ्ख्या चार सय बढी थियो । जनयुद्धको कारण धेरै चलचित्र हल बन्द भए । अहिले चलचित्र घरको सङ्ख्या एक सय हाराहारी मात्र छन् ।

जनयुद्ध पहिले उपत्यका र उपत्यका बाहिरको चलचित्र घरमा फिल्मका धेरै सो चल्थ्यो । तर जनयुद्धको समय उपत्यका बाहिर एक सो र भित्र २ सोमा सीमित हुन पुग्यो ।

फिल्मको व्यवसाय हुन छाडेपछि धेरैले चलचित्र घर भत्काइए, कतिले घडेरी बनाए । कोहीले खेती गर्न थाले । केही चलचित्र घर बिजनेस कम्प्लेक्समा समेत परिवर्तन भए । समग्रमा भन्नुपर्दा मेरो विचारमा जनयुद्धले फिल्म क्षेत्रलाई तहस नहसनै बनायो ।

मदनकृष्ण श्रेष्ठ (कलाकार)
विकासका हिसाबले अहिले हामी धेरै पछि परिसकेका छौँ । अन्य देशका तुलनामा हाम्रो देश विकास गर्न ढिलो भइसकेको छ ।

जनयुद्धले देशको विकासलाई पनि केही पछाडि धकेल्ने काम गरेको छ । तर चेतनाको हिसाबले एउटा बिगुल फुक्ने काम गर्‍यो । यो फिल्म क्षेत्रमा पनि यसको असर परेको छ । फिल्मको व्यवसाय भने बिगारेको छ । 
चलचित्र निर्माण मात्र होइन प्रदर्शन र लगानीको वातावरणमा समेत यसले प्रभाव पारेको थियो । फिल्म क्षेत्रका लागि जनयुद्ध लाभदायक सिद्ध हुन नसकेको जस्तो लाग्छ ।

सूचित्रा श्रेष्ठ (निर्देशक)
जनयुद्धले फिल्म क्षेत्र तहसनहस बनायो । बिस्तारै बामे गर्दै गरेको यो क्षेत्रलाई ५० वर्ष पछाडि धकेलेको जस्तो मलाई लाग्छ । जनयुद्ध अगाडि सबै फिल्मको व्यवसाय राम्रो थियो ।

मानिस पनि मनोरन्जनका लागि फिल्म हल जान्थे । तर जनयुद्धको त्रासका कारण मानिस कुनै ठाउँमा भेलै हुन सकेनन् । जताततै भएको हत्या हिंसाले गर्दा मानिसले मनोरञ्जनतिर सोच्न छोडे । फिल्म हेरेर हलमा तीन घण्टा बस्ने वातावरण पनि भएन ।   

गोपाल कायस्था (निर्माता/वितरक)
जनयुद्धले फिल्म क्षेत्रलाई धेरै नराम्रो र केही राम्रो गरेको गरेको छ । नराम्रो पक्षको कुरा गर्ने हो भने फिल्मको व्यवसाय बिग्रियो, धेरै चलचित्र घर बन्द भए ।

राम्रा चलचित्रका कलाकार, निर्माता, निर्देशक देशमा काम गर्ने वातावरण नभएका कारण विदेश पलाएन भए । कतिपय व्यक्तिले धेरै लगानी गरेर बनाएको फिल्म रिलिज नै हुन सकेन । निर्माताहरु डुबे । कोही घरबारविहीन समेत बन्न पुगे । थुप्रै बेरोजार बढायो ।

राम्रो पक्ष भने धेरै फरक फरक कथाहरु दियो । चेतना दियो । कथाको भेराइटी भित्रियो । फिल्म बनाउने कला फेरियो ।

दीपेन्द्र के खनाल (निर्देशक)
जनयुद्धको समय र युद्धविराम भएको केही समयसम्म नेपाली फिल्म क्षेत्र अस्तव्यस्त अवस्थामा रह्यो । युद्धको समय जताततै त्रास थियो । राज्यपक्ष र विद्रोही पक्ष दुवैको मारमा जनता पिल्सिएका थिए ।

मानिस फिल्म हेर्न हलसम्म जाने, फिल्मकर्मीेले सुटिङ गर्ने, प्रदर्शन गर्ने, प्रचारप्रसार गर्ने वातावरण थिएन । राम्रो भन्दा पनि नराम्रो धेरै गर्‍यो ।

जनयुद्धका कारणले केही फाइदा पनि भएको छ अहिले । फिल्मका लागि कथामा भेराटी पाइएको छ । जनयुद्धकै समयका कैयाँै त्यस्ता विषयहरु अहिले बाहिर आएका छन् । जुन फिल्मका लागि उपयुक्त हुने खालका छन् । तर जनयुद्धको विषयमा बलियो फिल्म अहिलेसम्म पनि बन्न सकेन ।

मदन घिमिरे (निर्देशक)
जनयुद्ध अगाडि फिल्म राम्रो चल्थ्यो । जनयुद्धका समय हलमा मानिस जान डराउथे । बम पड्कियो भने के गर्ने भनेर । त्यतिबेलाको त्रासका कारण अहिले पनि मानिस निर्धक्क हलमा जान सकेका छैनन् । सो समय केही मानिस भेला भयो कि राज्यपक्षबाट चेकिङको बाहानामा अनेक झन्झट ब्याहोर्नु पथ्र्यो ।

विद्रोहीको त्रास विभिन्न कोणबाट त थियो नै । फिल्म सुटिङका लागि भनेको ठाउँमा जान नपाउँदा धेरै फिल्म त्यसै अड्किए । केही फिल्म कम्परमाइजमा रिलिज भए । जसको कारण निर्माताको लाखौँको लगानी बालुवामा पानी भयो ।

बिहान घरबाट निस्किएको मानिस घर नफर्किएसम्म घर आउँछ, आउँदैन । जिउँदो छ वा छैन भन्न नसकिने माहोला थियो ।

यस्तो समयमा मानिस फिल्म हेर्न, निर्माण गर्नभन्दा सुरक्षित स्थानको खोजीमा विदेश पलायन हुन थाले । फिल्म क्षेत्र तहसनहस भएको थियो । चलचित्रकर्मीहरु यो क्षेत्रमा सङ्कटकालको पनि माग गरिरहेका थिए । 
युद्धविरामपछि केही कथामा भेराइटी दियो होला । तर नेपाली फिल्म क्षेत्रका लागि जनयुद्ध औँसीको रात सावित भयो ।

नवल खड्का (निर्माता/नायक)
समग्रमा भन्नुपर्दा जनयुद्धले चेतनाको विकास गर्‍यो ।  समय परिस्थिति के हो, गर्नुपर्ने के हो, भूमिका के हो भन्ने अचेत अवस्थामा रहेका आम नेपालीलाई चेतना जगाउने काम गर्‍यो । त्यो चेतनाले फिल्म क्षेत्र पनि अछुत रहन सकेन । विकास, प्रविधिका कुरा पनि उजागर गर्ने काम गर्‍यो ।

सामाजिक, चेतनामूलक, ऐतिहासिक र जनताका फिल्म  बन्ने क्रममा वृद्धि भयो । दुःखी, गरिब, निमुखाको विषय पनि फिल्ममा समेटिन थाले । जनयुद्धले फिल्म निर्माणमा भेराइटी दियो ।

राम्रो चलचित्र चलिरहेको माहोल भने केही बिगारेको हो । फिल्मको व्यवसाय ओरालो लाग्यो । दिएको तुलनामा गुमाएको धेरै छैन होला ।

जनयुद्धपछि निर्माण भएका र पछिल्लो सरकारको कदमले समेत फिल्मका लागि लागि धेरै मसल दिएको छ । एमसीसी, कालापानी, सुस्ता, लिपुलेख, ललिता निवास जस्ता कान्ड फिल्मका मसलाका लागि भेराइटी कथा हुने मेरो विश्वास हो ।

विमल पौडेल (निर्माता/निर्देशक)
हामीलाई धेरै कुरा सिकाएको छ । जनयुद्धको यो २५ वर्षमा देशका अन्य क्षेत्रमाझैँ फिल्म क्षेत्रमा पनि विभिन्न धेरै परिवर्तन गर्‍यो । जनयुद्धसँगै समाज, देश र आमा मानिस जसरी परिवर्तन भए । फिल्म क्षेत्रमा पनि त्यही अनुरूप परिवर्तन देखा पर्‍यो ।

जनयुद्धले फिल्मका लागि उपयुक्त थुप्रै कथा जन्मायो । व्यथा जन्मायो । त्यसमा राष्ट्रियता, सहिद, बेपत्ता परिवार लगायत विभिन्न क्षेत्रको व्यथा छ । यो कुरा हामीले फिल्म मार्फत दर्साउनुपर्ने हुन्छ । 
देशले पछिल्लो समय मारेको फड्को पनि फिल्मको कथा हुनसक्छ । चेतना, अन्तर्राष्ट्रिय स्तरका सम्बन्धका विषयमा पनि विकास गरेको छ ।

फिल्म क्षेत्रका लागि केही पीडा पनि दिएको छ । फिल्मी माहोल हराएर गयो । लगानी डुबिरहेको छ । फिल्म हलमा मानिस जान छाडेका छन् । त्यो फर्काउनतिर, जनयुद्धले दिएको कथा प्रयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ । 

आकाश अधिकारी (निर्माता/नायक)
जनयुद्ध राष्ट्र र जनताका लागि भनेर भयो । केही हदसम्म यो फलदायी भयो । यसले स्थानीय सरकारदेखि केन्द्रसम्म एक किसिमले नयाँ संरचना स्थापित गर्ने काम गर्‍यो । 

तर नेपाली फिल्म क्षेत्रलाई भने त्यति धेरै फाइदा पुर्‍याउन सकेन । तत्कालीन जनयुद्धको समयमा नेपाली फिल्म क्षेत्रले अनेथरी समस्या भोग्न बाध्य भयो । फिल्मको  व्यवसाय, निर्माणदेखि कलाकारितासम्ममा अनेक किसिमको समस्या सिर्जना गर्ने काम गर्‍यो । 

अर्काे कुरो लुकेर रहेको व्यक्तिलाई बाहिर आउने वातावरण बनायो । जसको कारणले नयाँ सोच र प्रतिभा भित्रिए । जसको फाइदा अहिले फिल्म क्षेत्रमा देखिएको छ । 

एकै किसिमको कथामा फिलम क्षेत्र हिँडिरहेको समयमा धेरै किसिमको विषय दिने काम यसले गर्‍यो । समग्रमा भन्ने हो भने जनयुद्धले राम्रो नै गरेको जस्तो लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप