शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच

बिहीबार, ०१ फागुन २०७६, १६ : ०१
बिहीबार, ०१ फागुन २०७६

–दीपक बोहरा
दाङ । दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न बाँकी छ । गढवा गाउँपालिकाका तीन र राप्ती गाउँपालिकाका चार बाहेक दाङका दश स्थानीय तहका सबै वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । उपमहानगर तथा नगरपालिकाले वडा–वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले पनि वडावडामा स्वास्थ्य संस्था पु¥याउने कसरत थालिरहेका छन् । 

वडा तहबाटै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल रोकायले बताए । ‘हामीले आधारभूत सेवाका लागि घरआँगनमै सेवा प्रदान गर्ने उद्देश्यले सबै वडामा स्वास्थ्य संस्था सञ्चालनमा ल्याएका हौँ’, उनले भने, ‘यसले बिरामीलाई सहज बनाएको छ ।’ 

तुलसीपुर उपमहानगरपालिकाका १९, घोराहीका १९, लमही नगरपालिकाका नौ, शान्तिनगर गाउँपालिकाका सात, राजपुरका सात, दङ्गीशरणका सात, बबईका आठ, बङ्गलाचुलीका आठ वडामा स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । त्यस्तै राप्ती गाउँपालिकाका नौमध्ये चार वटामा स्वास्थ्य संस्था पुग्न सकेका छैनन् भने गढवाका आठमध्ये तीन वटामा स्वास्थ्य संस्था पुग्न सकेको छैन । 

यसरी गाउँमै स्वास्थ्य संस्था सञ्चालनमा आएपछि विगतजस्तो समस्या नभएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । ‘विगतमा विकट क्षेत्रका नागरिक उपचारलाई बजार नै आउनुपर्ने अवस्था थियो, त्यसले आवतजावतमा खर्च धेरै लाग्ने तथा सामान्य बिरामी भए बजार क्षेत्रमै आउने अवस्था थियो’, उनले भने, ‘अहिले त्यस्तो अवस्था छैन्, केही बिरामी प¥यो कि गाउँकै स्वास्थ्य संस्थामा पुग्छन् ।’ अहिले विकटका वडामा एम्बुलेन्सको व्यवस्था गरिएकाले बिरामी भएपछि सहजै बजार आउन सकिने उनको भनाइ थियो । 

पछिल्लो समय जनप्रतिनिधिले जनतामाझ गरेको बाचा पूरा गर्न यसरी वडा–वडामा स्वास्थ्य संस्था सञ्चालन गर्ने गरेको भन्दै यसले जनतालाई सहज स्वास्थ्य सेवा प्रदान भएको लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले बताए । अब दुई÷तीनवटा वडालाई पायक पर्ने गरी विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था सञ्चालन गर्न सके प्रभावकारी हुने सरोकारवालाले बताएका छन् । दाङका प्रत्येक स्थानीय तहमा १५ श्य्याको अस्पताल बनाउने योजनाअनुसार बङ्गलाचुली गाउँपालिकाले सञ्चालनमा ल्याएको छ ।

अन्य स्थानीय तहले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् ।  तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । तुलसीपुरमै राप्ती आँखा अस्पताल छ । घोराही, तुलसीपुर, लमहीलगायतमा विशेषज्ञ सेवासहितका निजी अस्पताल सञ्चालित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप