बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारीमा छौंः मन्त्री अर्याल

बिहीबार, ०१ फागुन २०७६, १६ : १७
बिहीबार, ०१ फागुन २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले बालुवाटर मात्र नभई देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी गरिरहेको बताएकी छिन् । उनले २६४ बिघा सरकारी जग्गा कानूनीरूपमै फिर्ता गरिसकेको जानकारी दिइन् । 

सहकारी विभागद्वारा आज यहाँ आयोजित स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवद्र्धन विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले १३ बिघा फिर्ताको अन्तिम तयारीमा रहेको र ४६७ बिघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढेको बताइन् ।

उनले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरिन् । सार्वजनिक जमिन संरक्षणको अभियान चलाइरहँदा जोसुकै परे पनि नछाड्ने प्रतिबद्धताका साथ सरकार अघि बढेको बताउँदै उनले सुशासनका लागि सरकार दृढसङ्कल्पका साथ लागेको बताइन् । मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको बताउँदै मन्त्री अर्यालले त्यस्ता जग्गाको संरक्षणमा स्थानीय तहका जनप्रतिनिधिको ध्यानाकर्षण गराइन् ।

समाजवादको लक्ष्य प्राप्तिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सहकारी कृषिको व्यावसायिक र आधुनिकीकरणतर्पm उन्मुख रहेको बताइन् । कृषि सहकारीमार्पmत उत्पादन गरेर त्यसको प्रवद्र्धन गर्ने कुरा मौलिक पक्ष भएको उल्लेख गर्दै मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरिन् ।

संविधानले राज्यको तीनखम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरिसकेपछि यसको कार्यान्वयनका लागि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री अर्यालले राष्ट्रिय पूँजीको विकास नगरिकन समाजवादमा पुग्न नसकिने बताइन् । सहकारीमा समावेशिता, निम्न आय भएका व्यक्ति र युवाहरुको सहभागिताको खोजी गरिनुपर्नेमा जोड दिँदै उनले उत्पादनमा लागेका सहकारीलाई सरकारले विशेष सहलियत दिने तयारी गरिरहेको जानकारी दिइन् ।

वार्षिक १७ हजार मानिसलाई रोजगारी सिर्जना गर्ने गरी सहकारीलाई अगाडि बढाउने योजना मन्त्रालयले लिएको उनको भनाइ थियो । गण्डकी प्रदेशका मुख्यसचिव हरिप्रसाद बस्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्पलाई पूरा गर्न सहकारी क्षेत्रले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कृषि उत्पादनसँगै पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँदै उनले त्यसका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सहकारी विभागका निर्देशक डा.टोकराज पाण्डेको अध्यक्षतामा भएको सो दुईदिने गोष्ठीमा प्रदेशका स्थानीय तहका जनप्रतिनिधि, सहकारीसँग सम्बन्धित पदाधिकारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप